
मेगा बैंक नेपाल (MEGA) को दशौं वार्षिक साधारण सभाले गत आर्थिक वर्षको नाफाबाट सञ्चालक समितिले प्रस्ताव गरे अनुरुप १ अर्ब ७३ करोड ८६ लाख ११ हजार ७५१ रुपैयाँ लाभांश पारित गरेको छ ।
बुधबार सम्पन्न सभाले आर्थिक वर्ष २०७६/७७ सम्म सञ्चित मुनाफा एवं वितरणयोग्य रकम मध्येबाट चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने १ अर्ब ३३ करोड २२ लाख ६९ हजार ५ सय ४१ रुपैयाँ ६१ पैसा बोनस शेयर र ३ दशमलव ०५ प्रतिशतले हुन आउने रकम ४० करोड ६३ लाख ४२ हजार २१० रुपैयाँ १९ पैसा नगद लाभांश साधारण सभाले पारित गरेको हो ।
साधारण सभालाई सम्बोधन गर्दै बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले कोभिडबाट अन्य व्यवसाय जसरी बैंकिङ क्षेत्र समेत प्रभावित भए पनि मेगा बैंकको वित्तिय परिसूचक सन्तोषजनक रहेको बताइन् ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिसम्म बैंकको कुल निक्षेप १ अर्ब २४ करोड रुपैँयाले बृद्धि भई १ खर्ब ३३ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । यसैगरी, खुदकर्जा ८ अर्ब रुपैँयाले वृद्धि भई १ खर्ब २१ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । गत त्रैमासमा बैंकले ६० करोड ७९ लाख रुपैँया खुद मुनाफा आर्जन गरेको छ ।
सीइओ खुञ्जेलीका अनुसार कोभिडबाट प्रभावित देशको अर्थतन्त्रलाई उकास्न मेगा बैंकले करिब १ अर्ब ९० करोड रुपैंया सहुलियत कर्जा र २ अर्ब ४२ करोड रुपैंया पुनर्कर्जाहरु प्रवाह गरेको छ ।
गत आर्थिक बर्षमा मेगा बैंकले गण्डकी विकास बैंकलाई प्राप्ति गरी संयुक्त कारोबार गरेपश्चात ५८ वटा जिल्लामा आफ्नो शाखा सञ्जाल विस्तार गरेको छ । अहिले उपत्यका र उपत्यकाबाहिर गरी मेगा बैंकका २०६ वटा शाखा कार्यालयहरु, ३४ वटा एक्सटेन्सन काउन्टरहरु, १ सय ४२ वटा एटीएम मेशिन तथा ८९ वटा शाखा रहित बैंकिङ केन्द्रहरु रहेका छन् ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया