निष्क्रिय कर्जा झन् बढ्दै, असुली पनि प्रभावित


काठमाडौं । अर्थतन्त्रको सुस्तताका कारण बैंकहरूको निष्क्रिय कर्जा बढ्दै गएको छ । जसकारण उनीहरूको नाफादेखि लगानीसम्म प्रभावित हुँदै गएको छ ।

पछिल्ला केही वर्षयता बढ्दो क्रममा रहेको निष्क्रिय कर्जाले चालु आवको दोस्रो त्रैमासबाट फेरि बढ्ने संकेत देखाएको भन्दै बैंकरहरू चिन्तामा छन् । खासगरी गत भदौ २३ र २४ भएको जेनजी आन्दोलन र त्यसपछिको विध्वंशका कारण निजी क्षेत्रको मनोबल घटेको छ । सो मनोबल फर्काउन समय लाग्ने र त्यसले बैंकिङ प्रणालीमा पछिसम्म नकारात्मक असर पार्ने देखाएको बैंकरहरू बताउँछन् ।

चालू आर्थिक वर्षको पहिलो दुई महिनामा वाणिज्य बैंकदेखि विकास र फाइनान्स कम्पनीसम्म सबै तहमा कर्जा असुली कमजोर बन्दै गएको बैंकरहरूको भनाइ छ ।

नेपाल राष्ट्र बैंकको पछिल्लो विवरण अनुसार भदौ मसान्तसम्म बैंक तथा वित्त संस्थाहरूले कुल ७३ खर्ब ३१ अर्ब ४२ करोड रुपैयाँ निक्षेप संकलन गरी ५६ खर्ब १७ अर्ब ५१ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्। तर, यसमध्ये औसत ४.६२ प्रतिशत कर्जा निष्क्रिय अवस्थामा पुगेको छ । गत वर्षको सोही अवधिको ३.८६ प्रतिशतको तुलनामा झण्डै एक प्रतिशतले निष्क्रिय कर्जा बढेको तथ्यांकले देखाएको छ ।

अझ आन्दोलनपछि बैंकिङ प्रणालीमा कर्जाको माग नभएको र कर्जा विस्तार शून्यप्राय: रहेकाले निष्क्रिय कर्जा झनै बढ्ने देखाएको एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले बताए ।

तरलता सहज र ब्याजदर घट्दो क्रममा रहे पनि बैंकहरूले कर्जा असुलीमा सुधार आउन सकेको छैन ।

वाणिज्य बैंकहरूको हकमा मात्रै ६५ खर्ब ८० अर्ब रुपैयाँ निक्षेप ४९ खर्ब ९१ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ, जसको ४.४४ प्रतिशत निष्क्रिय कर्जा छ। गत वर्ष यो दर ३.७६ प्रतिशत मात्र थियो।

विकास बैंकहरूमा पनि यस्तै दबाब देखिएको छ। चालू वर्षको भदौ मसान्तसम्म उनीहरूको निष्क्रिय कर्जा दर ५.०३ प्रतिशत पुगेको छ, जुन गत वर्षको ३.६२ प्रतिशतभन्दा उल्लेख्य रूपमा माथि हो।

फाइनान्स कम्पनीहरूको अवस्था अझ गम्भीर देखिएको छ। भदौ मसान्तसम्म उनीहरूको औसत निष्क्रिय कर्जा ११.०५ प्रतिशत पुगेको छ, जुन गत वर्षको ९.८७ प्रतिशतभन्दा बढी हो । साना तथा मध्यम आय वर्गका ग्राहकहरूबाट असुली सुस्त हुँदा फाइनान्स कम्पनीहरू अझै बढी दबाबमा परेको कम्पनीका प्रतिनिधिहरू बताउँछन् ।

विगतका महिनाहरूमा विस्तारै बढ्न थालेको कर्जा विस्तारलाई जेनजी आन्दोलनले फेरि धक्का दिएको छ । साथै लगानी नबढ्दा बैंकहरूमा ठूलो परिमाणको रकम  थुप्रिएर बसेको छ ।

राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको भदौसम्मको विवरणअनुसार, निजी क्षेत्रतर्फ कर्जा प्रवाह ०.९ प्रतिशतले मात्र बढेको छ । गत वर्ष यस अवधिमा वृद्धि दर १.४ प्रतिशत थियो । वार्षिक विन्दुगत आधारमा हेर्दा, २०८२ भदौ मसान्तमा निजी क्षेत्रतर्फको कर्जा विस्तार ७.८ प्रतिशत ले मात्र बढेको छ ।

क्षेत्रगत हिसाबले हेर्दा, निर्माण क्षेत्रतर्फको कर्जा २.६ प्रतिशत, औद्योगिक उत्पादन १.९ प्रतिशत, उपभोग्य क्षेत्र १.१ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा १.० प्रतिशत, र थोक तथा खुद्रा व्यापार १.० प्रतिशत ले बढेको छ । तर सेवा उद्योग क्षेत्रमा भने कर्जा ०.३ प्रतिशतले घटेको छ ।

 

प्रकाशित मिति: १४ कार्तिक २०८२, शुक्रबार  १५ : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।