शुक्रबार यी सडक पूर्ण रुपमा अवरुद्ध (सूचीसहित)


काठमाडौँ । अविरल वर्षा र पहिरोका कारण देशका कोशी, बागमती र गण्डकी प्रदेशअन्तर्गत मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

कोशी प्रदेशको संखुवासभा जिल्लामा अविरल वर्षाका कारण दुई स्थानमा कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । भोटखोला गाउँपालिका–४ बरुणमा जेठ ६ गतेदेखि नै अवरुद्ध भएको सडक हालसम्म सञ्चालनमा आएको छैन ।

त्यस्तै, इलाममा रातको समयमा (बेलुका ७ बजेदेखि बिहान ६ बजेसम्म) इलाम जिल्ला भित्रको मेची राजमार्गमा सवारी साधनमा सञ्चालनमा रोक लगाईको छ ।

पाँचथरमा जिल्लामा अविरल वर्षाका कारण दुई स्थानमा तमोर कोरिडोर सडक खण्ड राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । तुम्वेवा र चौबिसे गाउँपालिकाका उक्त सडक आज शुक्रबारदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ । ओखलढुङ्गा जिल्लामा अविरल वर्षाका कारण सिद्धिचरण लोकमार्ग आजदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

यसैगरी बागमती प्रदेशको काभ्रेपलाञ्चोक जिल्ला बाढी पहिरोको चपेटामा परेको छ । पहिरोका कारण आजदेखि बिपि राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । रसुवा जिल्लामा पनि बाढीको कारण गोसाइँकुण्ड गाउँपालिका–२ (नेपाल र चीन नाका जोड्ने पुल) असार २४ गतेको बाढीका कारण नेपाल र चीन जोड्ने महत्त्वपूर्ण पुल पूर्ण रूपमा अवरुद्ध भएको छ ।

गोसाइँकुण्ड गाउँपालिका–२ (पासाङ ल्हामु सडक खण्डमा सडक) आजदेखि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ । सिन्धुली जिल्लामा पनि आजदेखि पहिरोका कारण गोलन्जोर गाउँपालिका ६ अकरेभिरमा पर्ने मध्य पहाडी लोकमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।

यता, गण्डकी प्रदेशको मुस्ताङ जिल्लामा पनि पहिरोका कारण हिजो बिहीबारदेखि जोमसोम कोरोला सडक र आजदेखि म्यादी जिल्लामा बेनी–दरवाङ सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ ।
त्यसैगरी, लुम्बिनी प्रदेश अन्तर्गत अर्घाखाँची जिल्लामा पहिरोका कारण बन्द भएको सन्धिखर्क गोरुसिङ्गे सडक खण्ड आजदेखि एकतर्फी सूचारु भएको नेपाल प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १४ कार्तिक २०८२, शुक्रबार  ११ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।