मासिक ५०० बचत गरे पेन्सन, अनलाइन मार्फत पनि रजिष्ट्रेशन गर्न सकिने


नागरिक लगानी कोषले पेन्सन सुविधा प्रदान गर्ने योजनाको अनलाइन रजिष्ट्रेशन सुरु गरेको छ । सो योजनामा सहभागी हुनले मासिक न्यूनतम ५०० रुपैयाँ जम्मा गरेको, १५ वर्ष पुगेको र उमेर ६० कटेपछि पेन्सन पाउनेछन् ।

कोषको योजनामा सहभागी हुन चाहनेले नागकि लगानी कोषको वेवसाइटको ‘इसर्भिस’ मा गएर ‘न्यू इ सर्भिस’ मा ‘लगइन’ पछि पेन्सन योजना दर्तामा गई सहभागी हुन सक्छन् ।

यो योजनामा सबै नेपाली इच्छुक व्यक्तिहरु सजिलै सहभागी हुन सक्छन् । यस योजनामा आय आर्जन गर्ने प्रचलित कानून बमोजिम स्थापना भएका संघ, संस्था, एवं प्रतिष्ठानमा कार्यरत श्रमिक/कर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैर आवासिय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक सहभागी हुन सक्छन् ।

बचतकर्ताहरुले न्यूनतम मासिक ५ सय रुपैँया देखि अधिकतम आम्दानीको क्षमता अनुसार १० ले भाग जाने संख्यामा रकम जम्मा गर्नु पर्छ । बचतकर्ताको आम्दानीको आधारमा मासिक/त्रैमासिक/अर्धवार्षिक/वार्षिकरुपमा पनि रकम जम्मा गर्न सकिने विशेषता समेत रहेको छ ।

पेन्सन प्राप्त गर्न बचतकर्ताको उमेर ६० वर्ष पूरा भएको र कम्तीमा १५ वर्ष योगदान गरेको हुनुपर्नेछ । बचतकर्र्ताले १५ वर्ष नपुग्दै रकम फिर्ता लिन चाहेमा वा १५ वर्ष पछि एकमुष्ठ रकम लिन चाहेमा त्यसको ब्याज र प्रतिफल भूक्तानी लिन सक्नेछन् । सहभागीले गरेको बचत, त्यसको ब्याज र कोषको लगानीबाट प्राप्त प्रतिफल समेत जोडी हुन आउने कुल रकमलाई १७० ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना निजको जीवनकालभर पेन्सन पाउन सक्ने व्यवस्था रहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।