पूर्वएआईजी सुवेदीविरुद्ध साइबर ब्युरोमा उजुरी


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालय पूर्वएआईजी देवेन्द्र सुवेदीविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिइएको छ । आइतबार ब्युरोमा उजुरी दिइएको हो ।

केही दिनअघि सुवेदीले एक भिडियो अन्तर्वार्तामा प्रचण्डका विषयमा बोलेका थिए । उनले भदौ २४ गते खुमलटारस्थित प्रचण्डको घर जलाइनुभन्दा दुई दिनअघि नै त्यहाँबाट ‘दुई ट्रकमा दुई करोड रुपैयाँ’ निकालेर लुकाइएको जिकिर गरेका थिए ।

प्रचण्डको सचिवालयले ‘डिजिटल माध्यममार्फत गरिएका यस्ता गलत प्रचारप्रसार साइबर कानुनविपरीत भएकाले त्यसबारे आवश्यक अनुसन्धान गरी कानुनी कारबाहको माग गरिएको’ जनाएको छ ।

“यसरी झुट्ठा सामग्री प्रवाह गरी भ्रम सिर्जना गराउनुका साथै चरित्रहत्या समेत गरिएको छ । सामाजिक सञ्जालबाट पार्टी नेतृत्वविरुद्ध चरित्रहत्या गरिँदा गम्भीर साइबर अपराध भएकाले निज देवेन्द्र सुवेदीविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी गरिएको छ,” सचिवालयले भनेको छ ।

प्रकाशित मिति: २७ आश्विन २०८२, सोमबार  ११ : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।