.png)
रोजगारीको खोजीमा रहेका शिक्षित युवा र सक्षम जनशक्तिको खोजीमा रहेका रोजगारदाता कम्पनीबीच एउटै थलोमा अन्तक्रिया गर्ने लक्ष्यसहित बिहीबारबाट सुरु भएको नेपाल जब फेयर २०२१ भव्यताका साथ सम्पन्न भएको छ ।
एस्पायर जब्सको आयोजनामा मुलुकमै पहिलो पटक भएको जब फेयरमा सय भन्दा बढी रोजगारदाताको प्रत्यक्ष सहभागिता रह्यो भने झण्डै १ लाख ५० हजार जनाभन्दा बढी प्रत्यक्ष तथा भर्चुअल माध्यम मार्फत जब फेयरमा जोडिएका थिए । जब फेयर समापन भएपनि रोजगार चाहनेहरुले भर्चुअल माध्यमबाट रोजगारदातासंग जोडिने क्रम भने आगामी केही दिनसम्म चल्नेछ ।
बिहीबारबाट सुरु भई तीनदिनसम्म सञ्चालन भएको जब फेयरको दोस्रो दिन (शुक्रबार) र अन्तिम दिन (शनिबार) गरी १५० हाराहारीमा अन्तरवार्ता सेसन सञ्चालन भएको थियो । उक्त दुई दिनको अन्तरवार्ता सेसनमा ७२४ जना सहभागी भएका थिए भने त्यसमध्ये ५११ जनाले जब फेयरकै समयावधिमा जागिर पाउन सफल भएका छन् ।
यसको अलवा जब फेयर २०२१ मार्फत रोजगारदाता र करिअर प्लानमा रहेका युवाबीच प्रत्यक्ष अन्तरक्रिया भई व्यावसायिक र पारदर्शी मानव संशाधन अभ्यासको सूत्रपात गर्ने लक्ष्यलाई सार्थकतामा पु¥याइएको आयोजक एस्पायर जब्सले जनाएको छ ।
यस्तै, फेयरले प्रविधिका माध्यमबाट युवा उद्यमशीलताको विकास गर्ने तथा मानव संशाधन क्षेत्रलाई थप गतिशील र विश्वसनीय बनाउने कुरामा भूमीका निर्वाह गरेको बताइएको छ ।
पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गरेका जब फेयरमा अर्थ-राजनीतिक विष्लेषक हरि रोका र रोजगार विज्ञ प्रा. डा. रमेशप्रसाद कोइरालाले कि नोट स्पिकरका रुपमा आफ्नो धारणा राखेका थिए । यस्तै, पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्य, नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी प्रमुख कुलमान घिसिङ, त्रिभुवन विश्वविद्यालयका प्रा.डा. कुसुम शाक्य लगायतकाले नेपालमा रोजगारीका सम्भावना र जनशक्ति विकासबारे प्रकाश पारेका थिए ।
एस्पायर जब्सका अध्यक्ष प्रकाश गैरेले नेपालमा रोजगारीका प्रशस्त सम्भावना रहेपनि बेरोजगारी बढ्नुमा असन्तुलित श्रम बजार नै प्रमुख कारण रहेको बताए। जब फेयरले रोजगारदाता र रोजगारी चाहनेलाई एउटै थलोमा ल्याएर कुन क्षेत्रमा कस्ता प्रकारका जनशक्ति आवश्यक छ भन्ने कुरालाई उजागर गरेको उनको भनाइ छ । यसले आगामी दिनमा सरकारलाई पनि त्यस अनुरुप नीति नियम तर्जुमा गर्न सहयोग पुग्ने उनले अपेक्षा गरे।
यस्तै एस्पायर जब्सका उपाध्यक्ष प्रमोश अधिकारीले भने, “नेपालमा रोजगारदाता र बेरोजगार युवाबीच ठूलो ग्याप छ, त्यो ग्यापलाई पूरा गर्नु नै जब फेयरको उदेश्य हो । “जब फेयरमार्फत वेरोजगार युवाले पनि रोजगारदाता कम्पनीसमक्ष खुलेर आफ्नो क्षमता प्रस्तुत गर्न सक्ने र रोजगारदाता कम्पनीहरुले पनि आफूलाई अहिले आवश्यक र भविष्यमा चाहिने जनशक्तिको छनोट गर्न सक्नेगरी हामीले वातावरण बनाएका हौं । उनका अनुसार जब फेयरले मानव संशाधनका क्षेत्रमा स्वस्थ प्रतिस्पर्धा र रचनात्मक अभ्यासको सिर्जना गर्ने कुरालाइृ स्थापित गरेको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया