चन्द्रागिरी हिल्सले स्थानीय बासिन्दालाई बिक्री गरेको प्राथमिक शेयर (आईपीओ) बुधबार बाँडफाँड भएको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालयमा ३ बजे आईपीओ बाँडफाँड भएको हो ।
यस आईपीओमा स्थानीयले ७० कित्तासम्म आवेदन गर्नेलाई माग अनुसार नै र बढी पाउनेले अधिकतम ८० कित्तासम्म शेयर पाएका छन् ।
ग्लोबल आईएमई क्यापिटलका अनुसार आईपीओ १० देखि ७० कित्तासम्मको लागि आवेदन दिने स्थानीय बासिन्दाले माग अनुसार नै शेयर पाएका छन् ।
८० कित्तादेखि ३ हजार ६० कित्तासम्मको लागि आवेदन दिने स्थानीयलाई पनि ७० कित्ताका दरले नै बाँडफाँड गरी बाँकी रहन आएको ११ हजार ६३९ कित्ता शेयर ८० कित्तादेखि ३ हजार ६० कित्ताको लागि आवेदन दिने ३ हजार ५६१ जनामध्येबाट गोलाप्रथाबाट १ हजार १६३ जनाले थप १० किता शेयर र १० कित्ताभन्दा कम अड लटमा बाँकी रहन आएको बाँकी ९ कित्ता थप १० कित्ता नपाएका आवेदकमध्येबाट गोलाप्रथा गरी ९ जनालाई १/१ कित्ताका दरले बाँडफाँड गरिएको छ ।
यसअनुसार ७० कित्तासम्म आवेदन गर्नेलाई माग अनुसार नै शेयर पाएका छन् । ८० भन्दा धेरै कित्ता आवेदन गर्नेमध्ये गोलाप्रथाबाट थप १० कित्ताका दरले १ हजार १६३ जनालाई ८० कित्ता पाएका छन् । यस्तै ८० देखि ३ हजार ६० कित्तासम्मको लागि आवेदन दिई ८० कित्ता पाएका बाहेकका २ हजार ३९८ जना आवेदकबाट गोलाप्रथाबाट ९ जनाले थप १ कित्ता शेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।

आईपिओमा आवेदन गरेका कुल ४ हजार ८०८ जनामध्ये २०४ जनाको आवेदन रद्द भएकोले ४ हजार ६०४ वटा आवेदनलाई मात्र बाँडफाँडमा सहभागि गराइएको थियो ।
कम्पनीले गत मंसिर १७ गतेदेखि पुस १ गतेसम्म पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि प्रतिकित्ता १०० अंकित मूल्यका ३ लाख ६ हजार ८१९ कित्ता साधारण शेयर जारी गरेको थियो ।
उक्त आईपीओमा आयोजना प्रभावित क्षेत्र काठमाडौँ जिल्ला अन्तर्गत चन्द्रगिरी नगरपालिका वडा नम्बर ३, ४, ६ र ७ (साविक थानकोट गाविसका सम्पूर्ण वडाहरु तथा साविक महादेवस्थान गाविस वडा नम्बर ३, ४, ५, ६, ७ र ८) एवं मकवानपुर जिल्ला अन्तर्गत थाहा नगरपालिका वडा नम्बर ९ र १० (साविक चित्लाङ्ग गाविसका सम्पूर्ण वडाहरु) र इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ५ (साविक फाखेल गाविसका सम्पूर्ण वडाहरु) मा स्थायी बसोबास गर्नेले मात्र आवेदन दिन पाउने व्यवस्था थियो ।
- सर्वसाधारणमा दोश्रो चरणमा खुल्ने
कम्पनीले पहिलो चरणको शेयर बाँडफाँडपछि अब सर्वसाधारणमा दोश्रो चरणमा शेयर बिक्रीमा ल्याउनेछ । दोश्रो चरणमा जारी पूँजीको १० प्रतिशत अर्थात १५ लाख ३४ हजार ९१ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन हुनेछ ।
कम्पनीले सर्वसाधारण र स्थानीय बासिन्दाका लागि गरी कुल १८ करोड ४० लाख बराबरको १८ लाख ४० हजार ९१० कित्ता शेयर बिक्रीका लागि धितापत्र बोर्डबाट अनुमति पाएको थियो। आईपीओ जारीपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ५३ करोड पुग्नेछ ।
नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा बरिष्ठ उपाध्यक्ष पदमा निर्वाचित उद्यमी चन्द्र ढकालको प्रमुख लगानी रहेको कम्पनीले काठमाडौँको चन्द्रागिरिमा केबलकार सञ्चालन गरिरहेको छ ।
ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरी डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरी डाँडालाई एकिकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरेको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया