नेप्सेको पुनर्संरचनाका लागि सुझाव समिति गठन


काठमाडौं । नेपालको धितोपत्र बजारको नियामक निकाय नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को पुनर्संरचना र समग्र सुधारका लागि अध्ययन गरी सुझाव पेश गर्न एक उच्चस्तरीय समिति गठन गरिएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रकाशजंग केसीको संयोजकत्वमा नेपाल स्टक एक्सचेन्ज सम्बन्धी सुझाव समिति गठन गर्ने निर्णय गरेको हो ।

समितिले नेप्सेको पुनर्संरचना गर्न आवश्यक विस्तृत अध्ययन गर्नेछ । नेप्सेको संरचना, कार्यप्रणाली र प्रविधिलाई समयानुकूल सुधार गरी पुँजी बजारलाई थप प्रतिस्पर्धी र पारदर्शी बनाउनका लागि समितिले सरकारलाई ठोस सुझावसहितको प्रतिवेदन पेश गर्नेछ ।

नेप्सेलाई थप प्रभावकारी, आधुनिक र प्रतिस्पर्धी बनाउनका लागि विस्तृत सुझावसहितको प्रतिवेदन पेश गर्ने जिम्मेवारी समितिले पाएको छ।
नेपालको पुँजी बजारलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुदृढ बनाउन र लगानीकर्ताको हित संरक्षणका लागि नेप्सेको पुनर्संरचना आवश्यक रहेको आवाज उठिरहेको सन्दर्भमा यो निर्णय आएको हो।

मन्त्रिपरिषद्को यो निर्णयलाई पुँजी बजार सुधारको दिशामा महत्वपूर्ण कदमको रुपमा हेरिएको छ ।

विशेषज्ञ सम्मिलित यस समितिले नेप्सेको वर्तमान संरचना, सञ्चालन प्रणाली, प्रविधि तथा भावी कार्यदिशाबारे अध्ययन गरी आवश्यक नीतिगत तथा संरचनागत सुधारका उपायहरू सिफारिस गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २ मंसिर २०८२, मंगलबार  १६ : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।