काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप खाताको संख्या ६ करोड नाघेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८२-८३ सम्ममा निक्षेप खाताको संख्या ६ करोड ३४ लाख २५ हजार २९६ पुगेको हो । जुन नेपालको जनसंख्याको दोब्बर बढी हो । जबकी नेपालको कुल जनसंख्या करिब ३ करोड मात्रै रहेको छ ।
पछिल्लो एक वर्षको अवधिमा मात्रै करिब ४० लाख नेपालीले बचत खाता खोलेका छन् । हरेक नेपालीको बैंक खाता, सेयर बजारमा लगानीकर्ताको बढ्दो आकर्षणका कारण नेपालीहरूले निक्षेप खाता खोल्न थालेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।
हाल बैंक तथा वित्तीय संस्थाको संख्या भने घट्दो छ । नेपाल राष्ट्र बैंकले मर्जर नीति अंगालेपछि बैंक तथा वित्तीय संख्याको संख्या घट्दो छ । बैंक तथा वित्तीय संस्थाको मर्जरका कारण दोहोरो बैंक खाता घट्नुपर्ने हो । तर, बैंक खाता संख्या झनै बढ्दो छ । कुनै समयमा ३२ वटासम्म पुगेका वाणिज्य बैंकको संख्या यतिबेला २० मा झरेको छ ।
कुन बैंकमा कति खाता ?
गत आर्थिक वर्ष २०८२-८३ को अन्तिमसम्ममा बैंक तथा वित्तीय संस्थामध्ये सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूमा मात्र ५ करोड ४४ लाख ४९ हजार ५३९ निक्षेप खाताहरू छन् । अघिल्लो वर्ष ति बैंकहरुमा ५ करोड ९ लाख ८६ हजार १७१ निक्षेप खाता रहेका थिए ।
त्यस्तै, सञ्चालनमा रहेका १७ विकास बैंकहरूमा ७८ लाख ८३ हजार ६७२ निक्षेप खाता रहेका छन् । एक वर्ष अगााडी ७४ लाख ७५ हजार ३४७ निक्षेप खाता रहेका थिए । १७ वित्त कम्पनीहरूमा पनि १० लाख ९२ हजार ८५ निक्षेप खाता रहेको बैंकको तथ्यांकमा उल्लेख गरिको छ ।
किन बढ्यो यसरी खाताको संख्या ?
पछिल्लो समय वित्तीय साक्षरतामा वृद्धि भई गाउँगाउँसम्म बैंकको विस्तार र सरकारी कारोबारमा बैंकिङ प्रणालीको अवधारणा आएसँगै सर्वसाधारणसम्म वित्तीय पहुँच विस्तार हुँदै गएको छ । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले आम नागरिकमा वित्तीय पहुँच विस्तार गर्न घरदैलो कार्यक्रमदेखि विभिन्न आकर्षक योजना ल्याएसँगै बैंकमा खाता खोल्नेको संख्या बढ्दै जान थालेको हो ।
२०७६ मा नयाँ खाता खोल्नेलाई खातामै १०० रुपैयाँ राखिदिने योजना ल्याएपछि खाता खोल्नेको संख्या ह्वात्तै बढेको थियो । बैंकहरुले सबै नेपालीको खाता अभियानअन्र्तगत प्रोत्साहनस्वरुप हरेक नयाँ खातामा १०० रुपैयाँ बैंककै तर्फबाट राखिदिने व्यवस्था गरेको थियो ।
पछिल्लो समय सामाजिक सुरक्षा कार्यक्रम लागू गर्न र सरकारले औपचारिक रोजगारीमा रहेकालाई बैंक खातामार्फत पारिश्रमिक भुक्तानी दिनुपर्ने व्यवस्था अनिवार्य गरेकाले पनि खाताको संख्यामा वृद्धि भएको हो ।
मुलुक संघीयतामा गएपछि बनेका स्थानीय तहमा वाणिज्य बैंक पुगेको छ । सबै नेपालीको बैंक खाता नामक कार्यक्रम सञ्चालन भएको, वित्तीय साक्षरता बढेकोलगायत कारण धेरै बैंक खाता खुलेको राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले बताए ।
‘वित्तीय पहुँचको विस्तार राम्रो छ, प्रायः सबै कार्यालयमा बैंकमार्फत तलब भुक्तानी दिन थालिएको छ,’ उनले भने, ‘डिजिटल बैंकिङ कारोबार बढ्दो छ ।’ यसकारण पनि बैंकमा निक्षेप खाता संख्या बढेको उनको भनाइ छ ।
अहिले एउटै बैंक खाताबाट सबै कारोबार हुने गरे पनि आवश्यकता अनुसार धेरैवटा बैंकमा ग्राहकले खाता खोल्ने गरेको राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) देवेन्द्र रमण खनाल बताउँछन् । एक व्यक्तिको धेरै बैंक खाता हुनुले व्यक्तिको खर्च बढ्ने उनको भनाई छ ।
‘यदि कुनै बैंकमा ५०० रुपैयाँ न्यूनतम बचत हुनुपर्ने सिस्टम छ र अर्को बैंकमा पनि त्यस्तै छ । चारवटा बैंक खाता छ भने दुई हजार रुपैयाँ त त्यत्तिकै रहने भयो,’ खनालले भने, ‘नियमित चलाउने त एक वा दुईवटा मात्रै खाता हुन्छ ।’
उनका अनुसार, खाता खोलेपछि मोबाइल बैंकिङ, चेक, डेबिट कार्ड लिनुपर्ने हुन्छ । धेरैवटा बैंकमा खाता खोल्दा यी कुराको थप पैसा तिर्नुपर्छ ।
कर्जा खाता २० लाख बढी
गत आर्थिक वर्ष २०८२-८३ मा कर्जा खाताको संख्या २० लाख नाघेको छ । निक्षेप खाताको तुलनामा कर्जा खाता भने अति कम रहेको बैंकको तथ्यांकले प्रष्ट पारेको छ । बैंक तथा वित्तीय संस्थामा निक्षेप थुप्रिएको अनुपातमा कर्जाको माग उच्च नभएको भन्दै चिन्ता भइरहेको बेला एक वर्षमा कर्जा खाताको संख्या पनि केही बढेको पाइएको हो । विभिन्न बैंक तथा वित्तिय संस्थाहरुमा कर्जा खाताको संख्या २० लाख ३१ हजार ३६४ पुगेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख गरिएको छ ।
समिक्षा अवधिमा वाणिज्य बैंकहरुमा १७ लाख ९३४ कर्जा खाता रहेका छन् भने विकास बैंकमा २ लाख ६१ हजार ४४७ र वित्त कम्पनीमा ६८ हजार ९८३ रहेका छन् ।





प्रतिक्रिया