काठमाडौँ। सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो स्थापना दिवसको अवसरमा २१औं वार्षिकोत्सव विशेष कार्यक्रमका साथ मनाएको छ। विहीबार बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा आयोजित कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष उज्वल सत्यालले बैंकको अबधि भरको सफल यात्रामा साथ र सहयोग पुर्याउने सम्पूर्ण सरोकारवाला निकाय, ग्राहक, नियामक संस्था, कर्मचारी तथा शेयरधनी महानुभावहरूलाई धन्यवाद ज्ञापन गरे।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले बैंकको निरन्तर प्रगति र सेवा विस्तारमा योगदान पुर्याउने सम्पूर्ण हितधारकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा बैंकलाई अझ आधुनिक, स्मार्ट र ग्राहकमैत्री वित्तीय संस्थाको रूपमा विकसित गर्न बैंक प्रतिबद्ध रहेको बताए
वार्षिकोत्सवको अवसरमा बैंकले “बाँड्दै न्यानोपन, जोड्दै आफ्नोपन” भन्ने नारासहित विशेष सामाजिक उत्तरदायित्व अभियान सुरु गरेको छ। लिड फर नेपाल संस्थासँगको सहकार्यमा सञ्चालन हुने उक्त अभियान अन्तर्गत बैंकका १० वटा क्लस्टरमार्फत न्यानो कपडा संकलन गरी इलामका बाढी–पहिरो प्रभावित परिवारहरूलाई वितरण गरिनेछ। यस अभियानमा बैंक स्वयंले पनि ज्याकेटलगायतका न्यानो कपडाहरू उपलब्ध गराउनेछ।
सोही अवसरमा आयोजित रक्तदान कार्यक्रममा बैंकका कर्मचारी तथा सरोकारवालासहित ३२ जनाले रक्तदान गर्नुभएको थियो। कार्यक्रममा बैंकमा ५, १० र १५ वर्ष सेवा अवधि पूरा गरेका २० जना कर्मचारीलाई सम्मानपत्र प्रदान गरिएको थियो।
हाल सांग्रिला डेभलपमेन्ट बैंकले देशभरका १०९ शाखा कार्यालय तथा ३० वटा एटीएम मार्फत सेवा प्रदान गर्दै आएको छ। बैंकले संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई निरन्तरता दिँदै आगामी दिनमा अझ गुणस्तरीय र पहुँचयोग्य सेवा विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।












प्रतिक्रिया