निक्षेप परिचालन ३ प्रतिशतले बढ्दा कर्जा प्रवाहमा १.२ प्रतिशतको वृद्धि


काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो चौमासमा निक्षेप परिचालन ३.१ प्रतिशतले बढ्दा कर्जा प्रवाह भने १.२ प्रतिशतले मात्र बढेको छ ।
चालु आवको पहिलो चौमासमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप.२ खर्ब २२ अर्ब ३८ करोडले वृद्धि भई रु.७४ खर्ब ८६ अर्ब २५ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप २.३ प्रतिशत .१ खर्ब ४९ अर्ब ८४ करोडले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८२ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १३.४ प्रतिशतले बढेको छ । २०८२ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ६.० प्रतिशत, ३९.२ प्रतिशत र ४५.६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ५.३ प्रतिशत, ३२.८ प्रतिशत र ५४.५ प्रतिशत रहेको थियो । २०८२ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५.५ प्रतिशत रहेको छ । २०८१ कात्तिक मसान्तमा यस्तो निक्षेपको अंश ३५.८ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा.६५ अर्ब ४ करोडले बढेर ५५ खर्ब ६२ अर्ब ७५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा २.५ प्रतिशत अर्थात.१ खर्ब २८ अर्ब ४७ करोड रुपैयाँले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८२ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ६.९ प्रतिशतले बढेको छ । २०८२ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.६ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.४ प्रतिशत रहेको छ । अघिल्लोवर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४.१ प्रतिशत र ३५.९ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको र वित्त कम्पनीहरूका कर्जा प्रवाह १.३ प्रतिशतले बढेको छ भने विकास बैंकहरूको कर्जा प्रवाह ०.१ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति: २९ मंसिर २०८२, सोमबार  १५ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।