आर्थिक सङ्कटबीच इरानले अत्यधिक पेट्रोल खपत गर्ने उपभोक्ताका लागि मूल्य दोब्बर बनाएको छ । मङ्गलबारदेखि लागू नयाँ दर गत डिसेम्बरपछि गरिएको दोस्रो मूल्यवृद्धि हो ।
मासिक ११० लिटरको कोटाभन्दा बढी पेट्रोल खरिद गर्नेले अब प्रतिलिटर एक लाख रियाल तिर्नुपर्नेछ । सरकारले मूल्यवृद्धिबाट प्राप्त अतिरिक्त रकम घरपरिवारलाई उपलब्ध गराइने जनाएको छ ।
इरानमा पेट्रोलको मूल्य अझै विश्वकै न्यूनमध्ये रहे पनि कमजोर बन्दै गएको मुद्रा र घट्दो क्रयशक्तिले सर्वसाधारणमाथि थप दबाब परेको छ । राज्य तेल वितरण कम्पनीका प्रमुख कार्यकारी केरामत वेस करामीले नयाँ मूल्यले करिब १५ प्रतिशत उपभोक्तालाई असर गर्ने बताए ।
उनका अनुसार अगस्टमा पेट्रोलको दैनिक खपत १४ करोड ५० लाख लिटर पुगेको थियो भने घरेलु उत्पादन क्षमता १२ करोड २० लाख लिटर मात्र छ । विशेषज्ञहरूले पुराना सवारीसाधन र कमजोर सार्वजनिक यातायातका कारण खपत उच्च रहेको बताएका छन् । तर, वार्षिक मुद्रास्फीति करिब ६७ प्रतिशत रहेका बेला पेट्रोलको मूल्यवृद्धिले महँगी थप बढ्न सक्ने उनीहरूको भनाइ छ ।
सन् २०१९ को पेट्रोल मूल्यवृद्धिले इरानमा व्यापक प्रदर्शन निम्त्याएको थियो । पछिल्लो मूल्यवृद्धिपछि तेहरानका बासिन्दाले खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको मूल्यसमेत बढ्ने चिन्ता व्यक्त गरेका छन् । तेहरानका नागरिक हमिद मिर्जेले पेट्रोल महँगिएपछि सर्वसाधारणको जीवन थप कठिन हुने बताए ।





प्रतिक्रिया