अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा, नेपाललाई कस्तो असर गर्छ ?


काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । यस्तै, यूरो, पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, अष्ट्रेलियन डलरलगायतका विदेशी मुद्राको भाउ पनि बढेको छ ।

निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ५० पैसा र बिक्रीदर १४४ रुपैयाँ १० पैसा निर्धारण गरिएको छ । अमेरिकी डलर बलियो बन्दा नेपाली रुपैयाँ स्वतः कमजोर हुने हुँदा पनि यसले मुलुकको अर्थतन्त्रलाई प्रत्यक्ष असर पर्ने अर्थविद्हरु बताउँछन् ।

अमेरिकी केन्द्रीय बैंकले ब्याजदर बढाएपछि डलर लगानीको पनि आकर्षक स्रोत बनेको छ । यही कारणले गर्दा डलरको उकालो यात्रा जारी छ । डलरको उकालो यात्रा तय हुँदा संसारका मुख्य मुद्रा कमजोर बनेका छन् ।

डलर बढ्दा नेपालमा पर्ने असर

अमेकिरीकी डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर हुँदा नेपालमा मूल्यवृद्धि झनै बढ्छ । नेपालले पेट्रोलियम पदार्थ, खाद्यान्न, आद्योगिक कच्चा पदार्थ लगायतका अधिकांश वस्तु आयात गर्ने हुँदा डलर महङ्गिदा यी वस्तुहरुको मूल्य बढ्छ । जसको प्रत्यक्ष असर आम उपभोक्तामा पर्छ । नेपाल पूर्ण रुपमा आयातमा निर्भर हुँदा र निर्यात नगन्य हुने भएकोले डलर महँगो हुँदा व्यापार घाटा विस्तार हुने जस्ता असर पर्ने नेपाल राष्ट्र बैंकका पूर्व प्रवक्ता किरण पण्डितले बताएका छन् ।

निर्यात नगन्य भएकाले डलरको भाउ बढ्दा रेमिट्यान्स बाहेक अरु कुनै पनि लाभ नहुने उनको भनाई छ । डलरको भाउ बढ्दा यसको असर आयातमा देखिएको छ । आयातमा प्रति युनिट मूल्यमा अत्याधिक वृद्धि भएको छ । मूल्यवृद्धिको असर प्रत्येक भान्सासम्म पुग्छ ।

डलरमा भएको वृद्धिले नेपाल सरकारको ऋण व्ययभार थपिने र यसले देशको अर्थतन्त्र नै नराम्ररी प्रभावित हुने बताउँदै, उनले भने, ‘नेपालको कुल ग्राहस्र्थ उत्पादनको करिब आधा त ऋण नै रहेको छ । जसमा केही आन्तरिक र केही बाह्य छ । नेपालले विदेशी ऋणको सावाँ र ब्याज डलरमा तिर्नुपर्ने हुँदा ऋण तिर्न भनी बजेटमा छुट्ट्याएको रकम अपुग हुनसक्छ ।’ नेपालले तिर्नुपर्ने ऋणको दायित्व बढ्न जान्छ ।

यसका साथै विकास आयोजनाको लागि आवश्यक पर्ने निर्माण सामग्री तथा उपकरण आयात गर्दा लागत बढ्नेर आयोजनाको बजेट र समयमा असर पर्ने अर्थविद्हरु बताउँछन् । यस्तै आयातमा आधारित व्यवसाय गर्नेहरुलाई कच्चा पदार्थको मूल्य बढ्दा उत्पादन लागत बढ्छ, जसले नाफा आर्जनमा पनि असर गर्छ ।

डलरको भाउ बढ्दा नेपाललाई के फाइदा हुन्छ ?

अमेरिकी डलरको भाउ बढ्दा निर्यात हुने वस्तु, पर्यटन र रेमिट्यान्सबाट फाइदा हुने प्रवक्ता पण्डितले बताए । नेपाली रुपैयाँ सस्तो हुँदा नेपाली वस्तु विदेशीहरूका लागि आकर्षक बन्न पुग्छ । डलरको भाउ बढ्दा विदेशी पर्यटकको लागि नेपाल सस्तो गन्तव्य बन्न सक्छ, जसले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्छ । यसरी आउने पर्यटकले खर्च गरेमा नेपाललाई फाइदा पुग्ने पण्डितको भनाई छ ।

त्यस्तै, विदेशमा हुने नेपालीले काम गरेको रकम नेपाल पठाउँदा पनि डलर मूल्य वृद्धिको लाभ हुने देखिन्छ । कयौँ नेपालीले विदेशमा कमाएको पैसा विदेशी मुद्रामा नेपाल पठाउँछन् । डलरको भाउ बढेको समयमा यसरी पठाउने रकमको परिमाण बढ्न सक्छ । विप्रेषण आयमा वृद्धि हुँदा नेपालको अर्थतन्त्र बलियो हुने देखिन्छ ।

अन्तर्राष्ट्रिय बजारमा डलर र सुनबीच परस्पर विरोधी सम्बन्ध हुन्छ । दुवैलाई लगानीको आकर्षक सम्पत्तिका रूपमा लिइन्छ ।

अर्थविदुहरुले डलरको भाउ नियन्त्रण गर्न र यसका नकारात्मक असरहरु कम गर्न सरकार र नेपार राष्ट्र बैंकलाई तत्काल ठोस कदम चाल्न सुझाव दिएका छन् । आयात प्रतिस्थापन, निर्यात प्रवद्र्धन, विदेशी लगानी आकर्षित गर्ने र गैर आवश्यक वस्तुको आयातमा कडाई गर्ने जस्ता उपायहरुमाथि तत्काल ध्यान दिनुपर्ने आवश्यकता अर्थविद्हरुले औंल्याएका छन् ।

सामान्यतया अमेरिकी डलर कमजोर भएको बेला लगानीकर्ता सुनतिर आकषिर्त भई सुनको मूल्य उकालो लाग्ने गर्छ । सुनको माग र आपूर्ति बीचको सन्तुलनले पनि मूल्यलाई तलमाथि पु¥याउँछ । अमेरिकी अर्थतन्त्रमा सुधार देखिने बित्तिकै डलर बलियो हुनगई लगानीकर्ताको ध्यान क्रमशः सुनबाट हट्न थाल्छ र भाउ घट्छ ।

सुन र त्यसको अन्तर्राष्ट्रिय मूल्यको यस्तो चरित्र नेपालको हकमा भने सही ठहरिँदैन । नेपालमा सुनको भाउ अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरमा कायम हुने मूल्यमा भर गर्छ ।

प्रकाशित मिति: १७ मंसिर २०८२, बुधबार  ०६ : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।