नेपाल लाइफको शेयर टुक्रा पार्ने दोस्रो प्रयास सफल होला ?

0
Shares

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पहिलो पटकको असफल प्रयासपछि पुनः शेयर टुक्राउने (‘स्टक स्प्लीट’) तयारीमा जुटेको छ । ६ वर्षअघिको स्टक स्प्लीट गर्ने अभ्यास पूरा हुन नसकेपछि स्थगित अभियानलाई कम्पनीले फेरि आगामी साधारण सभाबाट अगाडि बढाउने भएको हो । यससँगै नेपालको शेयर बजारमा पुन: ‘स्टक स्प्लीट’को विषयले चर्चा परिचर्चा पाएको छ । स्टक स्प्लीट गर्ने अभ्यास अन्तर्राष्ट्रिय बजारमा नयाँ नभएपनि नेपालमा भने यो अभ्यास पहिलो हो ।

नेपाल लाइफले यसभन्दा अघि विसं २०७१ मा एक कित्ता शेयरलाई १० टुक्रा पार्न खोजेको थियो भने अहिले २ भागमा विभाजन गर्न खोजेको हो । कम्पनीले १० टुक्रा बनाउन खोजेकोमा सो समयमा कानुनी अस्पष्टताले प्रक्रिया नै खारेज गरेको थियो । तर, अहिले कम्पनीले प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँको शेयरलाई टुक्राइ २ वटा बनाई ५० रुपैयाँ कायम गर्न लागेको हो ।

इन्स्योरेन्सले आथिर्क वर्ष २०७५/०७६ को साधारण सभामा स्टक स्प्लीटको प्रस्ताव लैजान जनाएको छ । कम्पनीको उक्त प्रस्ताव साधारण सभाबाट पारित भएपछि सम्बन्धित नियामक निकायबाट स्वीकृत भएमा मात्र लागू हुनेछ ।

दोस्रो बजारमा सबै लगानीकर्ताको खरीद पहुँच पु¥याउने उद्देश्यले शेयर संख्या बढाउन शेयर टुक्राउन लागेको कम्पनीले जनाएको छ । कम्पनी ऐनमा निश्चित मूल्य तोकिएका कारण यस अघिको योजना अन्योल बनेको थियो । कम्पनी ऐन खुकुलो भएपछि नेपाल लाइफले पुनः स्टक स्प्लीटको प्रक्रिया सुरु गरेको हो ।

कम्पनी ऐन २०६३ मा कम्पनीले आफ्नो शयर पूँलाई अंकित मूल्यबाट घटबढ गर्न शेयर एकीकृत वा विभाजन गर्नसक्ने व्यवस्था गरेको छ। ऐनको ऐनको परिच्छेद-४ मा गरिएको शेयर तथा डिबेन्चरसम्बन्धी व्यवस्था (दफा २७, २) पब्लिक कम्पनीको शेयरको न्यूनतम अंकित मूल्य ५० रुपैयाँसम्म कायम गर्नसक्ने व्यवस्था छ।

कम्पनीले ल्याएको यस्तो प्रस्ताव साधारण सभाले पारित गरे पनि धितोपत्र बोडले गरेको कानुनी व्यवस्थाको अल्झनका कारण अघि बढ्न नसक्ने देखिन्छ । धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ (चौथो संशोधन २०७७) अनुसार नेपाल लाइफको शेयर विभाजन गर्ने अभ्यास बाधक बन्नसक्ने देखिएको हो ।

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को दफा ४२ मा साधारणतया धितोपत्रको अंकित मूल्य शेयरको हकमा प्रतिइकाई १०० रुपैयाँ, डिबेञ्चरको हकमा प्रतिइकाई १००० रुपैयाँ र सामूहिक लगानी योजना वा एकाङ्ग अन्तर्गतको धितोपत्रको हकमा प्रतिइकाई १० रुपैयाँ हुने उल्लेख छ ।

कम्पनी ऐनमा भएको व्यवस्थाको सन्दर्भमा धितोपत्र दर्ता तथा निष्काशन नियमावलीको व्यवस्थाले असर नगर्ने बोर्डका एक अधिकारीले बताए । कम्पनी ऐनमा नै शेयरको मूल्य ५० रुपैयाँसम्म झार्न सकिने व्यवस्था भएपछि नियमावलीको कुराले असर नगर्ने ति अधिकारीको भनाई छ । त्यसका साथै नेपाल लाइफको शेयर टुक्रा पर्ने प्रक्रियाका लागि आवश्यक कानुनी व्यवस्थाहरुमा समेत सुधार गरेर भएपनि टुङगोमा पुर्याउने बोर्डका अधिकारीले बताए ।

नेपाल लाइफका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई भने उक्त प्रस्ताव साधारण सभाले पारित गरेपछि मात्रै अन्य प्रक्रिया अघि बढ्ने बताउँछन् । “केही समय अघि सारिएको शेयर विभाजन प्रस्ताव साधारण सभाले पारित गरे पनि कम्पनी ऐनमा भएको व्यवस्थाले गर्दा कार्यान्वयनमा आएन, यसपालि साधारण सभाले पारित गर्छ/गर्दैन त्यसपछि मात्रै अरु कुरा अघि बढ्छ,” उनले भने ,“हामीले अन्तर्राष्ट्रिय अभ्यास अनुसार शेयर विभाजनको प्रक्रिया अघि सारेका हौं, कार्यान्वयन हुने नहुने नियामक निकाय कै हातको कुरा हो ।”
कम्पनी ऐन बाधक भएका कारण नेपाल लाइफले पहिलो पटक शेयर विभाजन गर्न सकेको थिएन । यस पटक पनि धितोपत्र दर्ता तथा निष्काशन, नियमावलीमा भएको सो व्यवस्थाले इन्स्योरेन्सले अघि सारेको यस्तो प्रस्ताव कानुनी अल्झन प्रक्रियागत झन्झट भने हुनेछ ।

नेप्सेमा सूचीकृत कम्पनीको शेयरमूल्य धितोपत्र बजारको दोस्रो बजारमा उच्च भएपछि शेयर संख्या बढाउन विभाजन गर्ने अन्तर्राष्ट्रिय अभ्यास छ । कम्पनीको शेयर मूल्य बढेर धेरै उच्चबिन्दुमा पुगेपछि साना लगानीकर्ताको पहुँचमा पनि कम्पनीको शेयर होस् भन्ने हेतुले स्प्लीट गर्ने गर्छन् । स्टक स्प्लीट गर्ने अभ्यास अन्तर्राष्ट्रिय बजारमा नयाँ नभएपनि नेपालमा भने यो अभ्यास नयाँ हो ।

कम्पनीले ल्याएको उक्त प्रस्ताव कार्यान्वयनमा आयो भने नेपालमा स्टक स्प्लीटको अभ्यास गर्ने पहिलो कम्पनी नेपाल लाइफ हुनेछ । नेपाल लाइफले स्टक स्प्लीटको प्रस्ताव साधारण सभामा लैजाने प्रस्ताव गरेसँगै कम्पनीको शेयरमा लगानीकर्ताहरुको आकर्षण बढेको छ ।

इन्स्योरेन्स कम्पनीको माघ ५ गते सम्पन्न सञ्चालक समितिको ३१४ औं बैठकले माघ २८ गते आह्वान गरेको २० औं वार्षिक साधारण सभामा ५१ प्रतिशत लाभांश अनुमोदनसँगै १ः२ अनुपातमा  स्टक स्प्लीट गर्ने विशेष प्रस्ताव राखेको थियो । त्यसयताका पछिल्लो तीन दिनमा मात्रै नेपाल लाइफको शेयरमूल्य २ हजार ४६५ बाट ४४३ रुपैयाँ बढेर २ हजार ९०८ रुपैयाँ पुगेको छ । पछिल्लो ३ दिनमा कम्पनीको शेयर १७.९७ प्रतिशतले बढेको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।