
धितोपत्र बजार परिसूचकमा सुधार आउने क्रमले बुधबार पनि निरन्तरता पाएको छ । साताको अन्तिम कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक १८ अंकले बढ्दा धितोपत्र बजारको आकार पनि विस्तार भई ३१ खर्ब पुगेको हो ।
पछिल्लो समयमा शेयर बजारले हरेक दिन नयाँ उचाइ तय गर्दै आएको छ । बुधबार कारोबार सुरु हँदा देखि निरन्तर सुधारको गतिमा रहेको नेप्से सूचक बन्द हुँदा १८.८१ अंकले बढेर २२८६.५४ अंकमा पुगेको छ । बुधबार कारोबार बन्द भएको नेप्सेको बिन्दु हालसम्मकै उच्च हो ।
बुधबारको नेप्सेको कुल बजार पूँजीकरण देशको कुल ग्राहस्थ उत्पादनको तुलनामा ६ खर्ब ८८ अर्ब रुपैयाँले मात्र थोरै हो । कोरोनाका कारण लगानीका एक मात्र क्षेत्रको रुपमा शेयर बजार देखिएको छ ।
कोरोना भाइरसको महामारीसँगै सुधारको गतिमा देखिएको शेयर बजार हालसम्मकै उच्च अंकमा पुगेको छ । वित्तीय क्षेत्रको सस्तो ब्याजदर र उच्च तरलताका कारण शेयर बजारमा लगानी बढेको हो । शेयर बजारमा सुधार आएपछि नयाँ लगानीकर्ता पनि बजारमा प्रवेश गर्ने क्रम जारी रहेको छ । धितोपत्र बजारको विस्तार तथा जनचेतनाले पछिल्लो समयमा साधारण शेयर लगानी गर्ने लगानीकर्ताको संख्या हालसम्मकै धेरै साढे १२ लाखसम्म पुगेको अवस्था छ । यसले बजार धितोपत्र बजार प्रति लगानीकर्ताको सेन्टिमेन्ट सकारात्मक रहेको देखिन्छ ।
गत आर्थिक वर्ष २०७६/७७ को आर्थिक वृद्धि २.२७ प्रतिशतले हुने अनुमान गरिएसँगै अर्थतन्त्रको आकार पनि ३७ खर्ब ६७ अर्बको पुग्ने अनुमान तथ्याङ्क विभागको रहेको छ । कोरोना भाइरसका कारण आर्थिक गतिविधिमा आएको सुस्तताका कारण आर्थिक वृद्धि न्यून हुने अनुमान गरिएको हो । आर्थिक गतिविधिमा आएको सुस्तताले अर्थतन्त्रको वृद्धिदरमा कमी आएको भएपनि शेयर बजारलाई भने खासै असर गरेन ।
हाल धितोपत्र बजारको आकार ३० खर्ब ७९ अर्ब रुपैयाँ पुगेको छ । बुधबारको धितोपत्र बजारको कुल बजार पूँजीकरण कुल ग्राहस्थ उत्पादनको ८१.७३ प्रतिशत हो । नेप्से परिसूुचक बढेपछि बजार पूँजीकरण पनि स्वभाविक रुपमा बढ्छ । नेप्सेको बजार पूँजीकरण गणना गर्दा सूचीकृत कम्पनीको शेयर मूल्यको महत्वपुर्ण भुमिका हुन्छ । बजार पूँजीकरण भनेको शेयर बजारमा रहेको सम्पत्तिको आकार हो । धितोपत्र बजारको बजार पूँजीकरण बढ्नु लगानीकर्ताका लागि पनि सकारात्मक हो ।
नेप्सेमा सूचीकृत शेयरहरुको कूलबजार मूल्य अर्थात सम्पूर्ण सूचीकृत कम्पनीको शेयरमूल्य र शेयर संख्याको गुणनफल नै बजार पूँजीकरण हो । बजार पूँजीकरणले समग्र बजारको अवस्थालाई समेत देखाउने भएकाले लगानीकर्ताको आम्दानी तथा नोक्सानीलाई प्रत्यक्ष मूल्याङ्कन गर्न सकिन्छ ।
बुधबार नेप्सेमा कारोबार भएका अधिकांश कम्पनीको शेयरमूल्य बढेको छ । नेप्सेका कारोबार भएका समूहगत परिसूचक मध्ये ब्यापार ९.०५, विकास बैंक ३०.७९, जलविद्युत ३०.२, वित्त ४५.०८, निर्जीवन बीमा १११.१५, उत्पादन मूलक २४२.५२, अन्य १२.०९, लघुवित्त ९६.४९, जीवन बीमा १६९.७७ र सामुहिक लगानी कोष ०.०७ अंकले बढेको छ । तर, बैंकिङ र होटल समुह ५.३९ अंकले घटेका छन् ।
बुधबार कर्पोरेट डेभलपमेन्ट, आरम्भ चौतारी लघसवित्त विकास बैंक, फस्ट माइक्रोफाइनान्स, इन्फिनिटि लघुवित्त वित्तीय संस्था, नारायणी विकास बैंक, गोर्खाज फाइनान्स लगायत कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ । मल्टिपपर्स फाइनान्स कम्पनी, महिला सहयात्रा लघुवित्त, र नेपाल एसबिआई बैंकको शेयरमूल्य ३ प्रतिशत धेरैले घटेको छ ।
बुधबार नेप्सेको कारोबार रकममा पनि सुधार आएको छ । नेप्सेमा २०७ कम्पनीको ५० हजार ९५० कारोबारबाट ५ अर्ब ९१ करोड ४३ लाख रुपैयाँ बराबरको एक करोड ३२ लाख ८९ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । यो कारोबार रकम मंगलबारको तुलनामा धेरै हो । मंगलबार नेप्सेमा ४ अर्ब ९८ करोड २३ लाख ९१ हजार ८९७ रुपैयाँ बराबरको १ करोड ३५ लाख ३१ हजार २२७ कित्ता शेयर खरीद बिक्री भएको थियो ।
आज नेपाल टेलिकमको सबैभन्दा धेरै २६ करोड ५५ लाख रुपैयाँको शेयर खरीद बिक्री भएको छ । पुनर्बीमा कम्पनी, अपर तामाकोशी, शिवम् सिमेन्टस्, एनआईसी एशिया बैंक, नेपाल लाइफ, फस्ट माइक्रोफाइनान्स, नेशनल लाइफ, प्राइम कमर्सियल बैंक, नेको इन्स्योरेन्सको उच्च कारोबार भएको छ ।
| Symbol | Turnover | Closing Price | |
|---|---|---|---|
| As of 2021-01-13 15:00:00 | |||
| NTC | 265,524,940.00 | 1,263.00 | |
| NRIC | 207,255,101.00 | 1,551.00 | |
| UPPER | 184,985,795.00 | 495.00 | |
| SHIVM | 163,613,761.00 | 1,660.00 | |
| NICA | 159,386,980.00 | 912.00 | |
| NLIC | 149,679,822.00 | 2,436.00 | |
| FMDBL | 148,151,490.00 | 695.00 | |
| NLICL | 142,806,050.00 | 1,170.00 | |
| PCBL | 137,807,087.00 | 442.00 | |
| NIL | 134,698,605.00 | 1,280.00 | |
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया