एक अर्ब २५ करोडको ‘एनआइसी ब्यालेन्स फन्ड’ को साउन ८ गतेदेखि बिक्री खुल्ने

0
Shares

एनआइसी क्यापिटल लिमिटेडले स–साना रकमलाई एकीकृत गरी लगानी गर्ने उद्देश्यले  एक अर्ब २५ करोडको ‘एनआइसी ब्यालेन्स फन्ड’ को घोषणा गरेको छ ।

एनआइसी एसिया बैंक म्युचुअल फण्डअन्तर्गत लिमिटेडले यही साउन ८ गतेदेखि १२ करोड ५० लाख एकाइ निष्कासन गर्ने भएको छ । त्यसको ८५ प्रतिशत सर्वसाधारणलाई तथा १५ प्रतिशत एकाइ कोष प्रवद्र्धक एनआइसी एसिया बैंक तथा योजना व्यवस्थापक एनआइसी क्यापिटल लिमिटेडलाई सुरक्षित राखिएको छ । प्रति एकाइ रु १० का दरले बिक्री गरिनेछ ।

 प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीले प्रचलित सामूहिक लगानी कोष नियमावलीले निर्दिष्ट गरेका क्षेत्रमा लगानी गरी आर्जन भएको मुनाफा सम्बन्धित एकाइ धनीलाई वितरण गरिने जानकारी दिए ।

सामूहिक लगानी कोष सञ्चालनमा आउँदा मुलुकमा पूँजी बजारको विकास विस्तारमा महत्वपूर्ण योगदान पुग्ने मर्चेन्ट बैंकिङ प्रमुख दामोदर रायमाझीले बताए ।

सर्वसाधारणबाट सङ्कलित रकम धितोपत्रको दोस्रो बजार तथा नियमावलीले तोकेका अन्य क्षेत्रमा लगानी गरी हरेक वर्ष एकाइ धनीलाई उच्च प्रतिफल उपलब्ध गराउने जनाइएको छ । उक्त संस्थाले गत आव २०७५/७६ मा करीब रु एक अर्बको एकाइ निष्कासन गरेको थियो ।