अविरल वर्षा तथा बाढी–पहिरोबाट प्रभावित बीमितलाई करिब १ करोड १४ लाख रुपैयाँ भुक्तानी


देशका विभिन्न क्षेत्रमा २०८२ साल असोज १८ गतेयता परेको अविरल वर्षा तथा बाढी–पहिरोका कारण क्षतिग्रस्त संरचना तथा सम्पत्तिहरूबीच हालसम्म ७४४ वटा प्रारम्भिक बीमा दाबी दर्ता भएका छन्। दाबी गरिएको कूल करिब ३ अर्ब ७७ करोड ४२ लाख रुपैयाँ मध्ये हालसम्म करिब १ करोड १४ लाख बीमितलाई भुक्तानी गरिएको नवीनतम विवरणले जनाएको छ।

विभिन्न १३ निर्जीवन बीमा कम्पनी र २ लघु निर्जीवन बीमा कम्पनीहरूले उपलब्ध गराएको अद्यावधिक विवरणअनुसार, सम्पत्ति बीमा तर्फ दर्ता भएका ४०५ दाबीको करिब ३ अर्ब २१ करोड ५० लाख रुपैयाँ मध्ये हालसम्म करिब ६४ लाख रुपैयाँ भुक्तानी गरिएको छ। त्यस्तै, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ १०४ दाबीमा करिब ४७ करोड ६६ लाख रुपैयाँ दाबी रकम रहेकोमा करिब १ लाख ५४ हजार रुपैयाँ भुक्तानी भएको छ।

कृषि तथा बाली बीमातर्फ २१० दाबीको करिब ४ करोड १४ लाख रुपैयाँ मध्ये करिब १ लाख रुपैयाँ र मोटर बीमा (निजी) तर्फ ४० दाबीमा करिब २ करोड ८२ लाख रुपैयाँ मध्ये हालसम्म करिब ४८ लाख रुपैयाँ बीमितलाई प्रदान गरिएको छ।

यता मोटर बीमा (सार्वजनिक) तर्फका १० दाबीमा करिब १ करोड ८ लाख रुपैयाँ, अन्य बीमातर्फका २ दाबीमा करिब १२ लाख रुपैयाँ र सामुद्रिक बीमातर्फका ३ दाबीमा करिब १० लाख रुपैयाँ बराबरको दाबी रकम हालसम्म भुक्तानी प्रक्रिया सुरु नभएको बीमा क्षेत्रका अधिकारीहरूले जनाएका छन्।

बीमा कम्पनीहरूले क्षति मूल्यांकनका कार्य तीव्र बनाउँदै अवशेष दाबीहरू पनि चाँडो भुक्तानी प्रक्रिया अघि बढाइने प्रतिवद्धता व्यक्त गरेका छन्।

प्रकाशित मिति: १२ मंसिर २०८२, शुक्रबार  १० : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।