शेयर बजार परिसूचक मापक नेप्से एक वर्षमा ९०७ अंकले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पाँच महिना ( मंसिर मसान्त) सम्मको विवरण अनुसारयस्तो तथ्याङ्क भेटिएको हो ।
२०७६ मंसिर मसान्तमा ११५४.१ रहेको नेप्से सूचकाङ्क २०७७ मंसिर मसान्तमा ९०७ अंकले बढेर २०६१.४ अंकमा पुगेको छ ।
पछिल्लो पाँच महिनामा मात्रै नेप्से ६९९ अैकले बढेको हो । २०७७ असार मसान्तमा नेप्से सूचकाङ्क १३६२.४ अंकमा रहेको थियो ।
२०७७ मंसिर मसान्तमा धितोपत्र बजार पूुजीकरण २७ खर्ब ६३ अर्ब ६६ करोड पुगेको छ । २०७७ असार मसान्तमा बजार पूँजीकरण १७ खर्ब ९२ अर्ब ७६ करोड रहेकोमा ९ खर्ब ७० अर्ब ९० करोड रुपैयाँले बढेको हो ।
२०७७ मंसिरमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २१२ रहेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ३५ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ४/४ होटल तथा व्यापारिक संस्था र ६ अन्य समूहका रहेका छन् । २०७७ असारमा पनि सूचीकृत कम्पनीहरूको संख्या २१२ रहेको थियो ।
सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पूँंजीकरणको हिस्सा ७१.१ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा ६.५ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.२ प्रतिशत, होटेलको हिस्सा १ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.४ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा १६.७ प्रतिशत रहेको छ ।
- पाँच महिनामा १ खर्ब ७७ अर्बको थप धितोपत्र सूचीकृत
आर्थिक वर्ष २०७७÷७८ को पाँच महिनामा १ खर्ब ५० अर्ब बराबरको विकास ऋणपत्र, ११ अर्ब ४१ करोड बराबरको साधारण शेयर, ५ अर्ब ८० करोड बराबरको बोनस शेयर, ७ अर्ब बराबरको डिबेन्चर, २ अर्ब ५० करोड बराबरको हकप्रद शेयर र ६५ करोड बराबरको म्युचुअल फण्ड गरी कुल १ खर्ब ७७ अर्ब ३७ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।
- आठ अर्बको धितोपत्र निष्काशन गर्न अनुमति
चालु आवको पाँच महिनामा नेपाल धितोपत्र बोर्डले ५ अर्ब ४ करोड बराबरको डिबेन्चर, २ अर्ब २ करोड बराबरको साधारण शेयर, ५३ करोड ३७ लाख बराबरको हकप्रद शेयर र ५० करोड बराबरको म्युचुअल फण्ड गरी कुल ८ अर्ब १० करोड बराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७७ मंसिरसम्ममा सूचीकृत ५ अर्ब ६१ लाख संख्याको शेयर चुक्ता मूल्य ४ खर्ब ९१ अर्ब २४ करोड रहेको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया