दराज एक्सप्रेसद्वारा ‘लास्ट–माइल सोलुशन’ सार्वजनिक


काठमाडौँ । दक्षिण एशियाकै अग्रणी ई–कमर्स प्लेटफर्म दराजले आफ्नो लजिस्टिक इकाई दराज एक्सप्रेस (डीइएक्स) मार्फत नयाँ सुविधा ‘लास्ट–माइल डेलिभरी सोलुशन’ औपचारिक रूपमा सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको यस नयाँ सेवा, दराजको प्लेटफर्ममा नहुँदा पनि आफ्ना उत्पादनहरू बिक्री गर्ने ब्रान्ड र विक्रेताहरूका लागि छिटो, भरपर्दो र प्रविधिमुखी वितरण समाधानका रूपमा प्रस्तुत गरिएको हो ।

यसका माध्यमबाट दराज एक्सप्रेसले नेपालभरका व्यवसायहरूका लागि चुस्त, सुरक्षित र विश्वासिलो वितरण सञ्जाल प्रदान गर्दै उनीहरूलाई आफ्ना उत्पादनमा केन्द्रित रहँदै व्यवसाय विस्तार गर्न अझ सशक्त बनाउने उद्देश्य लिएको छ ।

बजारमा विद्यमान सेवा प्रदायकहरूले प्रदान गर्न नसकेको गति, सन्तुष्टि र पारदर्शिताको आवश्यकता पूरा गर्ने सोचका साथ दराज एक्सप्रेसले यो समाधान उपलब्ध गराएको हो । कृत्रिम बुद्धिमत्ता (एआई)मा आधारित रुट–प्लानिङ प्रणाली र रियल–टाइम पार्सल ट्रयाकिङ प्रविधिको प्रयोगबाट यसले स्थानीय अर्डरहरू २४ घण्टाभित्र, र अन्तर–सहर डेलिभरीहरू ४८ घण्टाभित्र सम्पन्न गर्ने क्षमता बोकेको छ ।

यसले औसत डेलिभरी समय १.५ दिनभन्दा कममा झार्न उल्लेख्य सहयोग पु¥याएको छ । साथै, ९० प्रतिशतभन्दा बढी सफल नतिजा सहित सबै मूल्यका पार्सलहरूको वितरण सुनिश्चित गर्ने एकिकृत समाधान प्रदान गरिरहेको छ । यी सबै सुधारहरूले सञ्चालन दक्षता बढाउने र ग्राहक सन्तुष्टि सुनिश्चित गर्ने कार्यमा महत्वपूर्ण योगदान दिएका छन् ।

हालसम्म डीईएक्सले नेपालका १०८ प्रमुख सहरहरूमा सेवा विस्तार गरिसकेको छ । त्यसैगरी, आगामी ११.११ अभियानअघि थप ७० सहरहरूमा आफ्नो सेवा विस्तार गर्ने योजना बनाएको छ । यसले दराज एक्सप्रेसको देशव्यापी पहुँच र ‘सबैका लागि छिटो र भरपर्दो ई–कमर्स सेवा’ को प्रतिबद्धता झल्काउँछ ।

प्रकाशित मिति: १४ कार्तिक २०८२, शुक्रबार  १७ : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।