उखु किसानको बक्यौता भुक्तानी नगर्ने चिनी मिल सञ्चालक अग्रवाल पक्राउ

0
Shares

लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ परेका छन् । उखु किसानको रकम भुक्तानी नगरेको आरोपमा प्रहरीले सञ्चालक अग्रवाललाई वीरगञ्ज पर्साबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साको समन्वयमा प्रहरीको काठमाडौंस्थित महानगरीय अपराध महाशाखाको टोलीले अग्रवाललाई वीरगञ्जबाट नियन्त्रणमा लिएको वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दीपक थापाले जानकारी दिए ।

सुशीला गोयलका नाममा दर्ता भएको उक्त चिनी मिलको सबै कारोबार अग्रवालले हेर्दै आएका थिए । लुम्बिनी चिनी मिलले उखु किसानको २१ करोड रूपैयाँ बराबरको बक्यौता भुक्तान गर्न बाँकी रहेको बताइएको छ । सरकारी ताकेतापछि मिलले १ करोड रूपैयाँ भने किसानहरुको बैंक खातामा पठाएको बुझिएको छ ।

आफ्नो उत्पादनको मूल्य नपाएपछि मोफसलबाट राजधानीमा आएर उखु किसान आन्दोलित भएपछि सरकारले चिनी मिल सञ्चालकहरुबाट बक्यौता उठाइदिने सम्झौता गरेको थियो ।

गत मंसिर २८ देखि आन्दोलनमा रहेका किसानहरुले सरकारको २१ दिनभित्र भुक्तानी दिलाउने प्रतिबद्धता सहितका ४ बुँदे सहमतिपछि पुस १३ मा आन्दोलन स्थगित गरेका थिए ।

सो लगत्तै सरकारले उखु किसानको रकम भुक्तानी नदिने उद्योगीविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो । किसानले तीन वर्ष अघिदेखिको ९० करोड रूपैयाँ भुक्तानी पाउन बाँकी रहेको बताइएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


प्रकाशित मिति: १६ पुस २०७७, बिहीबार  १४ : ३५ बजे