कफी व्यापार : पाँच वर्षमा निर्यातको ४३ प्रतिशत बढी आयात


काठमाडौँ । नेपाली बजारमा कफीको माग बढेसँगै कफी आयात पनि बढीरहेको छ । पछिल्लो पाँच वर्षमा नेपालमा निर्यातको ४३‍.८४ प्रतिशत बढी कफी आयात भएको छ ।

भन्सार विभागका अनुसार पाँच वर्षको अवधीमा १३ करोड ६१ लाख ८६ हजार रुपैयाँ बराबरको ३ लाख ५४ हजार किलोग्राम कफी निर्यात हुँदा ५ करोड ९७ लाख रुपैयाँ बढी आयात भएको हो । सो अवधीमा आयात भने १९ करोड ५८ लाख ९९ हजार रुपैयाँको भएको हो ।

पछिल्लो समय नेपालमा कफी संस्कृतिको रूपमा विकास हुँदै गइरहेको छ । केही समय अघिसम्म उच्च वर्गको मात्र पेय पदार्थको रूपमा लिइने कफी पछिल्लो समय हरेक भान्साको शोभा बनिसकेको छ । विशेषगरी शहरी क्षेत्रमा बढ्दो कफी संस्कृतिले गर्दा कफीको आन्तरिक बजारमा पनि व्यापक वृद्धि भएको देखिन्छ ।

कुन वर्ष कति भयो आयात/निर्यात ?

चालु आर्थिक वर्ष २०८२/८३ को चार महिनामा नेपालमा विभिन्न मुलुकबाट ३ करोड ६१ लाख रुपैयाँ बराबरको ५५ हजार ९७१ किलोग्राम कफी आयात भएको छ । सो परिमाणको कफी आयात हुँदा १० करोड ६० लाख ७४ हजार रुपैयाँ राजस्व संकलन भएको विभागको तथ्यांकले जनाएको छ । सोही समयमा नेपालबाट भने ३ करोड ३४ लाख १३ हजार रुपैयाँ बराबरको १७ हजार ९९४ किलोग्राम मात्र कफी निर्यात भएको हो ।

आव २०८१/८२ को चार महिनामा नेपालमा ४ करोड २१ लाख ६१ हजार रुपैयाँको ६२ हजार ६२० किलोग्राम आयात हुँदा २ करोड ४५ लाख ३६ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । सो समयमा ३ करोड ३२ लाख ५७ हजार रुपैयाँको १८ हजार ४६४ किलोग्राम मात्र निर्यात भएको थियो ।

आव २०८०/८१ मा ६ करोड ९६ लाख १७ हजार रुपैयाँको १ लाख ६ हजार किलोग्राम कफी आयात गर्दा ४ करोड ६ लाख रुपैयाँ राजस्व संकलन भएको थियो भने १ करोड ५५ लाख ३६ हजार रुपैयाँ बराबरको ११ हजार २८३ किलोग्राम मात्र निर्यात भएको थियो ।

आव २०७९/८० मा २ करोड ८४ लाख ३५ हजार रुपैयाँको ७ लाख ९३ हजार केजी आयात हुँदा २ करोड १३ लाख ९१ हजार रुपैयाँको १२ हजार ७४८ केजी मात्र निर्यात भएको थियो भने आव २०७८÷७९ मा १ करोड ९५ लाख ८७ हजार रुपैयाँको ४९ हजार केजी आयात हुँदा ३ करोड २५ लाख ८९ हजार रुपैयाँको १९ हजार केजी निर्यात भएको विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।
स्वाद र गुणस्तरका हिसाबले नेपालको कफी उत्कृष्ट रहेको हुनाले अन्य मुलुकमा नेपाली कफीको माग भएको नेपाल कफी व्यवसायी महासंघका अध्यक्ष ओमनाथ अधिकारीले बताएका छन् ।

‘यसरी नेपालीहरुले आफ्नो उत्पादनको मूल्य पाउनका लागि बाहिर निर्यात गर्ने गर्छन्, यसो हुँदा नेपाली कफी नेपालमा खपत नभई बाहिर जान्छ, केही मात्रामा रहेको कफीले नेपाली बजारको माग पूरा गर्न नसक्दा बाहिरबाट आयात गर्नुपरेको हो ।’ अध्यक्ष अधिकारीले भने ।

नेपाली कफी स्पेसियालिटी कफीको रूपमा परिचित छ । नेपाली कफीले अन्तर्राष्ट्रिय बजारमा स्वाद र गुणस्तर हिसाबले बढी मूल्य प्राप्त गर्दै आएको उनको दाबी छ ।

दिनहुँ कफी माग उच्च दरले बढे पनि आन्तरिक उत्पादनले माग धान्न नसक्ने अवस्था छ । प्रयोगकर्ताको माग बढ्नु, युवाको प्राथमिकतामा पर्दै जानु र क्याफे तथा कफी सप स्थापना बढ्दा कफी माग बढ्दै गइरहेको हो । यही कारण आन्तरिक माग पूरा गर्न कफी कम भइरहेको अधिकारीको भनाइ छ ।

अधिकारीका अनुसार, ‘किसानको सीमित प्रयत्न र ज्ञान तथा प्रविधि अभावका कारण नेपालमा कफीको व्यवसायी लामो समयसम्म हुन सकेन । नेपालमा सुरुदेखि नै रोपिएको कफी अराबिका जातको हो । अराबिका कफी नै प्रयोगकर्ताको पहिलो रोजाइ अर्थात् उपभोक्ताले सबैभन्दा बढी सेवन गर्ने गर्छन् ।’

‘स्पेसियालिटी कफीको रूपमा नाम कमाइसकेको नेपाली कफीको माग उच्च भए पनि उत्पादन बढ्न सकेको छैन,’ उनले भने ।

चिसो हावापानी र उच्च पहाडी भूभागमा रोप्दै आइएको नेपाली अराबिका कफी स्वभावैले अर्गानिक हुने भए पनि व्यावसायिक रूपमा ठूलो खेती नहुँदा उत्पादन पर्याप्त छैन । नेपालको गुल्मी, पाल्पा, अर्घाखाँची, ललितपुर, तनहुँ, काभ्रे, सिन्धुपाल्चोक, लमजुङ, कास्की, गोर्खा, स्याङ्जा, पर्वत र बागलुङ लगायत करिब ३२ जिल्लामा व्यावसायिक खेती हुँदै आएको छ, तर सरकारको बेवास्ताका कारण व्यवसायीक रुपमा फस्टाउन नसक्दा नेपालमा कफी निर्यातको करिब दोब्बर आयात हुने गर्छ ।

प्रकाशित मिति: १८ मंसिर २०८२, बिहिबार  १० : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।