सानिमा बैंक (SANIMA) को ऋणपत्रमा आवेदन दिने आज (पुस १५ गते) अन्तिम दिन रहेको छ ।
बैंकले पुस १ देखि छिटोमा पुस ४ गतेसम्म आवेदन दिन पाउनेगरी ऋणपत्रको बिक्री खुला गरेकोमा निष्काशनमा ल्याइएको सबै ऋणपत्र बिक्री नभएपछि ढिलो मिति अर्थात पुस १५ गतेसम्म लम्बिएको थियो ।
इच्छुक लगानीकर्ताले पुस १५ गते बुधबारसम्म मात्र आवेदन दिन पाउन बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले जनाएको छ ।
ऋणपत्रमा न्यूनतम २५ इकाईदेखि अधिकतम १६ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालय तथा मेरो शेयरको वेव तथा एप मार्फत समेत ऋणपत्रमा आवेदन दिन सकिनेछ ।
बैंकले कुल प्रतिइकाई १ हजार रुपैयाँ दरमा ४ अर्ब रुपैयाँ बराबरको ४० लाख इकाई ऋणपत्र बिक्रीमा ल्याएको हो । जसमध्ये २४ लाख इकाई ऋणपत्र व्यक्तिगत तवरबाट र बाँकी १६ लाख इकाई सर्वसाधारणका लागि खुला गरिएको छ । सर्वसाधारणमा निष्काशितमध्ये ५ प्रतिशत बराबरको ८० हजार इकाई सामूहिक लगानी कोषलाई छुट्याएर १५ लाख २० हजार इकाईका लागि सर्वसाधारणबाट आवेदन मागिएको छ ।
क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले बै।कको ऋणपत्रलाई न्यून कर्जा जोखिम जनाउने ‘इक्रा एनपी एलएट’ रेटिङ प्रदान गरेको छ ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको साधन परिचालनमा देखिने असन्तुलनलाई न्यूनीकरण गर्न अनिवार्य रुपमा दीर्घकालीन ऋणपत्र जारी गर्नुपर्ने व्यवस्था मौद्रिक नीतिमा गरेसँगै पछिल्लो समय ऋणपत्रको बिक्री र दोस्रो बजारमा कारोबार समेत बढ्दो क्रममा देखिएको छ ।
- ऋणपत्र के हो ?
कम्पनीहरुले लगानीका लागि सर्वसाधारणबाट लिने ऋणको साना इकाईलाई वर्गीकरण गरेर दिने प्रत्याभुतिपत्र नै ऋणपत्र हो ।
सामान्यतः यस्तो ऋणपत्रको अंकित मूल्य १ हजार रुपैयाँ हुने गर्दछ। कम्पनीले कुनै सम्पत्ति धितो वा बन्धक नराखी ऋण जुटाउन सक्छ। ऋणपत्र किन्नेलाई कम्पनीले निश्चित अवधिसम्म तोकिएको व्याजदर प्रदान गर्दछ ।
नेप्सेमा सूचीकृत हुने भएकाले यस्तो ऋणपत्र आवश्यक पर्दा सहज रूपमा दोस्रो बजार (नेप्से) मा खरिद–बिक्री गर्न सकिने तथा बैंक तथा वित्तीय संस्थामा धितो राखी कर्जासमेत लिन सकिन्छ । यदी बीचमै केही अवधिका लागि पैसा आवश्यक परेको खण्डमा यो ऋणपत्र बैंकमा धितो राखी रकम समेत लिन पाइन्छ। तर ऋणपत्र जारी गरेको बैंकले नै आफ्नै ऋणपत्र धितो राख्न पाउँदैनन्।
तोकिएको अवधि पूरा भइसकेपछि लगानीकर्ताले साँवा रकम फिर्ता पाउने छन्। साधारण सभामा भाग लिने, व्यवस्थापनमा असन्तुष्ट जनाउने लगायतका शेयरधनीलाई प्राप्त अधिकांश अधिकार ऋणपत्रका लगानीकर्तालाई हुँदैन। शेयरमाभन्दा ऋणपत्रको जोखिम कम हुन्छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया