साउनमा कस्तो छ आर्थिक अवस्था ? हेर्नुहोस् राष्ट्र बैंकको प्रतिवेदन


काठमाडौं । चालु आर्थिक वर्ष (आव)को पहिलो महिना साउनमा बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ०.८ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा (०.१ प्रतिशत)ले घटेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको पहिलो महिनाको प्रतिवेदन अनुसार, साउनमा निक्षेप बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ५५ अर्ब ७९ करोड रुपैयाँले घटेर ७२ खर्ब ८ अर्ब ९ करोड रुपैयाँ र कर्जा रु.२ अर्ब ९३ करोड रुपैयाँले घटेर ५४ खर्ब ९५ अर्ब रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा निक्षेप ४३ अर्ब ४५ करोड रुपैयाँ (०.७ प्रतिशत) ले घटेको थियो भने कर्जा १४ अर्ब ११ करोड रुपैयाँले (०.३ प्रतिशत) बढेको थियो ।

वार्षिक विन्दुगत आधारमा २०८२ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १२.५ प्रतिशतले बढ्दा निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ८ प्रतिशतले बढेको छ ।

केन्द्रीय बैंकका अनुसार, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ०.८ प्रतिशतले घट्दा निर्माण क्षेत्रतर्फको कर्जा ०.६ प्रतिशतले घटेको छ भने थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ०.५ प्रतिशत, सेवा उद्योग क्षेत्रतर्फको कर्जा १.५ प्रतिशत र उपभोग्य क्षेत्रतर्फको कर्जा ०.०४ प्रतिशतले घटेको छ । यस्तै यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ०.५ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

चालु आवको पहिलो महिनामा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा ०.२ प्रतिशतले, मार्जिन प्रकृतिको कर्जा २.७ प्रतिशत, ट्रष्ट रिसिट (आयात) कर्जा १.१ प्रतिशतले, र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ०.३ प्रतिशतले बढेको छ भने हायर पर्चेज कर्जा ०.१ प्रतिशत, नगद प्रवाह कर्जा ०.९ प्रतिशत र अधिविकर्ष कर्जा ३.२ प्रतिशतले घटेको छ ।

२०८२ साउनमा वाणिज्य बैंकहरूको औसत आधार दर ५.७८ प्रतिशत, विकास बैंकहरूको ७.२८ प्रतिशत र वित्त कम्पनीहरूको ८.८७ प्रतिशत रहेको छ । २०८१ साउनमा वाणिज्य बैंकहरूको औसत आधार दर ७.६१ प्रतिशत, विकास बैंकहरूको ९.२८ प्रतिशत र वित्त कम्पनीहरूको १०.७५ प्रतिशत रहेको थियो ।

राष्ट्र बैंकका अनुसार, २०८२ साउनमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ७.७६ प्रतिशत, विकास बैंकहरूको ९.०९ प्रतिशत र वित्त कम्पनीहरूको ९.९८ प्रतिशत रहेको छ । २०८१ साउनमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ९.६८ प्रतिशत, विकास बैंकहरूको ११.०७ प्रतिशत र वित्त कम्पनीहरूको १२.३२ प्रतिशत थियो ।

वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति १.६८ प्रतिशत रहेको छ । यस्तै कुल विदेशी विनिमय सञ्चिति रु. २८०६ अर्ब ४ करोड रहेको छ । अमेरिकी डलरमा उक्त सञ्चिति २० अर्ब ३ करोड पुगेको छ । यस्तो सञ्चिति १६.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको केन्द्रीय बैंकले जनाएको छ ।

यस्तै चालु खाता रु. ७८ अर्ब १४ करोड र शोधनान्तर स्थिति रु. ८९ अर्ब ३० करोड बचतमा रहेको छ भने विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २९.९ प्रतिशतले र अमेरिकी डलरमा २५ प्रतिशतले बढेको छ । २०८२ साउन महिनाको विप्रेषण आप्रवाह रु. १७७ अर्ब ४१ करोड रहेको छ ।

यस्तै निर्यात ९५.७ प्रतिशतले र आयात ११.४ प्रतिशतले बढेको केन्द्रीय बैंकको तथ्यांक छ । यस्तै साउनसम्ममा नेपाल सरकारको खर्च रु.४६ अर्ब ३१ करोड र राजस्व परिचालन रु.८४ अर्ब ४७ करोड रहेको छ । यस्तै विस्तृत मुद्राप्रदाय ०.७ प्रतिशतले घटेको छ भने वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १२.५ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति: ३० भाद्र २०८२, सोमबार  २० : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।