बाढीपहिरोको क्षतिबाट तीन अर्ब ७८ करोड बराबरको बिमा दाबी


काठमाडौँ। गत असोजमा गएको बाढी पहिरोका कारण पुगेको क्षतिका कारण बिमा कम्पनीहरुमा तीन अर्ब ७८ करोड ४० लाख ९० हजार रुपैयाँ बराबरको दाबी परेको छ । गत असोज १७ गतेदेखि १९ गतेसम्म परेको अविरल वर्षाका कारण जनधनको क्षति भएको थियो । प्राधिकरणका अनुसार ४३४ वटा बीमा दाबीको आवेदन परेको छ ।

प्राधिकरणका अनुसार सम्पत्ति बीमा ३८२, इञ्जिनियरिङ तथा ठेकेदार जोखिम ९२, कृषि तथा बाली बिमा २०९, मोटर बिमा निजीतर्फ ३७, मोटर बिमा सार्वजनिक १०, अन्य बिमा एक र सामुन्द्रिक बिमाका तीनवटा आवेदन परेको छ ।

कूल ३७ जिल्लामा भएको क्षतिको क्षतिपूर्तिका लागि बिमा दाबीको आवेदन परेको छ । सबैभन्दा बढी १९७ वटा बिमा दाबीको आवेदन सुनसरीमा परेको छ । इलाममा ६०, काठमाडौं ८०, मोरङ ९०, झापा २०, पर्सा ७१, रौतटहमा २८ वटा बिमा दाबीको आवेदन परेको छ ।

प्राधिकरणका अनुसार गत भदौ २३ र २४ गतेको आन्दोलनका कारण भएको क्षतिको २३ अर्ब २३ करोड रुपैयाँ बराबरको बिमा दाबीको आवेदन परेको छ । यस्तै, गत असारको बाढी पहिरोका कारण भएको क्षतिको कारण रु ९८ करोड ५९ लाख बराबरको बिमा दाबीको आवेदन परेको थियो ।

प्राकृतिक जोखिमबाट हुने क्षतिमा भएको बृद्धिसँगै बिमा कम्पनीमा बिमा दाबीको आवेदन पनि उल्लेख्य रूपमा बढेको छ । हाल नेपालमा १४ वटा निर्जीवन बिमा कम्पनी, चारवटा निर्जीवन लघुबिमा कम्पनीमा बिमा दाबीको आवेदन परेको हो ।

प्रकाशित मिति: २३ कार्तिक २०८२, आइतबार  ०७ : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।