काठमाडौं । जेनजीको विद्रोहपछि बन्द भएको चलचित्र हलहरू सोमबारबाट खुला हुने भएका छन् । यससँगै चलचित्र ‘कोशेढुंगा’को पनि प्रदर्शन कायमै रहेको निर्माता टिमले जानकारी दिएको छ ।
भदौ १२ देखि प्रदर्शनमा आएको चलचित्रलाई दर्शकहरूले रुचाइरहेका छन् । तर जेनजीको गत २३ र २४ गतेको विद्रोह हिंसामा बदलिँदा उत्पन्न परिस्थितिका कारण हलहरू बन्द भएपछि चलचित्र प्रदर्शन रोकिएको थियो ।
हलहरू सञ्चालनमा आएसँगै चलचित्रहरू पनि प्रदर्शनमा आउने भएका हुन् । ‘चलचित्र कोशेढुंगाको पनि प्रदर्शन भोलिदेखि फेरि सुरू हुँदैछ’ निर्माता टिमको भनाइ छ ।
भदौ १२ देखि नेपाल सहित ४० भन्दा बढी देशमा एकैसाथ प्रदर्शनमा आएको महिला प्रधान चलचित्रमा सुरक्षा पन्त, आर्यन सिक्देल, ऋचा शर्मा, मन्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, हिउवाला गौतम, सरोज खनाल, विशाल पहाडी, दिनेश काफ्ले, लोकमणि सापकोटा लगायतको अभिनय छ ।
प्रेविल कँडेल र किशोर अनुराग निर्माता रहेको फिल्मको कार्यकारी निर्माता दिनेश खड्का हुन् । बाबु श्रेष्ठले छायाङ्कन, नहकुल खड्काको सम्पादन रहेको फिल्ममा आशिष अविरल र रिदम कँडेलको संगीत छ । चलचित्र नेपालसँगै अमेरिका, अस्ट्रेलिया, जापान, युके, क्यानडालगायत ४० मुलुकमा एकसाथ प्रदर्शनमा रहेको छ ।












प्रतिक्रिया