जेन्जी आन्दोलन: निर्जीवन बीमा कम्पनीहरूले गरे ५ अर्ब १८ करोड रूपैयाँ दाबी भुक्तानी


काठमाडौं । जेन्जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिका लागि निर्जीवन बीमा कम्पनीहरूमा परेको बीमा दाबीमध्ये हालसम्म करिब ५ अर्ब १८ करोड रूपैयाँ भुक्तानी भएको छ।

कुल ३ हजार ३०३ वटा बीमा दाबीबाट करिब २३ अर्ब ४५ करोड रूपैयाँ बराबरको दाबी रकम परेको थियो।

बीमा प्राधिकरणमा १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरूले बुझाएको अद्यावधिक तथ्याङ्कअनुसार अग्रिम भुक्तानी समेत गरी यो रकम बीमितहरूलाई भुक्तानी गरिएको हो।

क्षेत्रगत रूपमा हेर्दा, सम्पत्ति बीमातर्फ ७१० वटा दाबीबाट करिब १९ अर्ब २ करोड रूपैयाँ दाबी परेकोमा हालसम्म करिब ३ अर्ब ८२ करोड रूपैयाँ भुक्तानी भएको छ।

त्यस्तै, मोटर बीमातर्फ २ हजार ३११ वटा दाबीबाट करिब ३ अर्ब ४७ करोड रूपैयाँ दाबी परेकोमा करिब १ अर्ब २२ करोड रूपैयाँ भुक्तानी भएको छ।

यसैगरी, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ २२५ वटा दाबीमध्ये करिब ५५ करोड ४७ लाख रूपैयाँ दाबी परेकोमा करिब ७ करोड ५० लाख रूपैयाँ भुक्तानी भएको छ।

परिवहन बीमातर्फ १२ वटा दाबीको करिब १ करोड ६९ लाख रूपैयाँ दाबीमध्ये करिब १ करोड ५५ लाख रूपैयाँ र

अन्य बीमातर्फ ४५ वटा दाबीको करिब ३८ करोड ४० लाख रूपैयाँ दाबीमध्ये करिब ५ करोड ५० लाख रूपैयाँ अग्रिम भुक्तानी समेत गरी भुक्तानी भएको छ।

जेन–जी आन्दोलनका क्षतिको बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई अग्रिम भुक्तानी समेत गरी करिब ३ अर्ब २ करोड रुपैयाँ पुनर्बीमा दाबी भुक्तानी गरिसकेको छ।

नेपाल पुनर्बीमा कम्पनीमा विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनीबाट परेको २ हजार ८६२ वटा पुनर्बीमा दाबीको कुल दाबी रकम करिब १६ अर्ब ६२ करोड रूपैयाँ रहेको अद्यावधिक तथ्यांक उल्लेख गरिएको छ।

 

प्रकाशित मिति: २ पुस २०८२, बुधबार  १८ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।