वाणिज्य बैंकहरूको ब्याजदर: ९ बैंकले घटाउँदा २ वटाले भने बढाए, अरूको स्थिर


काठमाडौं । वाणिज्य बैंकहरुले असोज महिनाका लागि नयाँ ब्याजदरको सूचना प्रकाशित गरेका छन्। प्रकाशित सुचना अनुसार बैंकको ब्याजदर भदौको तुलनामा असोजमा घटेको छ। प्रकाशित विवरण अनुसार वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर भदौको तुलनामा ०.११ प्रतिशत विन्दु घटेको छ ।

भदौ महिनामा ५.५७७ प्रतिशतविन्दु रहेको वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर, असोजमा घटेर ५.४६३५ प्रतिशतविन्दुमा झरेको छ।

२० वाणिज्य बैंकहरुमध्ये ९ वाणिज्य बैंकहरुले ब्याजदर घटाएसँगै व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर घट्न पुगेको हो।

भदौ महिनाको तुलनामा असोज महिनाका लागि प्राइम कमर्सियल बैंक, सानिमा बैंक र एभरेष्ट बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ०.५ प्रतिशतविन्दु घटाएको हो। त्यस्तै, सिटिजन्स बैंक र एनआईसी एशिया बैंकले ०.२५ प्रतिशतविन्दु घटाएको छ भने कुमारी बैंकले ०.२ प्रतिशतविन्दु घटाएको छ।

असोज महिनाका लागि दुई बैंकहरुले भने व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर बढाएका छन्। भदौको तुलनामा लक्ष्मी सनराइज बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले असोजमा ब्याजदर बढाएका हुन्। यी दुई बैंकले क्रमश ०.२५ प्रतिशतविन्दु र ०.०५ प्रतिशतविन्दुले ब्याजदर बढाएका हुन्। बाँकी ९ बैंकहरुले भने भदौ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।

असोज महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा सबैभन्दा कम ब्याज दिने बैंक भने कुमारी बैंक रहेको छ। सो बैंकले अधिकतममा ५.०१ प्रतिशतका दरले ब्याज दिनेछ। व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर भने ६ प्रतिशत रहेको छ। एनआईसी एशिया, माछापुच्छ्रे, ग्लोबल आइएमई, एनएमबि र हिमालयन बैंकले असोज महिनामा सो दरमा ब्याज दिनेछन्।

बैंकको संस्थापक मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर समीक्षा अवधिमा ०.०८८५ प्रतिशतविन्दु घटेको छ। ७ वाणिज्य बैंकहरुले ब्याजदर घटाउँदा औषत ब्याजदर घट्न पुगेको हो। १३ बैंकहरुले भने भदौ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।

पछिल्ला महिनाहरूमा कर्जा लगानी शून्यप्राय: हुँदा लगानी योग्य रकम थुप्रिएको छ । त्यसकारण पनि बैंकहरू  ब्याजदर घटाउन बाध्य भएका छन् । शीथिल अर्थतन्त्रले गति लिन नसक्दा बैंकहरूले ब्याजदर घटाउनुपरेको हो । निजी क्षेत्रले कर्जाको माग नै गर्न नसकेको बताउँदै आएका छन् ।

प्रकाशित मिति: ३१ भाद्र २०८२, मंगलबार  १४ : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।