जेन जी प्रदर्शनकारीमाथि सुरक्षा निकायबाट गरिएको अत्यधिक बल प्रयोगको एनआरएनएद्वारा निन्दा


काठमाडौँ । ‘जेन जी’ पुस्ताको आह्वानमा नेपालमा हालै भएको प्रदर्शनका क्रममा भएको हिंसा र मानवअधिकार उल्लंघनप्रति गैरआवासीय नेपाली संघ (एनआरएनए) ले गहिरो चिन्ता व्यक्त गरेको छ । प्रदर्शनका क्रममा भएको हिंसामा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै संघले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

संघका प्रवक्ता गंगाधर गौतमले भने ( शान्तिपूर्ण प्रदर्शनको अधिकार नेपालको संविधानले नै सुनिश्चित गरेको हुँदा कलिला युवा प्रदर्शनकारीमाथि सुरक्षा निकायबाट गरिएको अत्यधिक बल प्रयोग र गोली प्रहारको निन्दा गरेका छन् । विज्ञप्तिमा अगाडि भनिएको छ, ‘अन्य वैकल्पिक उपाय हुँदाहुँदै पनि गोली चलाउनुले हामीलाई अत्यन्तै दुःखी बनाएको छ ।’ संघले थप क्षति हुन नदिन सरकारलाई थप जिम्मेवार र संयमित हुन आग्रह गरेको छ।

यसैगरी, संघले हालै सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धको पनि विरोध गरेको छ । चाडपर्वको बेला विदेशमा रहेका लाखौं नेपालीहरूलाई परिवारसँग सम्पर्क गर्न सामाजिक सञ्जाल एक मात्र भरपर्दो माध्यम भएको उल्लेख गर्दै यो प्रतिबन्धले व्यापार–व्यवसाय र वृत्ति विकासमा लागेका युवा र विद्यार्थीलाई समेत प्रभावित पारेको संघले जनाएको छ ।

एनआरएनएले तत्काल सामाजिक सञ्जाल खुला गर्न र कानुनको सर्वोच्चताको सम्मान गर्न सम्बन्धित सबै पक्षलाई आह्वान गरेको छ । साथै, देशमा सुशासन, मानव अधिकारको रक्षा, र जनजीविकाको प्रत्याभूतिलाई उच्च प्राथमिकता दिन नेपाल सरकार र सबै राजनीतिक दलहरूलाई संघले आग्रह गरेको छ ।

प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलबार  ०९ : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।