काठमाडौँ । पछिल्ला वर्षहरूमा सुनको मूल्य अत्याधिक बढेसँगै सुन आयातमा कमी आएको छ । भन्सार विभागको तथ्यांकले मूल्य बढ्दै जाँदा सुनको आयात घट्दै गएको देखाएको छ ।
आव २०७८/७९ मा १४ अर्ब ९५ करोड ५० लाख रुपैयाँ बराबरको २१ लाख ७७ हजार किलोग्राम सुन आयात भएको थियो । जबकी चालु आवको कात्तिकसम्ममा त्यो घटेर ९ लाख २ हजार केजीमा सीमित भएको छ । जुन ५८.५६ प्रतिशतको गिरावट हो । पाँच वर्ष अगाडिको तुलनामा यस वर्ष १२ लाख ७५ हजार किलोग्राम कम सुन आयात भएको हो ।
पछिल्लो समय सुनको मूल्य बढ्दै जाँदा ग्राहकहरूले घरमा किनेर राखेको सुन पनि बजारमा बेच्न थालेका छन् । जसले गर्दा सुनको एकातिर माग घटेको छ भने अर्काेतिर आयात पनि घटेको सुनचाँदी व्यवसायीहरू बताउँछन् ।
सुन परिमाणमा कम आयात भए पनि मूल्यमा भने ७६ करोड ६१ लख रुपैयाँ बढी आयात भएको विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।
यस्तै पाँच वर्षमा ४८ अर्ब २६ करोड ३७ लाख रुपैयाँ बराबरको ५३ लाख २९ हजार ११० किलोग्राम सुन आयात भएको छ । उक्त परिमाणमा सुन आयात गर्दा ५ अर्ब ८८ करोड ८८ लाख रुपैयाँ राजश्व संकलन भएको छ ।
नेपालमा विभिन्न रितिरिवाजमा गरगहनाहरूका रुपमा सुनको प्रयोग हुने गर्छ । जसले गर्दा नेपालमा सुनको महत्व धेरै हुनका साथै यसको खपत नेपालमा हुने गरेको छ ।
सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले भने, ‘विगतका वर्षहरुमा बढी मात्रामा सुनको माग हुन्थ्यो, मूल्य बढेकै कारण अहिले माग नै घटेको छ ।’
मुल्य बढेसँगै सुन बेच्न चाहनेको संख्या पनि बढेकाले सुनको आयात कम भएको उनको भनाइ छ । ‘घरमा राखिएको सुन बजारमा आएकाले ढिक्का सुनको आयात कम भयो,’ उनले भने ।
पछिल्लो समय विदेशबाट फर्किदा सुन लिएर आउने चलनले बैंकमार्फत हुने सुनको कारोबारमा कमी आएको बज्राचार्यको भनाइ छ ।
अन्तर्राष्ट्रिय बजारमा एकपछि अर्को उचाइ लिएसँगै नेपालमा पनि सुनको मूल्यले रेकर्ड बनाईरहँदा सुनको माग घटेको सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मणिकरत्न शाक्य बताउँछन् ।
‘अन्तरराष्ट्रिय बजारमा सुनको माग बढी हुँदा मूल्य बढेको र त्यसको प्रतिकुल असर नेपालमा परेको हो ।’ उनले भने । मूल्य अत्याधिक बढ्दा नेपालीहरुले सुनको माग नै कम गरेका हुन् ।
कुन वर्ष कति भित्रियो सुन ?
चालु आर्थिक वर्षको पहिलो चार महिना (साउन–कार्तिक )मा ९ लाख २ हजार किलो सुन आयात भएको छ । विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार १५ अर्ब ७२ करोड ११ लाख रुपैयाँ बराबरको सुन आयात भएको हो । उक्त सुन आयातबाट १ अर्ब ५७ करोड २१ लख रुपैयाँ राजस्व संकलन भएको तथ्यांकमा उल्लेख गरिएको छ ।
गत आवको सो अवधीको तुलनामा यो वर्षको सुन आयातमा वृद्धि भएको छ । गत वर्षको तुलनामा यो वर्ष ७ लाख ६९ हजार ४३६ किलोग्राम बढी सुन आयात भएको हो ।
गत आव २०८१/८२ को चार महिनामा १ लाख ३२ हजार ५६४ किलोग्राम मात्र सुन आयात भएको थियो । सो परिमाण सुन आयात गर्दा नेपालले १ अर्ब ४२ करोड ७५ लाख रुपैयाँ बुझाएको हो ।
त्यसैगरी, आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा ८ अर्ब २० करोड ८१ लाख रुपैयाँ बराबरको १० लाख किलोग्राम सुन आयात भएको थियो । आव २०७९/८० मा ११ लाख १६ हजार किलोग्राम सुन ७ अर्ब ९५ करोड १८ लाख रुपैयाँमा आयात गरिएको विभागको तथ्यांकमा उल्लेख गरिएको छ । त्यस्तै, आव २०७८/७९ मा १४ अर्ब ९५ करोड ५० लाख रुपैयाँ बराबरको २१ लाख ७७ हजार किलोग्राम सुन आयात भएको थियो ।
पाँच वर्षमा १ लाख ५० हजारले बढ्यो सुनको भाउ
विगत पाँच वर्षमा सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ९०० रुपैयाँले बढेको छ ।
२०७८ मंसिर ८ गते नेपाली बजारमा प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन २०८२ मंसिर ८ मा २ लाख ४२ हजार ७०० रुपैयाँ पुगेको संघले जनाएको छ ।
अहिले नेपालमा ढिक्का सुनको कारोबार बैंकहरुले मात्रै गर्न पाउने व्यवस्था रहेको महासचिव बज्राचार्यले बताएका छन् । बैंकहरुले सुनको कारोबार गर्न चाहेमा नेपाल राष्ट्र बैंकलाई निवेदन दिएर स्वीकृति पाएपछि मात्र आयात गर्न सकिने उनले बताए ।












प्रतिक्रिया