वीरगञ्ज भन्सार कार्यालयबाट हुने सवारी साधन आयात घट्यो, राजस्व प्रभावित

0
Shares

विद्यमान कोरोना सङ्क्रमण र लामो समय नेपाल भारत सीमानाका बन्द हुँदा भारत लगायत तेस्रो मुलुकबाट आयात हुने सवारी साधनमा कमी आएका कारण चालु आर्थिक वर्षको मङ्सिर महिनासम्म भन्सार राजस्व प्रभावित भएको छ ।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार भारत तथा तेस्रो मुलुकबाट आयात भई नेपाल भित्रिने सवारी साधन सोचेजस्तो आउन नसकेको कारण चालु आवको मङ्सिर महिनासम्मा सोचेजस्तो राजस्व उठन नसकेको भन्सार अधिकृत शैलेन्द्र अधिकारीले बताए ।

आव ०७७/०७८ को मङ्सिर महिनासम्म ६५ अर्ब २५ करोड ५५ लाख राजस्व उठाउने लक्ष्य दिएकोमा वीरगञ्ज भन्सारले तोकिएको अवधिमा ११ प्रतिशत कम अर्थात् ५८ अर्ब १५ करोड ८९ लाख मात्र राजश्व उठाउन सकेको छ । भन्सार विभागले चालु आवमा वीरगञ्ज भन्सार कार्यालयलाई एक खर्ब ७१ अर्ब राजस्व उठाउने लक्ष्य दिएको छ ।

चालु आवको मङ्सिर महिनासम्ममा वीरगञ्ज नाका भएर तीन अर्ब २९ करोड मूल्य बराबरको ३७ हजार ६७१ थान मोटरसाइकल र दुई अर्ब ८२ करोड मूल्य बराबरको दुई हजार ५७४ थान जीप, कार र भ्यान आयात भएको छ । जबकी गत आवको यसै अवधिमा चार अर्ब १२ करोड मूल्य बराबरको चार हजार २५१ थान विभिन्न प्रकारका सवारी साधन आयात भएका थिए ।

समग्रमा हेर्दा चालु आवको मङ्सिर महिनासम्ममा ७२ करोड ६२ लाख मूल्य बराबरको ५०६ थान डबल क्याब पिकअप गाडी, ३५ करोड ७८ लाख मूल्य बराबरको सिङ्गल क्याब पिकअप गाडी, एक अर्ब १२ करोड मूल्य बराबरको ४८० थान ट्रक, मिनि ट्रक र रु ५३ करोड ९९ लाख मूल्य बराबरको २९७ थान बस, ट्रक, कार, चेसिस आयात भएको छ ।

जबकी अघिल्लो आवको मङ्सिर महिनासम्मको तथ्याङ्क हेर्दा सो अवधिमा चार अर्ब १२ करोड मूल्य बराबरको चार हजार २५१ थान सवारी साधन नेपाल भित्रिएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

अघिल्लो वर्षको सोही पाँच महिनाको अवधिमा तीन अर्ब ६९ करोड मूल्य बराबरको ४३ हजार ५७२ थान मोटरसाइकल, ३५ करोड ७८ लाख मूल्य बराबरको ५६२ थान सिङ्गल क्याव पिकअप गाडी, ५३ करोड ३४ लाख मुल्य बराबरको ७६५ थान अन्य सवारी सधान, दुई अर्ब २९ करोड मूल्य बराबरको ८६७ थान ट्रक, मिनी ट्रक, रु एक अर्ब १३ करोड मूल्य बराबरको ६७८ थान बस, ट्रकका चेसिस भित्रिएको थियो ।

यो नाका भएर भारतबाट ८० प्रतिशत तथा तेस्रो मुलुकबाट २० प्रतिशत गाडी भित्रिने गरेको छ तर कोरोना सङ्क्रमणको कारण सीमानाका लामो समयदेखि बन्द रहेकाले गत वर्षजस्तो सवारी साधन आयात हुन नसक्दा चालु आवको मङ्सिरसम्मको राजश्व लक्ष्य भेट्टाउन नसकिएको भन्सार अधिकृत अधिकारीले बताए।

अहिले पनि आयातकर्ताले भारत तथा तेस्रो मुलुकबाट आयात गरेको सवारी साधन लग्न नसक्दा करिब ३०० सवारी साधन भन्सार वार्डमा थन्किएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ पुस २०७७, शुक्रबार  १३ : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।