काठमाडौँ । यो साता सेयर बजार परिसुचक नेप्से सामान्य उतारचढावका बीच स्थिर जस्तै रह्यो । गत साताको अन्तिम कारोबार दिनको २५४५.७३ अंकको तुलनामा यस साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ०.७९ अंकले घटेर २५६०.२९ अंकमा रोकिएको छ ।
साताको सुरुवात आइतबार नेप्से ५.१५ अंकले घटेर २५४०.५७ अंकमा पुगेको थियो । यद्यपि, सोमबार र मंगलबार बजारले सुधारको गति लियो । सोमबार ९.७८ अंक र मंगलबार १५.७० अंकले बढेर नेप्से साताको उच्च बिन्दु २५६६.०७ अंकमा पुगेको थियो । तर, बुधबार ४.९८ अंकले र बिहीबार ०.७९ अंकले नेप्से घटेपछि बजारले यस साता ठूलो फड्को मार्न सकेन । समग्रमा बजार यो साता १४.५६ अंकले बढेको छ ।
कुन दिन कतिको कारोबार भयो
नेप्सेमा देखिएको सामान्य उतारचढावका बाबजुद यो साता कारोबार रकममा भने निरन्तर वृद्धि देखियो, जसले बजारमा लगानीकर्ताको सक्रियता बढेको संकेत गर्छ । साताको सुरुवातमा आइतबार ३ अर्ब ८९ करोड रुपैयाँको किनबेच भएकोमा, सोमबार ३ अर्ब ९४ करोड र मंगलबार ४ अर्ब १० करोड रुपैयाँभन्दा बढीको कारोबार भयो । बुधबार कारोबार रकम घटेर ३ अर्ब ७७ करोड रुपैयाँमा झरे पनि, साताको अन्तिम दिन बिहीबार कारोबार रकममा उल्लेख्य वृद्धि भयो र ४ अर्ब ६८ करोड ८८ लाख रुपैयाँको कारोबार भयो, जुन यस साताकै सबैभन्दा उच्च कारोबार हो ।
देशमा देखिएको राजनीतिक अनिश्चितताले गर्दा लगानीकर्ताहरुमा आशा भन्दा पनि डर हावी भएको कारण बजार लगातार घटेको ब्रोकर एसोसिएसनका पुर्व अध्यक्ष भरत रानाभाटको भनाई छ । उनका अनुसार, “अर्थतन्त्रमा बाह्य क्षेत्र र वित्तीय नीतिहरुमा गरिएको सुधार आफैँमा महत्त्वपूर्ण छ । तर पूँजी बजार विश्वासले चल्छ ।” देशभर आन्दोलन हुँदा, व्यापारिक गतिविधिमा अवरोध हुँदा र राजनीतिक भविष्य अनिश्चित हुँदा लगानीकर्तामा डरको वातावरण सिर्जना हुने र यो डर हटाउन नीतिगत सुधारले तत्काल काम नगर्ने उनको बुझाई छ ।
राजनीतिक अस्थिरताले लगानीकर्ताको मनोबलमा गम्भीर चोट पु¥याएको सेयरबजारका जानकार छोटेलाल रौनियार बताउँछन् । साथै उनले राष्ट्र बैंकले अरु नीतिहरु खुकुलो गरेपनि बैंकहरुलाई धेरै नीतिहरुमा कडाई गरेको कारणले गर्दा पनि बजार घटेको बताए । रौनियारले भने, “पहिले बैंकले सेयर बिक्री गर्न पाउँथ्यो लगानीकर्ताले किन्न पाउँथे । तर त्यो पनि राष्ट्र बैंकले बन्द गरेको छ । जसले गर्दा बैंकहरुले लगानी गर्न पाएका छैनन् । यसले पनि बजारमा गिरावट आएको हो ।” तर रौनियारले केही दिनको अन्यौलताले बजार घटे पनि बजारमा लगानी गर्नको लागि अहिले उचित समय भएको बताए । उनले भने, “सेयर बजारमा रिक्स त सधैं हुन्छ तर अहिलेको बजारमा २५ प्रतिशत मात्र रिक्स छ भने ७५ प्रतिशत फाइदा नै हुने देखिएको छ । यसको लागि लगानीकर्ताले धैर्य भएर दीर्घकालीन सोच राखेर लगानी गर्नुपर्छ ।” बजार घटेको समयमा नै राम्रो राम्रो कम्पनीहरुको सेयर खरिद गरेर आम्दानी कमाउने मौका भएको दाबी गर्दै उनले भने, “बजार घटेको समयमा नै लगानी गर्नुपर्छ ।”
कुन दिन कुन कम्पनीको सेयर सबैभन्दा बढी बढ्यो
यस साता बजारमा जलविद्युत, केबलकार र डिस्टीलरी क्षेत्रका केही नयाँ कम्पनीहरूको सेयर मूल्यमा उच्च आकर्षण देखियो । सागर डिस्टीलरी, बुङगल हाइड्रोपावर, बन्दीपुर केबलकार, झापा इनर्जी, र माबिलुङ इनर्जी जस्ता कम्पनीहरूले प्रायः हरेक दिन सकारात्मक सर्किट लागेको थियो । यसले लगानीकर्ताहरूको ध्यान नयाँ सूचीकृत र केही जलविद्युत कम्पनीहरूमा केन्द्रित भएको देखाउँछ ।
आइतबार सागर डिस्टीलरी, बुङगल हाइड्रो, बन्दीपुर केबलकारको सेयर मूल्य १० प्रतिशतले बढेको थियो ।
सोमबार बन्दीपुर केबलकार, सागर डिष्टिलरी, बुंगल हाइड्रोपावर र झापा इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो ।
मंगलबार सागर डिस्टीलरी र माबिलुङ इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा बुङगल हाइड्रो, झापा इनर्जी र बन्दीपुर केबलकारको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको थियो ।
बुधबार माबिलुङ इनर्जी र दरमखोला हाइड्रो इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो । सागर डिस्टीलरी, हिमस्टार ऊर्जा र बुङगल हाइड्रोको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको थियो ।
बिहीबार धौलागिरी लघुवित्त, बन्दीपुर केबलकार, झापा इनर्जी र सागर डिष्टिलरीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
कुन दिन कुन कम्पनीको सेयर मूल्य सबैभन्दा बढी घट्यो
आइतबार र सोमबार भुगोल इनर्जीको सेयर मूल्यमा नकारात्मक सर्किट लाग्यो भने बिहीबार बुङ्गल हाइड्रोको सेयर मूल्यमा ९.०५ प्रतिशतको गिरावट आयो ।
आइतबार भुगोल इनर्जीको नकारात्मक सर्किट लागेको छ । रुरु जलविद्युत परियोजनाको सेयर मूल्य ९.५२ प्रतिशतले घटेको बजारमा दरमखोला हाइड्रो इनर्जीको सेयर मूल्य ६.०९ प्रतिशत, पिपुल्स हाइड्रोपावरको सेयर मूल्य ५.२३ प्रतिशत र माबिलुङ इनर्जीको सेयर मूल्य ४.३७ प्रतिशतले घटेको छ ।
सोमबार भूगोल इनर्जीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको थियो ।
मंगलबार कुमारी सबल योजनाको सेयर मूल्य ३.४९ प्रतिशतले घटेको बजारमा हिमालयन पावर पाटनरको सेयर मूल्य २.७८ प्रतिशतले घटेको छ ।
बुधबार कर्पाेरेट विकास बैंकको सेयर मूल्य ६.०३ प्रतिशतले घटेको छ ।
बिहीबार बुङ्गल हाइड्रोको सेयर मूल्य ९.०५ प्रतिशतले घटेको छ ।
कुन कम्पनीको कतिको कारोबार भयो
कारोबार रकमको आधारमा साहस ऊर्जाले ४१ करोड ८० लाख रुपैयाँको कारोबार गरेर शीर्षस्थानमा रह्यो भने बरुण हाइड्रोपावर र एसबिएल डिभेन्चर २०८९ पनि ठूलो कारोबार हुने कम्पनीको सूचीमा परेका थिए ।
आइतबार २८ करोड ९० लाख ७३ हजार रुपैयाँको कारोबार सहित १०.७५ प्रतिशत एसबिएल डिभेन्चर २०८९ शीर्षस्थानमा रहेको थियो । सोमबार साहस ऊर्जाले सबैभन्दा बढी १८ करोड रुपैयाँको कारोबार भएको थियो । मंगलबार कारोबार रकमको आधारमा साहस ऊर्जा २२ करोड ९१ लाख ६६ हजार रुपैयाँको कारोबार सहित शीर्षस्थानमा रहँदा बुधबार कारोबार रकमको आधारमा २७ करोड ४० लाख ४४ हजार रुपैयाँको कारोबार सहित बरुण हाइड्रोपावर शीर्षस्थानमा रहेको थियो ।
बिहीबार साहस ऊर्जा ४१ करोड ८० लाख ८३ हजार रुपैयाँको कारोबार गरेको छ ।
कुन दिन कति कायम भयो त बजार पूँजीकरण
यस साताको कारोबारसँगै कुल बजार पूँजीकरण पनि सामान्य बढेर बिहीबार ४२ खर्ब ९८ अर्ब ७८ करोड रुपैयाँ कायम भएको छ, जसले समग्र सेयर बजारको आकारमा सामान्य वृद्धि भएको पुष्टि गर्छ ।
गत साताको कारोबारको अन्तिम दिन बिहीबार बजार पूँजीकरण ४२ खर्ब ७३ अर्ब १४ करोड ७६ लाख रुपैयाँ कायम भएको थियो । आइतबार कुल बजार पूँजीकरण ४२ खर्ब ६४ अर्ब ५० करोड ८ लाख रुपैयाँ कायम भएको थियो ।
मंगलबार कुल बजार पूँजीकरण ४३ खर्ब ८ अर्ब ४९ करोड २९ लाख रुपैयाँ कायम भएको थियो ।
बुधबारको कारोबारसँगै कूल बजार पूँजीकरण ४३ खर्ब १२ करोड ४ लाख रुपैयाँ कायम भएकोमा बिहीबार कुल बजार पूँजीकरण ४२ खर्ब ९८ अर्ब ७८ करोड ४० लाख रुपैयाँ कायम भएको छ ।












प्रतिक्रिया