प्रभु लाइफको शेयरमूल्यमा चौंथो दिन सकारात्मक सर्किट, नियम विपरित अडलटमा १ कित्ता कारोबार

0
Shares

धितोपत्रको दोस्रो बजारमा कारोबार खुलेको चौंथो कारोबार दिनमा आएर प्रभु लाइफ इन्स्योरेन्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यसअघि ३ दिनमा कम्पनीको २१२ कित्ता शेयर मात्र खरीद बिक्री भएपनि कुनैपनि दिन सकारात्मक सर्किट मूल्यसम्म बढ्नेगरी कारोबार हुन सकेको थिएन ।

बुधबार १५८ रुपैयाँमा शेयर कारोबार खुलेको कम्पनीको शेयरमूल्य १५ रुपैयाँ अर्थात ९.४९ प्रतिशतले बढ्दै कम्पनीको छैटौं कारोबारमा १७३ रुपैयाँमा कारोबार हुँदै सकारात्मक सर्किट लागेको हो । यससँगै बुधबार कम्पनीको अधिकतम १७३ रुपैयाँमा मात्र शेयर कारोबार हुन पाउँछ ।

कुनैपनि कम्पनीको एक दिनमा अधिकतम १० प्रतिशत मात्र शेयरमूल्य बढ्ने वा घट्ने भएर कारोबार हुने भएकाले १५८ रुपैयाँको दश प्रतिशत १५.८० रुपैयाँसम्म शेयरमूल्य बढ्न पाउँछ । दशमलवमा आएकाले कम्पनीको आज शेयर अधिकतम १५ रुपैयाँ मात्र बढ्न पाउने भएकाले अब हुने सबै कारोबार १७३ मा मात्र हुनेछ । बिहीबार भने थप १० प्रतिशत शेयरमूल्य बढ्नसक्छ ।

बुधबार इन्स्योरेन्सको पहिलो कारोबार ब्रोकर नम्बर ५८ बाट १६१ रुपैयाँमा १० कित्ता शेयर कारोबार भएको थियो । त्यसपछि ब्रोकर नम्बर ३८ बाट १० कित्ता शेयर बिक्री भई ३ बाट खरीद भएको छ । तेस्रो कारोबारमा १ कित्ता शेयर ब्रोकर नम्बर ३४ बाट बिक्री भई ६ बाट नियमविपरित अडलटमा कारोबार भएको छ ।

कानुनत खातामा शेयर हुँदा हुँदै अडलटमा शेयर कारोबार गर्न नपाइने भएपनि आज ब्रोकर नम्बर ३४ बाट १ कित्ता शेयर अड लटमा कारोबारमा आएको छ । उक्त शेयर ब्रोकर नम्बर ६ बाट १६१ रुपैयाँका दरले घट्दो मूल्यमा कारोबार भएको हो । अघिल्लो कारोबार नै १६४ रुपैयाँका दरले कारोबार भएकोमा १ कित्ता शेयर तीन रुपैयाँ तल कारोबार भएको छ । कम्पनीको आईपीओ न्यूनतम १० कित्ताका दरले ५ लाख ४० हजार जना आवेदकले पाएकाले भर्खरै कारोबार खुलेको कम्पनीमा हुने १ कित्ता शेयरको अडलट कारोबार नियम विपरित देखिन्छ । नेप्सेले नियम विपरित अडलट कारोबार गर्ने ब्रोकर कम्पनीलाई यसअघि भने कारवाही समेत गर्दै आइरहेको छ।

हेर्नुहोस् नेप्सेले जारी गरेको कारोबार विनियमावलीमा भएको व्यवस्था यस्तो छ:-

चौंथो कारोबार १० कित्ता ब्रोकर नम्बर ५ बाट बिक्री भई ५७ बाट खरीद हुँदा, पाँचौं कारोबार २२ बाट ५८ मा, छैटौं कारोबार ५४ बाट ४७ र सातौं कारोबार ४५ बाट ४७ नम्बर ब्रोकरमा १० कित्ताका दरले खरीद बिक्री भएको हो ।कारोबारको एक घण्टाभित्रै कम्पनीको ८ वटा कारोबारबाट ६१ कित्ता शेयर १० हजार २४१ रुपैयाँमा कारोबारमा आएको छ ।

प्रभु लाइफको कारोबार सुरु भएको पहिलो दिन आइतबार प्रतिकित्ता १३७ रुपैयाँमा पहिलो कारोबार खुलेको इन्स्योरेन्सको सो दिन १४१ रुपैयाँमा कारोबार बन्द भएको थियो । यस्तै दोस्रो दिन २.८४ प्रतिशतले शेयरमूल्य बढेर १४५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । कम्पनीको शेयर तेस्रो दिन मंगलबार १५२ रुपैयाँ कारोबार खुलेकोमा ८.९७ प्रतिशतले बढेर १५८ रुपैयाँ पुगेको थियो ।

इन्स्योरेन्सको तल्लो रेञ्जमा कारोबार खुलेका कारण दोस्रो बजारमा अपेक्षित कारोबार हुन सकिरहेको थिएन। ब्ुधबार सर्किट लेबलमा बढेर कारोबार भएपछि अब भने कम्पनीको दिनप्रतिदिन शेयरमूल्य बढेर कारोबार हुने देखिन्छ ।  यद्यपी अन्य जीबन बीमा कम्पनीहरुको शेयरमूल्य ६०० रुपैयाँभन्दा माथि रहँदा यो कम्पनीको पनि सोही रेञ्जमा पुग्ने आम अपेक्षा लगानीकर्तामा छ । सोही कारण शेयरको उच्च माग रहँदासम्म आगामी सातासम्म लगानीकर्ताले सहज रुपमा शेयर खरीद गर्नसक्ने अवस्था नरहन सक्छ ।

कम्पनीले मंसिर २९ गते देखि पुस २ गतेसम्म कूल ६० लाख कित्ता आईपीओ निष्काशनमा ल्याएको थियो । सो मध्ये सामुहिक लगानी कोष र कम्पनीका कर्मचारीलाई ३र३ लाख गरी ६ लाख कित्ता छ्ट्टाएर ५४ लाख कित्ता शेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरिएको थियो । कम्पनीको आईपीओ ५ लाख ४० हजार आवेदकले गोलाप्रथाबाट १० कित्ताका दरले पाएका थिए ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।