काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिनामा मुलुकको व्यापार घाटा १ खर्ब १९ अर्ब ११ करोड रुपैयाँ बराबर पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार कूल वस्तु व्यापार घाटा २ दशमलव ५ प्रतिशतले वृद्धि भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा शून्य दशमलव ४ प्रतिशतले वृद्धि भएको थियो । चालु आवको पहिलो महिना अर्थात् गत साउनमा कूल वस्तु आयात ११ दशमलव ४ प्रतिशतले वृद्धि भई १ खर्ब ४३ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा शून्य दशमलव ६ प्रतिशतले कमी आएको थियो ।
वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ७ दशमलव ५ प्रतिशत, १४ दशमलव १ प्रतिशत र २० दशमलव ५ प्रतिशतले वृद्धि भएको छ ।
वस्तुगत आधारमा भटमासको कच्चा तेल, यातायातका उपकरण, सवारीसाधन तथा स्पेयर पार्टस्, चामलरधान, कोइला, रासायनिक मललगायत वस्तुको आयात बढेको छ भने हट रोल्ड सिट इन क्वाइल, खाने तेल, पेट्रोलियम पदार्थ, अन्य मेसिनरी तथा पार्टस्, तेलहनलगायत वस्तुको आयात घटेको छ ।
समीक्षा अवधिमा निर्यातआयात अनुपात १६ दशमलव ७ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९ दशमलव ५ प्रतिशत थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी १३ अर्ब ४३ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १३ अर्ब ९८ करोड रुपैयाँ बराबर भएको थियो ।
यस्तै, चालु आवको पहिलो महिनामा कूल वस्तु निर्यात ९५ दशमलव ७ प्रतिशतले वृद्धि भई २३ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ९ दशमलव ६ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारततर्फको निर्यात १५६ दशमलव ७ प्रतिशतले वृद्धि भएको छ भने चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ६५ दशमलव २ प्रतिशत र १ दशमलव ४ प्रतिशतले कमी आएको छ ।
वस्तुगत आधारमा भटमासको तेल, पाम तेल, पोलिस्टरको धागो, अलैँची, जुटका सामानलगायत वस्तुको निर्यात बढेको छ भने जिङ्क सिट, पार्टिकल बोर्ड, ऊनी गलैँचा, पिना, चियालगायत वस्तुको निर्यात घटेको छ ।












प्रतिक्रिया