आर्थिक पत्रकार संघका नवनिर्वाचित पदाधीकारीलाई धितोपत्र बोर्डद्वारा बधाई तथा शुभकामना


धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले एक साताभित्र ब्रोकर कमिसन घटाउने र स्टक डिलर कम्पनीलाई लाइसेन्स दिने भएको छ । बोर्ड अध्यक्ष भिष्मराज ढुंगानाले नेपाल आर्थिक पत्रकार संघ (नाफिज) का नवनिर्वाचित पदाधिकारीलाई शुभकामना दिँदै दुई विषयलाई एक साताभित्र टुङ्ग्याउने गरी काम भइरहेको बताए ।

सो अवसरमा पुँजीबजारको विकास र विस्तारमा आर्थिक पत्रकारको महत्वपूर्ण भुमिका हुने बताए । पुँजीबजार देशको अर्थतन्त्रको ऐना भएको बताउँदै ढुंगानाले धितोपत्र बजार सूचनामा आधारित बजार भएको दाबी गरे । ढुंगानाको भनाइ छ, “सही सूचना सम्प्रेषण भएमात्र बजारको दीगो विकास हुन्छ । यसअर्थमा पत्रकारको भूमिका ठूलो हुन्छ ।”

सो अवसरमा अध्यक्ष ढुङ्गानाले अंग्रेजी नयाँ वर्ष २०२१ को सुरुवातसँगै ब्रोकर कमिसन घटाएर लाने तयारी भएको जानकारी दिए । ब्रोकर कमिसनका विषयमा बोर्डले धेरै अध्ययन र अनुसन्धानपछि मोडालिटी तयार गरिसकेको र अब दरमात्र तय गर्न बाँकी रहेको अध्यक्ष ढुङ्गानाको भनाई छ ।

“हालको स्लाबलाई घटाउने हो या बढाउने हो ? ब्रोकर कमिसनबाटै बजार संवद्ध निकायले बाँडेर कमिसन लिइरहेका छन्, त्यसलाई छ्ुट्टाछुट्टै बनाउने पो हो कि ? यी विषयमा पनि विचार गर्नुपर्ला,” उनले भने, “बजारले पछिल्लो समय गति लिइरहेको छ । प्राथमिकसँगै दोस्रो बजारमा पनि लगानीकर्ताको आकर्षण बढिरहेको अवस्थामा नियामकले सोचेर निर्णय गर्नुपर्ने बेला आएको छ ।”

हाल धितोपत्रको दोस्रो बजारमा कारोबार गर्दा ०.६ प्रतिशतदेखि ०.४ प्रतिशतसम्म कमिसन तिर्नुपर्दछ । लगानीकर्ताले ५० हजारसम्मको सेयर खरिद बिक्री गर्दा ०.६ प्रतिशत र ५० हजारदेखि ५ लाख सम्मको कारोबारमा ०.५५ प्रतिशत कमिसन तिर्नुपर्ने व्यवस्था छ । त्यस्तै, ५ लाखदेखि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.५ प्रतिशत, २० लाखदेखि १ करोडसम्मको कारोबारमा ०.४५ प्रतिशत र सोभन्दा माथिको कारोबारमा ०.४ प्रतिशत कमिसन तिर्नुपर्ने व्यवस्था छ ।

त्यस्तै, लामो समयदेखि लाइसेन्सको पर्खाइमा रहेको नागरिक स्टक डिलरले पनि यसै महिनाभित्र लाइसेन्स पाउने भएको छ । बोर्डका अध्यक्ष ढुङ्गानाले स्टक डिलरले सबै संरचना तयार गरिसकेकाले यसै साताभित्र अनुमतिपत्र प्रदान गर्ने बताएका हुन् ।

पुँजीबजार विकास र विस्तारका लागि प्राविधिक सुधार देखि नीतिगत सुधारलाई ध्यानमा राखी अघि बढेको बोर्डले बैंक इन्ट्रग्रेसन, ब्रोकरको टीएमएस सुधार र कम्पनीले बोर्डलाई रिपोर्टिङ गर्नका लागि कागजी प्रकृयाको अन्त्य गर्ने प्रयासस्वरुप इलेक्ट्रोनिक रिपोर्टिङ सिस्टमको विकास गरिसकेको समेत अध्यक्ष ढुङ्गानाले जानकारी दिए ।

अध्यक्ष ढुंगानाले सेयर बजार नयाँ नयाँ रेकर्ड राख्ने बाटोमा अघि बढिरहेको पनि बताए । कार्यक्रममा उनले धितोपत्र बजारको राम्रो विकास भइरहेको दाबी गरे । बजार रेकर्ड राख्ने बाटोमा अघि बढिरहेको उनको भनाइ छ ।
उनले भने, “सेयर बजारमा गत वर्षसम्म पुँजीकरणको ७–८ प्रतिशत कारोबार हुन्थ्यो, यसपाली २५ प्रतिशत पुगेको छ, यसलाई ४० प्रतिशत कटाउनु पर्नेछ ।”

बोर्डको चालू आवको नीति तथा कार्यक्रममा समेटिएका एक चौथाई कार्यक्रम सम्पन्न गरिसकेको बताउँदै अध्यक्ष ढुङ्गानाले लगानीकर्ताले धेरै ठाउँमा केवाइसी भर्ने झन्झटको अन्त्य गर्न ई–केवाईसीका लागि सीडीएससीलाई कार्यविधि बनाउन जिम्मा दिएको समेत बताए ।

सो अवसरमा नाफिजका अध्यक्ष मोदनाथ ढकालले मुलुकको अर्थतन्त्रको ऐना पुँजी बजार भएकाले देशको अर्थतन्त्र सम्झँदा नेपालको पुँजीबजार सम्झिइने वातावरण बनाउन सुझाव दिएका थिए ।
त्यसका लागि सघाउन सम्पूर्ण आर्थिक पत्रकार तयार रहेको उनको जिकिर छ ।

ढकालले भने, “सूचना ढोका (प्रणाली) बाट दिइएन भने झ्याल (गैरप्रणाली) बाट प्रवाह हुन सक्छ, त्यसले गलत सन्देश जान्छ,” उनले थपे, “सम्बन्धित विषय सर्वसाधारणमाझ पु¥याउने माध्यम पत्रकार नै हुन् । आर्थिक र त्यसमा पनि धितोपत्र विषयमा लेख्ने पत्रकारको धितोपत्र बजारसम्बन्धी सूचना पहुँच बढाउन सहयोग गरिदिनोस्, क्षमता विकास गर्न सहयोग गर्नुस्, सही समाचार मात्र सम्प्रेषण हुन्छ ।”

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।