
मर्जरको अन्तिम तयारीमा रहेका एनआइसी एशिया लघुवित्त र स्वदेशी लघुवित्तले एकै दिन साधारण सभा बोलाएका छन् । दुई लघुवित्तले माघ ४ गते छुट्टाछुट्टै स्थानमा साधारण सभा डाकेका हुन् ।
एनआईसी एशिया लघुवित्तको सधारण सभा होटल र्याडिसनको सभा कक्ष, भेरी ४ जाजरकोटमा बिहान ९ बजेदेखि शुरु हुने छ । यसैगरी स्वदेशी लघुवित्तको होटल पाथीभराको सभाहल, इटहरी ९ सुनसरीमा बिहान ९ बजेदेखि साधारण सभा शुरु हुनेछ ।
एक आपसमा मर्जरको अन्तिम तयारीमा पुगेका दुई लघुवित्तले दुबै लघुवित्तको सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदन (डिडिए) बाट प्राप्त हुन आएको स्वदेशी लघुवित्तको १०० कित्ता शेयर बराबर ९४ कित्ता अनुपातमा प्राप्त गर्नेगरी शेयर आदान प्रदान रेसियो अनुमोदन हुनेछ ।
यसअनुसार हाल स्वदेशी लघुवित्तका १० कित्ता शेयर हुने शेयरधनीले मर्जर पश्चात कायम हुने संस्थाको ९.४ कित्ता शेयर पाउनेछन् भने एनआईसी एशिया लघुवित्तका शेयरधनीको शेयर कित्तामा भने समान रहनेछ ।
यस्तै दुई कम्पनीबीच मर्जर प्राप्तीका लागि भए गरेका सम्पूर्ण सम्झौताहरु अनुमोदन गर्ने, संयुक्त मर्जर कमिटी र सञ्चालक समितिले निर्णय र खर्चहरु अनुमोदन गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्ने र आवश्यक कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रादन गर्ने लगायतका दुबै प्रस्तावहरु पारित गर्ने एजेण्डा दुबैको साधारण सभामा रहेका छन् ।
दुबै लघुवित्तले सभामा आर्थिक वर्ष २०७६/०७७ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ असार मसान्तसम्मको वासलात र आर्थिक वर्ष २०७६/०७७ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु स्वीकृत गर्ने प्रस्ताव राखेका छन् ।
यसैगरी एनआईसी एशिया लघुवित्तले दुई जना सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्ने र एनआईसी एशिया बैंकको तर्फबाट संस्थापक शेयरधनीको तर्फबाट मनोनित विभोर कुमार अग्रवालको नियूक्ती अनुमोदन गर्ने प्रसताव रहेको छ ।
यी दुई संस्थाले गत श्रावण ३२ गते गाभ्ने/गाभिने मर्जर सम्बन्धी समझदारीपत्रमा प्रारम्भिक हस्ताक्षर गरेका थिए भने गत कार्तिक १९ गते नेपाल राष्ट्र बैंकबाट सैद्धान्तीक सहमति प्राप्त गरेका थिए । शुक्रबार मात्रै दुई लघुवित्त बीच गाभ्ने।गाभिने (मर्जर) सम्बन्धी अन्तिम समझौतापत्रमा एनआईसी एशिया लघुवित्तको तर्फबाट संस्थाका अध्यक्ष कपिल ढकाल र स्वदेशी लघुवित्तको तर्फबाट संस्थाका अध्यक्ष लालमणी जोशीले हस्ताक्षर गरेका थिए ।
एनआईसी एशियको कर्णाली प्रदेश लगायत मुलुकका विकट पहाडी तथा हिमाली जिल्लाहरुमा समेत गरी कूल १२० शाखा संचालनमा रहेको छ भने स्वदेशीको नेपाल भरि ८५ शाखा संचालनमा रहेका छन् । मर्जर पश्चात कुल शाखा संख्या १९३ शाखा हुनेछ । मर्जर सम्बन्धी सम्पूर्ण कार्य सम्पन्न गरी मर्जर पश्चात् एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार गर्नेछ । दुई संस्था गाभिएपछि बन्ने संस्था देशकै सबै भन्दा ठूलो शाखा संजाल र चुक्ता पूँजी भएको लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापित हुनेछ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया