काठमाडौँ । अर्थमन्त्रीको बोल्ड निर्णयपछि सेयर बजारमा हरियाली देखिएको छ । आइतबार नेप्से ११६.७ अंकले बढेर २६२३.६२ विन्दुमा पुगेको छ ।
बिहिबार नेप्से १६०.३३ अंकले घटेर २५११.९१ अंकमा पुगेको थियो । शेयर बजारमा अप्रत्याशित रुपमा पहिरो गएपछि सरकारले कार्यदल बनाएका थिए । अर्थमन्त्री रामेश्वर खनालले शेयर बजारमा देखिएका समस्या अध्ययन तथा समाधानका लागि चार सदस्यीय कार्यदल गठन गरेका थिए ।
शुक्रबार मन्त्रीस्तरीय निर्णयमार्फत गठित कार्यदलको संयोजक नेपाल धितोपत्र बोर्डका कायम मुकायम कार्यकारी निर्देशक रुपेश केसीलाई तोकिएको थियो । कार्यदलमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी, नेपाल स्टक एक्सचेञ्जका कार्यवाहक कार्यकारी निर्देशक निरञ्जन फुँयाल र अर्थमन्त्रालयका उपसचिव शरद निरौला सदस्य रहेका छन् । त्यस्तै, नेप्सेको अन्तिम मूल्य गणना विधि समेत परिमार्जन गर्न निर्देशन दिएका थिए ।
जसको परिमाणस्वरुप आइतबार एकैदिन नेप्सेमा ४.४४ प्रतिशतले वृद्धि भएको छ ।
आइतबार कारोबारमा आएका ३२९ ओटा कम्पनी मध्ये २८ ओटा कम्पनीको सेयर मूल्य घट्दा २२४ कम्पनीको सेयर मूल्य बढेको छ ।
आज १ लाख ८ हजार ९०८ पटकको कारोबारमा २ करोड ३२ हजार २२४ कित्ता सेयर ९ अर्ब १७ करोड ९५ लाख ७३ हजार रुपैयाँमा किनबेच भएका छन् ।
व्यापार समूह ८.६६ प्रतिशतले बढेको बजारमा लगानी समूह ७.८६ प्रतिशत, विकास बैंक समूह ६.०७, जलविद्युत समूह ५.८३ प्रतिशतले बढेको छ । यस्तै जीनव बीमा समूह ५.६६ प्रतिशत, वित्त समूह ५.५४ प्रतिशत र वाणिज्य बैंक समूह ४.५२ प्रतिशतले बढेको छ ।
कारोबार रकमको आधारमा नेपाल रिइन्स्यारेन्स कम्पनी ८३ करोड १३ लाख ५५ हजार रुपैयाँको कारोबार सहित शीर्ष स्थानमा छ । कारोबारमा आएका इकाई संख्याको आधारमा ९ लाख १४ हजार ३६ इकाईको कारोबार सहित अग्रस्थानमा रहँदा कारोबार संख्याको आधारमा ४ हजार ७४९ पटकको कारोबार सहित हिमालयन बैंक शीर्ष स्थानमा छ ।
आइतबारको कारोबारसँगै कुल बजार पूँजीकरण ४३ खर्ब ८५ अर्ब ९९ करोड ९३ लाख रुपैयाँ कायम भएको छ । बिहिबार बजार पूँजीकरण ४१ खर्ब ९९ अर्ब २५ करोड ६४ लाख रुपैयाँ कायम भएको थियो ।












प्रतिक्रिया