काठमाडौँ । जेनजी आन्दोलनले सत्ता परिवर्तन भए पछिको पहिलो कारोबार दिन नेप्सेमा तिन पटक सर्किट लागेर बजार बन्द भएको छ ।
आन्दोलनको कारण उत्पन्न अनिश्चिताले गर्दा आज नेप्सेमा भारी गिरावट आएको हो ।
आन्दोलनले समग्र आर्थिक गतिविधिमा पारेको असरका कारण लगानीकर्ताहरु लगानी सुरक्षित नहुने हो कि भन्ने चिन्तामा रहेको ब्रोकर एसोसिएसनको पूर्व अध्यक्ष भरत रानाभाटले बताए ।
बिहिबार बजार खुल्ने वित्तिकै नेप्से परिसुचक तिव्र रुपमा ओरालो लागेको थियो । प्रि ओपनिङ मै उच्च अंकले घटेको नेप्से कारोबार सुरु भएको दुई मिनेटमै नकारात्मक सर्किट लागेर बन्द भएको थियो ।
त्यसपछि ११ बजेर २२ मिनेटमा फेरि खुलेको बजार सुरु भएको एक मिनेटमै फेरि नकारात्मक सर्किट लागेपछि बन्द भएको थियो ।
त्यसपछि १२ बजेर ३ मिनेटमा खुलेको बजार दुई मिनेट नपुग्दै नकारात्मक सर्किट लागेपछि बजार बन्द गरिएको छ । बिहिबार नेप्से १६०.३३ अंकले घटेर २५११.९१ अंकमा पुगेको छ ।
बिहिबार कारोबारमा आएका २३८ कम्पनीमध्ये ९ वटा कम्पनीको सेयर मूल्य बढ्दा २१७ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।
गत भदौ २३ गते भएको जेनजी आन्दोलन हिंसात्मक बनेपछि मुलुकभर अशान्ति असुरक्षा भएको भन्दै विभिन्न लगानीकर्ता समुहहरुले सेयर बजार बन्द गर्न धितोपत्र बोर्डमा ज्ञापन पत्र बुझाएका थिए ।
पूँजीबजार सुधार अभियानले सेयर कारोबारलाई तत्काल अस्थायी रुपमा स्थगित गर्न नेपाल धितोपत्र बोर्डसँग आग्रह गरेर ज्ञापन पत्र बुझाएको थियो ।
बोर्डलाई बुझाइएको ज्ञापन पत्रमा ‘पछिल्लो राजनीतिक घटनाक्रम, अस्थिरता र शान्ति सुरक्षामा देखिएका चुनौतीहरुले पूँजीबजारलाई गम्भीर रुपमा प्रभावित पारेको’ उल्लेख गरिएको थियो ।
यसले गर्दा लगानीतर्काको मनोबल खस्किँदै गएको र बजारमा बिक्री चापको अवस्था सिर्जना भएर साना तथा नयाँ लगानीकर्ताले ठुलो क्षति व्यहोर्नु पर्ने ज्ञापन पत्रमा उल्लेख छ ।
साथै बजारको संवेदनशीलता र गलत सुचनाले पार्ने नकारात्मक असर नियन्त्रण गर्न र राजनीतिस्थिरता कायम भएपछि बजारलाई थप सुधारोन्मुख गर्नको लागि यस्तो अनुरोधज्ञापन पत्रमाउल्लेख गरिएको थियो ।
नेप्सेको अनुरोधपछि धितोपत्र बोर्डले बुधबार सम्मको लागि बजार बन्द गरेको थियो । तर बुधबार सरकारले जेनजी आन्दोलनको क्रममा ज्यान गुमाएकाहरुको सम्मानमा शोक बिदा दिएपछि बजार बिहिबार खुलेको हो ।
आन्दोलनले विभिन्न सरकारी तथा निजी क्षेत्रमा तोडफोड आगजनी गरेपछि खर्बाै रुपैयाँको नोक्सानी भएको छ । आन्दोलनकारीको निशानामा व्यवस्थापिका, न्यापालिका र कार्यपालीकाका साथै ठुला लगानीका निजी क्षेत्र पनि परेका थिए । आगजनी र तोडफेडले होटल क्षेत्रमा मात्र २५ अर्ब बढी क्षति भएको छ । जसले गर्दा लगानीकर्ताको मनोबलमा घटेको हो ।
निजी क्षेत्रमा आन्दोलनले ठुलो क्षति पु¥याउँदा लगानीर्ताको लागि लगानी वातावरण बनेको छैन । जसको असर सेयर बजारमा देखिएको हो ।












प्रतिक्रिया