रोकिएन सेयर बजारको गिरावट, बुधबार दोहारो अंकको


काठमाडौँ । गत भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनले बन्द भएको सेयर बजारमा गत साताको बिहिबारदेखि कारोबार सुरु भएको थियो । बिहीबार खुलेको सेयर बजारमा एकैपटक नेप्से १६०.३३ अंकले घटेपछि निराश लगानीकर्ताको मनोबल फर्काउनका लागि अर्थमन्त्री रामेश्वर खनालले कार्यदल नै बनाएर सेयर बजार सुधारको सन्देश दिए ।

गत शुक्रबार नै उनले लगानीकर्ताले विगतदेखि नै संशोधन गर्न माग गर्दै आएको नेप्सेको अन्तिम मूल्य गणना विधिमा परिमार्जन गरेर सहज बनाइदिए । यो घोषणाले बजारमा सकारात्मक संन्देश प्रवाह भएको थियो । जसले गर्दा त्यसपछिका कारोबारका दुई दिनमा नेप्से १७०।३४ अंकले बढेको थियो । तर अथमन्त्रीको निर्देशन र कार्यदल गठनको घोषणाले पनि बजारमा दीर्घकालीन प्रभाव पार्न सकेको देखिएन । जसको परिणाम बुधबार सेयर बजार परिसुचकमा दोहोरो अंकको गिरावट आएको छ ।

यसले अर्थमन्त्रीको निर्देशनले पनि बजारको मनोबल उकास्न नसकेको देखिएको छ । पनि लगानीकर्ताको उत्साहलाई दीगो बनाउन नसक्दा सेयर बजार परिसुचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । बुधबार नेप्से २७.८९ अंकले घटेर २६५४.३५ अंकमा पुगेको छ । यसअघि मंगलबार सेयर बजार परिसुचक नेप्से ५८।६३ अंकले बढेर २६८२।२५ विन्दुमा पुगेको छ । आइतबार नेप्से १११।९ अंकले बढेको थियो । गत बिहीबार नेप्से १६०।३३ अंकले घटेर २५११।९१ अंकमा पुगेको थियो ।

बुधबार कारोबारमा आएका ३१७ कम्पनीका ९४ लाख ८ हजार ६६३ कित्ता सेयरहरु ४७ हजार ८५२ पटक किनबेच हुँदा ४ अर्ब १२ करोड ४८ लाख २१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

बुधबार होटल तथा पर्यटन समूह ०.८५ प्रतिशत र म्यूचअल फण्ड समूह ०.०४ प्रतिशतले बढ्दा अरु सबै उपसुचक राताम्मे देखिएका छन् ।
समग्र बजार घटेपनि माथिल्लो मौलुङ खोला जलविद्युत, सिटी होटल र हिम स्टार ऊर्जाको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

कारोबार रकमको आधारमा युनियन हाइड्रोपावर २२ करोड १३ लाख ८६ हजार रुपैयाँको कारोबार सहितक अग्रस्थानमा रहेको छ । कारोबारमा संख्याको आधारमा २ हजार २७७ पटकको किनबेच सहित हिमालयन बैंक शीर्षस्थानमा रहेको छ ।

बुधबारको कारोबारसँगै कुल बजार पूँजीकरण ४४ खर्ब ३७ अर्ब ३८ करोड २९ लाख ५१ हजार रुपैयाँ कायम भएको छ । मंगलबार बजार पूँजीकरण ४४ खर्ब ८४ अर्ब १ करोड ३८ लाख रुपैयाँ कायम भएको थियो ।

 

प्रकाशित मिति: ८ आश्विन २०८२, बुधबार  १६ : १८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।