अर्थतन्त्र सुस्त भएपनि शेयर बजार सूचकको दैनिक नयाँ रेकर्ड, लगानीकर्ताले के गर्ने ?

0
Shares

 

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण कुनै एक मुलुकको मात्र नभई विश्वकै अथर्ततन्त्र सुस्त अवस्थामा पुगेको छ । अधिकाशं देशहरुले कोरोना नियन्त्रणका लागि लकडाउन तथा निषेधाज्ञा लगाएपछि अर्थतन्त्रको उत्पादन तथा वितरणको संयन्त्र प्रभावित भयो । तर त्यसले विश्वका अधिकाशं शेयर बजारलाई भने सकारात्मक दिशातर्फ उन्मुख बनायो ।

पछिल्लो समयमा नेपालको अर्थतन्त्र पनि सुस्त नै रहेको तथा आर्थिक वृद्धि पनि न्यून हुने अनुमान गरिएको छ । तरपनि धितोपत्र बजार सूचकले हरेक दिन नयाँ उच्च बिन्दुको रेकर्ड बनाएको छ । त्यसैगरी छिमेकी मुलुक भारत तथा अन्य देशहरुमा पनि शेयर बजार सूचकहरुले ‘अल टाइम हाई’ मा पुगेको अवस्था छ ।

कोरोना भाइरसको त्रास सुरु हुँदा करिब ११ सयको हाराहारीमा रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक अहिले २२८६ अंकमा पुगेको छ । कोरोना सुरु भएयता शेयर बजार सूचक शतप्रतिशत भन्दा धेरैले बढेको छ । लगानीकर्ता तथा विश्लेषकले नेप्से सूचक यो वर्ष २५०० भन्दा माथि जाने अनुमान गरेका थिए । पछिल्ला दिनहरुको गतिविधिलाई हेर्दा नेप्से सूचकले त्यो बिन्दु निर्माण गर्नका लागि माघ महिना पूरा लाग्ने देखिँदैन ।

त्यसैगरी भारतीय रिजर्भ बैंक (आरबीआई) ले गत आर्थिक वर्षको आर्थिक वृद्धि ९ प्रतिशतले नकारात्मक हुने देखाएकोमा पछिल्ला दिनमा त्यसमा केही सुधार हुनसक्ने बताउँदै आएको छ । कोरोना भाइरस संगै आर्थिक गतिविधि पनि अघि बढाउने अभ्यास संगै भारतीय अर्थतन्त्र पनि केही चलायमा भएको अवस्था छ । त्यसले गर्दा आर्थिक अवस्थामा केही फरक हुनसक्ने अनुमान गरिएको छ ।

भारतीय अर्थतन्त्र नकारात्मक हुने भएपनि शेयर बजार सूचकहरु भने हालसम्मकै उच्च बिन्दुमा पुगेका छ । भारतका धितोपत्र बजारको सूचकहरु मुम्बइ स्टक एक्सचेन्ज सेन्सेक्स र नेशनल स्टक एक्सचेन्ज सूचक निफ्टीले पनि हालसम्मकै उच्च बिन्दु निर्माण गरेका छन् । नयाँ वर्ष अर्थात २०२१ सुरु भएसंगै ब्रोकरेज हाउस तथा एजेन्सीहरुले यो वर्षको अन्तिमसम्ममा सेन्सेक्स ५० हजार र निफ्टी १५ हजार पुग्ने अनुमान गरेका थिए । तर, भारतीय शेयर बजार सूचक नयाँ वर्षको पहिलो महिनामा नै यो बिन्दुमा पुग्ने देखिएको छ । नयाँ वर्ष २०२१ को जनवरी १३ मा नै सेनसेक्स ४९ हजार ७९५ र निफ्टी १४ हजार ६०० अंकमा पुगेका छन् ।

अधिकाशं देशको अर्थतन्त्रमा ऐतिहासिक गिरावट आएको अवस्थामा पनि धितोपत्रका सूचक भने पछिल्ला केही महिना देखि निरन्तर सुधारको गतिमा छन् ।

ब्लुम्बर्गको एक प्रतिवेदनका अनुसार पनि आर्थिक सुस्तताको समयमा पनि शेयरमा बजारमा आएको ऐतिहासिक उचाइले खतराको संकेत गरेको बुझिन्छ । त्यसो त विज्ञहरुले पनि शेयर बजारमा लगानी गर्दा होसियार हुन सुझाव दिइरहेको अवस्था छ ।
नेपाल, भारत मात्र नभई अमेरिका, जापान, बेलायत लगायतका मुलुकहरुमा पनि आर्थिक गतिविधमा सुस्ततासंगै शेयर बजारको सुधार देखिएको छ । कोरोनापछि यी मुलुकहरुमा पनि धितोपत्र बजार सूचकले नयाँ ऐतिहासिक उचाइ बनाएका छन् । अहिलेको अवस्थामा धितोपत्र बजारमा लगानी गर्ने लगानीकर्ताले आफुले खरीद गर्ने शेयर स्तरीय कम्पनीको छनोट गर्नुपर्ने देखिन्छ । त्यति मात्र नभई बढ्दो बजारमा लगानी गर्दै गर्दा जोखिम व्यवस्थापनमा विषेश सतर्कता अपनाउनुपर्ने विज्ञहरुको सुझाव छ । शेयर बजारमा लगानीकर्ताले कमाउने सिजनमा उचार तढाव आउने गर्छ ।

अहिलेको अवस्थामा कुनै पनि करेक्शन बिना नै बजार निरन्तर बढीरहेको अवस्थामा जोखिम झन् धेरै हुने गर्छ । अहिलेको अवस्थामा धितोपत्र बजारहरुमा करेक्शन आएको खण्डमा आगामी दिनमा लगानीकर्ताका लागि जोखिम कम हुने देखिन्छ ।
अहिले विश्वका अधिकाशं धितोपत्र बजारमा ओभरबटको अवस्था रहेको छ । आगामी दिनमा शेयर बजारका लगानीकर्ता उच्च उतारचढावका लाग तयार हुनुपर्ने देखिन्छ । अहिलेको अवस्थामा कुनै पनि शेयर बजार सूचक अझै माथि जाने अवस्था नभएको विज्ञहरुको भनाइ छ ।

कोरोना भाइरसका कारण बिग्रेको अर्थतन्त्रको उत्पादन तथा वितरणको संयन्त्रलाई सन्तुलन कायम गर्नका लागि अधिकाशं देशमा नियामक निकायले वित्तीय प्रणालीमा तरलतालाई केही खुकुलो बनाएको अवस्था छ । त्यसका साथै कोरोना प्रभावितका लागि राहत प्याकेज समेत आएको अवस्था छ । त्यसले गर्दा कोरोनका कारणले लगानीका अन्य क्षेत्र नहुनु र बैंक वित्तीय संस्थाले पनि कर्जा प्रवाह गर्न नसक्दा ब्याजदरमा आएको गिरावटले शेयर बजार बढ्नलाई थप मद्दत गरेको हो ।

प्रविधिमा आधारित शेयर कारोबारले लगानीकर्तालाई कोरोना समयमा पनि खरीद बिक्रीमा समस्या नभएको अवस्था छ । त्यसका साथै अर्थतन्त्रका अन्य क्षेत्र गतिहीन भएपछि सबै क्षेत्रको पैसा धितोपत्र बजारमा जाँदा विश्वव्यापी रुपमा शेयर बजार सकारात्मक भएको हो । यस्तो अवस्थामा आर्थिक गतिविधि बढ्ने तथा अन्य क्षत्रेमा पनि लगानी विस्तार हुने वातावरण निर्माण भएलगत्तै शेयर बजारको करेक्शन निश्चित छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: ३ माघ २०७७, शनिबार  १७ : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।