काठमाडौँ । डिजिटल प्रविधिमा आएको विकाससँगै डिजिटल बैंकिङ कारोबार बढेको छ । प्रविधिको बढ्दो प्रयोगसँगै पछिल्लो समय डिजिटल भुक्तानीमा छलाङ आएको हो ।
स्मार्टफोनको प्रयोग र इन्टरनेट पहुँच वृद्धिपछि मानिसले अहिले खाद्यान्न, तरकारी, लत्ताकपडा किन्दा अनलाइन सपिङ मात्र नभएर चिया पसलदेखि मोबाइलको रिचार्ज, खानेपानी, विद्युत् शुल्क तिर्ने, इन्टरनेट वा टेलिभिजन, ट्याक्सी, जहाजको टिकट काट्न पनि डिजिटल भुक्तानी गर्छन् । मोबाइल बैंकिङ, क्युआर पेमेन्ट, वालेट, इन्टरनेट बैंकिङको प्रयोगले डिजिटल कारोबार सुरक्षित र विश्वसनीय बन्दै गएकोले प्रयोगकर्तामा आकर्षण बढेको हो ।
चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउन–असोज) मा यी माध्यमहरुबाट १८ करोड ५५ लाख ११ हजार ९९९ पटक १७ खर्ब ५ अर्ब ४७ करोड ७८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
गत आर्थिक वर्षको सो अवधिमा यी माध्यमहरुबाट १३ करोड ९४ लाख ४५ हजार ९८२ पटक ६ खर्ब ६० अर्ब ८४ करोड ९९ लाख रुपैयाँ कारोबार भएको बैंकको तथ्यांकमा उल्लेख गरिएको छ ।
पछिल्ला वर्षहरूमा भुक्तानी प्रणालीको आधुनिकीकरणमा उल्लेख्य प्रगति भएको नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले बताए ।
‘विद्युतीय भुक्तानी पूर्वाधार तथा उपकरणको विकास र कानुनी एवं संस्थागत व्यवस्था गरिएका कारण कारोबार रकम, गुणस्तर, सेवाका प्रकार आदिमा उच्च वृद्धि हुँदै गएको हो ।’ प्रवक्ता पौडेलले भने, ‘यसले प्रयोगकर्ताको लागत र समय बचत भएको छ भने डिजिटल अर्थतन्त्र फस्टाएको छ । साइबर सुरक्षाको सुदृढीकरण गर्नेलगायत आन्तरिक तथा बाह्य भुक्तानी र अन्तरआबद्धता गर्ने कार्यलाई राष्ट्र बैंकले प्राथमिकता दिँदै आएको छ ।’
डिजिटल बैंकिङ अर्थात् भौतिक रुपमा उपस्थित नभइ आधुनिक सूचना तथा प्रविधिको उपयोग गरेर गरिने बैंकिङ प्रणाली, अर्थात् बैंकिङ एक नयाँ युग हो, अब पहिलेको जस्तो पैसाको कारोबार गर्नका लागि बैंकको शाखाहरुमा धाइरहन पर्दैन, उनले भने ।
घरमै बसेर केही समयमै प्रविधिको प्रयोगबाट सबै बैंकिङ सुविधाहरु प्राप्त गर्न सकिन्छ । यसको अतिरिक्त पैसा पनि धेरै लाग्दैन । डिजिटल बैंकिङले ग्राहकहरुको दैनिकी एवं जीवनशैलीलाई बैंकको प्रविधिसँग सम्बन्ध जोड्ने काम गरेको उनले बताए ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार डिजिटल कारोबारका माध्यमहरू मोबाइल बैंकिङ, वालेट, डेबिट÷क्रेडिट कार्ड, कनेक्ट आइपिएस, इन्टरनेट बैंकिङ, एटिएम, इसीसी, फास्टर पेमेन्ट, क्यूआर, पिओएसलगायतको प्रयोग बढेको हो ।
यी माध्यमहरु मध्ये प्रयोगकर्ताहरुको पहिलो रोजाईमा मोबाइल बैंकिङ परेको छ । तीन महिनाको अवधिमा मोबाइल बैंकिङबाट मात्र ६ करोड ४३ लाख ५२ हजार २६५ पटकमा ५४ अर्ब ८५ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
गत वर्षको सोही अवधिमा मोबाइल बैंकिङबाट ४ करोड ४० लाख ४८ हजार १४६ पटकमा ४० अर्ब १२ करोड ४१ लख रुपैयाँ कारोबार भएको थियो ।
नगद प्रयोग नगरेर विद्युतिय माध्यमबाट कारोबार गर्ने वित्तिकै पहिला आफैलाई फाइदा हुने छ । दोस्रो कुरा दिनेले दियो, लिनेले लियो जुन कुरा रेकर्डमा रहन्छ । भोली मैले कहाँ दिएको वा लिएको थिएँ ? भन्ने कुरा हुँदैन । त्यो रेकर्डमै बस्ने हुँदा ढुक्क हुने जस्ता फाइदा रहेको पौडेलले उल्लेख गरे ।
उनका अनुसार, ‘नगद कारोबार गर्दा नोट च्यातिने डर हुन्छ । नयाँ नोट छपाउँदा राष्ट्र बैंकबाट सरकारी बजेट खर्च हुन्छ । विद्युतीय कारोबारपछि त्यसमा पनि बचत हुने भो । नक्कली नोट पर्छकि भन्ने डर पनि हुँदैन । डिजिटल भुक्तानी कारोबार सिस्टममा नै भइसकेपछि एउटा डाटाबेस बन्छ । कहाँ कस्तो प्रकारको कारोबार भइरहेको छ, त्यो सबै कुराहरुको एउटा तथ्यांक डाटाबेस बनिसकेपछि नीति निमार्णमा पनि सहयोग पुग्नेछ ।’
डिजिटल कारोबारका विभिन्न फाइदासँगै केही चुनौती तथा बेफाइदा पनि छन् । डिजिटल कारोबारमा साइबर सुरक्षा ठूलो चुनौती हो । नेपालमा साइबर अपराधको दर बढ्दै गइरहेको छ ।
ह्याकरहरूले व्यक्तिगत विवरण चोरी गर्न सक्छन्, जसले वित्तीय जोखिम निम्त्याउँछ । पासवर्ड चोरी तथा अन्य साइबर अपराधहरूमा पर्न सक्ने सम्भावना उच्च हुने पौडेलको भनाई छ ।
त्यसैगरी, नेपालमा इन्टरनेट सेवा प्रदायकहरूबाट प्रदान गरिने सेवाको गुणस्तर सधैं भरपर्दो नहुने, ग्रामीण क्षेत्रमा अझै पनि इन्टरनेट सेवा अस्थिर र कमजोर रहेका कारण पनि डिजीटल कारोबारमा चुनौती रहेको छ ।












प्रतिक्रिया