प्रहरीले स्रोत नखुलेको एक करोड ४७ लाख ८६ हजारसहित काठमाडौंको नागढुंगाबाट २ जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले सोमबार बिहान काठमाडौंको चन्द्रागिरि नगरपलिका-२ नागढुंगाबाट स्रोत नखुलेको एक करोड ४७ लाख ८६ हजारसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा भारतको गोरखपुर बस्ने ३० वर्षीय अमितकुमार गुप्ता र कपिलवस्तुको वाडगंगा नगरपालिका-४ बस्ने २२ वर्षीय संगम थारू रहेका छन्।
कपिलवस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३-०१-०२३ च २२५९ नम्बरको कारलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा कारभित्र तीनवटा झोलामा लुकाएर ल्याएको उक्त रकम फेला परेको महानगरीय प्रहरी परिसरले जनाएको छ।
प्रहरीले दिउँसो ३ बजे पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गर्ने तयारी गरेको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया