कृषिमा विदेशी लगानी प्रोत्साहित गर्दा स्वदेशी निरुत्साहित हुन्छ : निजी क्षेत्र


कृषि क्षेत्रमा विदेशी लगानी ल्याउदा उच्चतम प्रविधि भित्राउने, स्वदेशी कच्चा पदार्थ उपयोग गर्ने र अधिकांश हिस्सा निर्यात गर्न सक्ने सम्भाव्यताको विस्तृत अध्ययन गरेरमात्र कार्यान्वयनमा लगिनु पर्ने माग नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले गरेका छन् ।

निजी क्षेत्रका छाता संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल सरकारद्धारा पुष २० गते राजपत्रमा प्रकाशित गरेको कृषिमा विदेशी लगानी खुला गर्ने सम्बन्धमा भएको व्यवस्थाका सम्बनधमा ध्यान केन्द्रीत गरेको हो । त्यसको विरोधमा विभिन्न कृषि उद्यमसंग सम्बन्धित संघसंस्थाले गरेको विरोधबारे नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सको ध्यानाकर्षण भएको जनाएको छ ।

२०७५ चैतमा आएको नयाँ विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनले कृषिमा विदेशी लगानी पुर्णतः बन्देज गरेको सन्दर्भमा मन्त्रीपरिषदको निर्णयबाट आफूले उत्पादन गरी कम्तीमा ७५ प्रतिशत निकासी गर्ने पशुपंन्छीपालन, माछापालन, मौरीपालन, फलफुल, तरकारी, तेलहन, दलहन, दुग्ध व्यवसाय र कृषिका प्राथमिक उत्पादनसंग सम्बन्धित ठूला उद्योगमा विदेशी लगानी गर्न पाउने गरी भएको व्यवस्थाको उद्यमीहरुले बिरोध गरिरहेका छन् ।

त्यसैगरि कृषि जस्तो सर्वसाधारणको जिविकासंग प्रत्यक्ष जोडिएको बिषयमा विदेशी लगानी भित्राउन नहुने एउटा तर्क छ भने बढदो व्यापार घाटा कम गर्न एवं उत्पादन र उत्पादकत्व बढाउन विदेशी लगानी र प्रविधि आवश्यक रहेको बिषय पनि उठेको विज्ञप्तिमा उल्लेख छ ।

विदेशी लगानी मुलुकका लागि अत्यावश्यक भएको सन्दर्भमा लगानीलाई प्रवद्र्धन गर्न सरकारले जनाएका विगतका प्रतिवद्धता पुरा गर्नु आवश्यक रहेको संगठनको ठहर छ । “यससंग सम्बन्धित नीति नियम, निर्देशिका, कार्यविधि बनाउदा वा कुनै शंसोधन गर्दा निजी क्षेत्रसंग अनिवार्य रुपमा छलफल गर्न पनि महासंघ, परिसंघ र चेम्बर जोडदार माग गर्दछ”, संयुक्त विज्ञप्तीमा भनिएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।