आठ जीवन बीमा कम्पनीले सार्वजनिक गरे बोनस दर, कुनमा कति पाइन्छ ?

0
Shares

जीवन बीमा कम्पनीहरुमध्ये ८ वटा कम्पनीले बोनस दर सार्वजनिक गरेका छन् ।  सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीमध्ये ८ वटा कम्पनीहरुले आर्थिक वर्ष २०७५/०७६ का बीमितलाई दिने बोनस दर सार्वजनिक गरेका हुन् । बीमा समितिको स्वीकृतिसँगै आठ कम्पनीहरुले नयाँ बोनस दर सार्वजनिक गरेका हुन् ।

कम्पनीहरूले आर्थिक वर्ष २०७५/७६ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको बीमांकीय मूल्याङ्कन गरी बीमितहरुलाई प्रदान गरिने बोनस दर सार्वजनिक गरेका हुन् ।

बीमा कम्पनीहरुले हरेक आर्थिक वर्ष सकिएको ६ महिनापछि बोनस दर सार्वजनिक गर्नुपर्ने हुन्छ । आर्थिक वर्ष २०७७/०७८ को ६ महिना सकिन लाग्दै गर्दा अझै पनि कतिपय बीमा कम्पनीले २०७५/०७६ को बोनसदर सार्वजनिक गरेका छैनन् । प्रक्रियागत रुपमा ढिलाई हुने हुँदा कम्पनीहरुले बोनसदर घोषणा गर्न ढिलाई हुने गरेको बीमकहरु बताउँछन् ।

नयाँ ५ वटा जीवन बीमा कम्पनी र ३ वटा पुराना कम्पनीले बोनस दर सार्वजनिक गरेका छन् । नयाँ जीवन बीमा कम्पनी महालक्ष्मी लाइफ, रिलायन्स लाइफ, ज्योति लाइफ र प्रभु लाइफको बोनस दर पारित भएको छ । यसैगरी पुराना जीवन बीमा कम्पनी नेपाल लाइफ, एलआइसी नेपाल र नेशनल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/०७६ का लागि बीमितलाई दिने बोनस दर पारित गरेका छन् ।

कम्पनीहरुले प्रत्येक आर्थिक वर्षको अन्त्यमा लेखापरीक्षण नगरिएको वित्तीय विवरण प्रकाशित गरेसँगै अनुमानित बोनसदर प्रस्ताव गर्दछन् । विवरणको लेखापरीक्षण पछि निस्किएको बोनसदर पुनः समितिमा प्रस्ताव गरिन्छ । यसरी कम्पनीहरुले पठाएको बोनसदरलाई समितिले पारित गर्ने गर्दछ । कम्पनीहरूले बोनसदर प्रति हजारका दरले वितरण गर्छन् । कम्पनीहरूको बोनसदरले कम्पनीको आर्थिक अवस्थालाई दर्शाउँछ ।

  • नयाँ जीवन बीमा कम्पनीमध्ये ५ को बोनसदर घोषणा

सञ्चालनमा रहेका १० नयाँ जीवन बीमा कम्पनीमध्ये ५ कम्पनीले आर्थिक वर्ष २०७५/७६ का लागि बीमितलाई दिईने बोनस दर सार्वजनिक गरेका छन् । कम्पनीहरूले आर्थिक वर्ष २०७५÷७६ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको बीमाङ्कीय मूल्यांकन गरी बीमितहरुलाई प्रदान गरिने बोनस दर सार्वजनिक गरेका हुन् ।

बोनस दर सार्वजनिक गरेका ५ नयाँ कम्पनी महालक्ष्मी लाइफ, रिलयान्स लाइफ, प्रभु लाइफ, सिटिजन लाइफ र ज्योति लाइफको बोनसदर लगभग बराबर जस्तै छ ।

  • महालक्ष्मी लाइफ इन्स्योरेन्स

महालक्ष्मी लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको बीमांकीय मूल्यांकन गरी बीमितहरुलाई दिने बोनस दर घोषणा गरेको छ ।

बीमा समितिको मिति २०७७ कार्तिक २८ गतेको पत्रबाट स्वीकृति प्राप्त भए बमोजिम कम्पनीले सञ्चालनमा ल्याएको तथा मूनाफामा सरिक हुने महालक्ष्मी सावधिक, महालक्ष्मी सरल र महालक्ष्मी जीवन हेरचार बीमाको २०७५/७६ को लागि न्यूनतम ५० रूपैयाँ प्रतिहजारको दरले बोनस दिने घोषणा गरेको हो ।

महालक्ष्मी सावधिक र महालक्ष्मी सरल जीवन बीमा योजनामा प्रति हजार बीमांकमा ५० रुपैयाँ देखि ५२ रुपैयाँ सम्मको बोनस दर निर्धारण गरेको छ । यस्तै महालक्ष्मी जीवन हेरचार जीवन योजनामा ५० देखि ५१ रुपैयाँ बोनस दर कायम गरेको छ ।

  • रिलायन्स लाइफले अधिकतम ७० रुपैयाँ दिने

रिलायन्स लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को बीमांकीय मुल्यांकन प्रतिवेदन बीमा समितिबाट गत जेठ ८ गते स्वीकृति भएपछि बोनस दर सार्वजनिक गरेको छ । इन्स्योरेन्सले २० रुपैयाँ देखि ७० रुपैयाँसम्म बोनस दर दिने भएको छ ।

इन्स्योरेन्सले सावधिक, सावधिक तथा आजीवन बीमा योजनामा ३५ रुपैयाँ देखि ७० रुपैयाँ, अग्रिम भुक्तानी सार्वधिक बीमा योजनामा ४५ रुपैयाँ देखि ५० रुपैयाँ र अन्य (वार्षिक अग्रिम भुक्तानी-मुद्धती) बीमा योजनामा २० रुपैयाँ देखि २५ रुपैयाँ सम्मको बोनस दर निर्धारण गरेको छ ।

  • प्रभु लाइफ इन्स्योरेन्स

प्रभु लाइफले बीमितलाई दिने नयाँ बोनस दर सार्वजनिक गरेको छ । इन्स्योरेन्सले २०७६ असार मसान्तसम्ममा जारी भएका मुनाफामा सरिक हुने जीवन बीमालेखहरुको बोनस दर सार्वजनिक गरेको हो । इन्स्योरेन्सले प्रति हजार बीमाङ्कमा ३० रुपैयाँदेखि ७० रुपैयाँसम्मको बोनस दर दिने भएको छ ।

कम्पनीले सावधिक जीवन बीमालेख र सावधिक तथा आजीवन बीमालेखमा बीमा अवधिको आधारमा ३० रुपैयाँ देखि ७० रुपैयाँ सम्म बोनस दर निर्धारण गरेको छ । यस्तै अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा ३० रुपैयाँ देखि ५० रुपैयाँ सम्म बोनस दर कायम गरिएको छ ।

  • सिटिजन लाइफ इन्स्योरेन्स

सिटिजन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को बोनस दर सार्वजनिक गरेको छ । इन्स्योरेन्सले प्रति हजार बीमाङ्कमा २५ रुपैयाँदेखि ७७ रुपैयाँसम्मको बोनस दर दिने भएको छ ।

कम्पनीले सावधिक तथा आजीवन बीमालेखमा बीमा अवधिको आधारमा ३७ रुपैयाँ देखि ७० रुपैयाँ सम्म, अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा ४४ रुपैयाँ देखि ५५ रुपैयाँ सम्म, वार्षिक अग्रिम भुक्तानी जीवन बीमा २५ रुपैयाँ देखि ३५ रुपैयाँ, सिटिजन शुभारम्भ जीवन बीमा योजना (सावधिक) मा ३५ रुपैयाँ देखि ७० रुपैयाँ सम्म र सावधिक जीवन बीमा योजनामा ३८ रुपैयाँ देखि ७३ रुपैयाँ सम्म बोनस दर निर्धारण गरेको छ ।

  • ज्योति लाइफ इन्स्योरेन्स

ज्योति लाइफ इन्स्योरेन्सले २०७६ असार मसान्तसम्ममा जारी भएका मुनाफामा सरिक हुने बीमालेखहरुको बोनस दर सार्वजनिक गरेको छ । इन्स्योरेन्सले प्रति हजार ४३ रुपैयाँदेखि ७५ रुपैयाँसम्मको बोनस दर दिने भएको छ ।

सावधिक, सावधिक तथा आजीवन बीमालेख अन्र्तगत ९ वर्ष सम्म कायम रहने बीमालेख खरिद गर्ने बीमितले ४३ रुपैयाँ, १० देखि १४ वर्ष सम्मकोले ४५ रुपैयाँ,१५ देखि १९ वर्ष सम्मकोले ५० रुपैयाँ, २० देखि २४ वर्ष सम्मकोले ५५ रुपैयाँ र २५ वर्ष वा त्यस भन्दा मथिको बीमितले ७५ रुपैयाँसम्म बोनस पाउनेछन् ।

यस्तै अग्रिम भुक्तानी बीमालेख अन्तर्गत १० देखि १४ वर्षको बीमालेखमा ४३ रुपैयाँ, १५ देखि १९ वर्ष सम्मकोमा ४५ रुपैयाँ र २० देखि २४ वर्ष सम्ममा बीमालेख खरिद गर्ने बीमितले ५० रुपैयाँ बोनस पाउनेछन् ।

उक्त बोनस दर कम्पनीले भुक्तानी गर्ने बीमालेख अनुसारको दाबीहरुमा तथा चालु बीमालेखहरुमा लागू हुनेछ । साथै, अर्को बीमाङ्कीय प्रतिवेदन अनुसार बीमा समितिबाट अर्कोे व्यवस्था नभएसम्म सोही अनुसारको बोनस दर कायम गरिने पनि इन्स्योरेन्सले जनाएको छ ।

  • पुराना ९ मध्ये ३ को मात्र बोनस दर सार्वजनिक

सञ्चालनमा रहेका ९ पुराना जीवन बीमा कम्पनी मध्ये ३ ले मात्र बीमितलाई दिने नयाँ बोनस दर सार्वजनिक गरेका छन् । पुराना जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाइफ, नेशनल लाइफ र एलआएसी नेपालले बोनस दर घोषणा गरेका छन् । 

कम्पनीहरूले आर्थिक वर्ष २०७५/७६ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको बीमांकीय मूल्यांकन गरी बीमितहरुलाई प्रदान गरिने बोनस दर सार्वजनिक गरेका हुन् । कम्पनीहरूले आर्थिक वर्ष २०७५/७६ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको बीमाङ्कीय मूल्यांकन गरी बीमितहरुलाई प्रदान गरिने बोनस दर सार्वजनिक गरेका हुन् ।

  • नेपाल लाइफ

इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/०७६ को लागी बीमितलाई दिने बोनस दर घोषणा गरेको हो । इन्स्योरेन्सले बीमितहरुलाई प्रति हजार न्यूनतम ६२ रुपैयाँदेखि ८२ रुपैयाँसम्म बोनस दिने भएको छ । बीमा समितिले आर्थिक वर्ष २०७५/०७६ को आर्थिक लेखाजोखा र दायित्वको मूल्याङ्कन सम्बन्धी बीमांकीय प्रतिवेदन पारित गरेपछि इन्स्यारेन्सले बीमितलाई दिने नयाँ बोनस दर सार्वजनिक गरेको हो ।

इन्स्योरेन्सले सावधिक तथा सामुहिक जीवन बीमालेख अन्तर्गत सुरक्षित जीवन, जीवन ज्योति, रुलर इन्डोमेन्ट, बाल शिक्षा योजना, केटाकेटी, जीवन लक्ष्मी र जीवन सारथी बीमालेखमा ५ देखि १५ वर्ष अवधिको लागि ६५ रुपैयाँ, १६ देखि २० वर्ष अवधिको ६५ रुपैयाँ, २१ देखि २५ वर्ष अवधिको बीमालेखका लागि ७२ रुपैयाँ, २६ वा सो भन्दा माथीको बीमा अवधिलाई ८२ रुपैयाँ बोनस दर घोषणा गरेको छ ।
अग्रिम भुक्तानी सावधिक बीमालेख (धन वर्षा १५ वर्ष, धन वर्षा २० वर्ष, नौलो धन वर्षा, जीवन उन्नती, जीवन शान्ति, छोराछोरी र सदाबहार जीवन बीमा योजनामा प्रति हजार ६५ रुपैयाँँ बोनस दिने भएको छ ।

यस्तै, इन्स्योरेन्सको आग्रिम भुक्तानी (जीवन सम्वृद्धि) योजनामा १५ वर्षे ६२ रुपैयाँ २० वर्षे योजनाको लागि ६४ रुपैयाँ बोनस रहेको छ ।
त्यस्तै सावधिक तथा आजीवन (जीवन साहारा) बीमालेखका लागि ५ देखि १५ वर्ष अवधि तर्फ ६५ रुपैयाँ र १६ देखि २० वर्ष अवधिको लागि ६५, २१ देखि २५ वर्ष अवधि तर्फ ७२ र २६ वा सो भन्दा माथीको बीमालेखमा ८२ रुपैयाँ बोनस दर दिने भएको छ ।

  • एलआईसी नेपाल

लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालले आर्थिक वर्ष २०७५/७६ मा बीमा योजना अनुसार ६६ देखि ८८ रूपैयाँ सम्म बोनस दर दिने भएको छ ।

जीवन आस्था योजना ५ वर्षे अवधिमा ८५ रुपैयाँ र ३ वर्षे अवधिकोमा ८० रुपैयाँ बोनस दर तोकिएको छ । सावधिक तथा रुपान्तरित सावधिक जीवन बीमा योजनामा २५ वर्ष वा सोभन्दा माथीको अवधिमा ८० रूपैयाँ बोनस दर दिने भएको छ ।

धन वृष्टि जीवन बीमालेखमा प्रति हजार ६६ रुपैयाँ, अग्रिम भुक्तानी सार्वधिक र अग्रिम भुक्तानी (बाल) बीमालेखमा ६६ देखि ६८ रुपैयाँ सम्म बोनस दर सार्वजनिक गरेको छ ।

यस्तै आजीवन बीमा लेखमा २० वर्षे योजनामा ७७ रुपैयाँ, १५ वर्षेमा ६८ रुपैयाँ र १० वर्षे योजनामा ६६ रुपैयाँ बोनस पाउनेछन् ।

  • नेशनल लाइफ इन्स्योरेन्स

नेशनल लाइफ इन्स्योरेन्सले ६४ देखि ८५ रूपैयाँसम्म बोनस दर सार्वजनिक गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को बोनस दर सार्वजनिक गरेको हो ।

सावधिक तथा सामुहिक जीवन बीमालेखमा ६४ रुपैयाँदेखि ८५ रुपैयाँ, अग्रिम भुक्तानी सावधिक जीवन बीमामा ६३ रुपैयाँदेखि ६४ रुपैयाँ बोनस दर निर्धारण गरेको छ । यस्तै सावधिक तथा आजीवन जीवन बीमालेखमा ६४ देखि ८५ रुपैयाँ बोनस दर रहेको छ ।

  • बोनसदर के हो, कसरी निर्धारण हुन्छ ?

जीवन बीमा कम्पनीले बीमितहरूलाई भुक्तान गर्ने प्रतिफललाई बोनसदर भनिन्छ । बीमा कम्पनीहरूले आर्जन गरेको मुनाफाको आधारमा प्रतिवर्ष बोनसदर निर्धारण गरिन्छ  । यस्तो बोनसदर कम्पनीले जारी गर्ने हरेक बीमा योजनामा फरक–फरक हुन्छ  ।

बीमा कम्पनीको चुक्ता पूँजी, जगेडा कोष तथा लगानीको क्षेत्र, खर्च, आम्दानी लगायतलाई हेरी बोनसदर निर्धारण गरिन्छ । आर्थिक वर्ष २०७५/७६ मा कम्पनीहरुले सार्वजनिक गरेको बोनसदरलाई हेर्दा नेपाल लाइफले सबैभन्दा बढी बोनस दिने भएको छ । इन्स्योरेन्सले बीमितहरुलाई प्रति हजार न्यूनतम ६२ रुपैयाँदेखि ८२ रुपैयाँसम्म बोनस दिने भएको छ ।

बीमा जोखिम हस्तान्तरणका लागि गर्ने गरिन्छ । भविष्यमा आइपर्नसक्ने भवितव्य जोखिमलाई सामाना गर्न सजिलो होस् भन्नाका लागि जीवन बीमा योजना खरीद गरिन्छ ।

जीवन बीमा गर्नुको मूख्य उद्देश्य जोखिम हस्तान्तरण गर्नु हो । जोखिम हस्तान्तरण गर्नुको साथसाथै उक्त बीमा योजनाले दिने बोनस पनि हो । त्यसैले जीवन बीमा योजना खरिद गर्नुपूर्व कम्पनीले दिने बोनसदरका बारेमा पनि अध्ययन गर्न जरुरी हुन्छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।