काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसुचकमा दोहोरो अंकको सुधार आएको छ ।
बिहीबार नेप्से २२.५९ अंकले बढेर २५८२.१८ अंकमा पुगेको हो ।
बिहीबार कारोबार सुरु हँदा नेप्से परिसुचक ४ प्रतिशतले बढेपछि बजार हल्ट भएको थियो । कारोबार सुरु भएको तिन मिनेटमै नेप्से १०२ अंकले बढेपछि कारोबार २० मिनेटको लागि बन्द भएको थियो । नेप्सले दिनभरिको ट्रेण्ड कायम राख्दा बजार बन्द हुँदा नेप्से दोहोरो अंकले बढेको हो । बुधबार राष्ट्र बैंकले शेयर धितो कर्जामा व्यक्तिगततर्फ लगाइएको २५ करोडको क्याप हटाएको थियो ।
साथै, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई शेयर कारोबारमा सहजीकरण समेत गरिदिएको थियो । जसको सकारात्मक प्रभाव देखिएको छ ।
आज कारोबारमा आएका ३१३ कम्पनीका १ करोड १८ लाख ३० हजार ७७ कित्ता सेयरहरु ५६ हजार ३२१ पटक किनबेच हुँदा ५ अर्ब २७ करोड ३२ लाख २१ हजार रुपैयाँको कारोबार भएको छ ।
बुधबार नेप्से ४५.३६ अंकले घट्दा कारोबार रकम ५ अर्ब ५२ करोड ४१ लाख रुपैयाँ पुगेको थियो ।
बिहिबार लगानी समूह १.६१ प्रतिशतले बढेको बजारमा, जीवन बीमा समूह १.३० प्रतिशत, वित्त समूह १.२३ प्रतिशत, विकास बैंक समूह १.०८ प्रतिशत, वाणिज्य बैंक समूह १.०७ प्रतिशतले बढेको बजारमा उत्पादन तथा प्रशोधन समूह १.०३ प्रतिशतले बढेको छ । सबै उपसुचकमा सुधार आउँदा व्यापार समूह भने १.४८ प्रतिशतले घटेको छ ।
कारोबार रकमको आधारमा शिवम् सिमेन्ट २७ करोड ३४ लाख ६२ हजार रुपैयाँको कारोबार सहित अग्रस्थानमा रहँदा कारोबारमा आएका इकाई संख्याको आधारमा ५ लाख २८ हजार २२० इकाईको कारोबार सहित युनियन हाइड्रोपावर शीर्षस्थानमा रहेको छ । कारोबार संख्याको आधारमा २ हजार १४७ पटकको कारोबार सहित हिमायलन बैंक शीर्षस्थानमा रहेको छ ।
बिहिबारको कारोबारसँगै कुल बजार पूँजीकरण ४३ खर्ब १६ अर्ब ७३ करोड ४९ लाख रुपैयाँ कायम भएको छ । बुधबार बजार पुँजीकरण ४२ खर्ब ७८ अर्ब ९५ करोड ९७ लाख रुपैयाँ कायम भएको थियो ।












प्रतिक्रिया