पुननिर्माण कोषमा लाइफ इन्स्योरेन्सको एक करोड एक लाख र एफवान समूहको ७५ लाख सहयोग


काठमाडौँ । नेपाल सरकारद्वारा स्थापित भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडले एक करोड एक लाख रुपैयाँ सहयोग गरेको छ ।
 अर्थ मन्त्रालयमा उक्त रकम बराबरको भौचर कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रणय कुमारले अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई बुझाएको मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयले जानकारी दिए।
यसअघि मङ्सिर ३ गते एफवान सफ्ट ग्रुपअन्तर्गत एफवान सफ्ट इन्टरनेसनल, इसेवा लिमिटेड तथा फोनपे पेमेन्ट सर्भिस लिमिटेडका कर्मचारी तथा कम्पनीहरूको संयुक्त योगदानस्वरूप ७५ लाख रुपैयाँ कोषमा जम्मा गरिएको थियो ।
दुवै संस्थाको योगदानप्रति सरकारका तर्फबाट अर्थमन्त्री खनालले विशेष आभार व्यक्त गर्नुभएको छ । कोषमा आजसम्म नौ करोड ३० लाख रुपैयाँ जम्मा भएको जनाइएको छ ।

प्रकाशित मिति: ८ मंसिर २०८२, सोमबार  ०७ : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।