काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिना (साउन–मंसिर) मा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) को प्रतिबद्धतामा उल्लेख्य सुधार आएको छ । गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा यस वर्ष लगानी प्रतिबद्धता रकम झण्डै दोब्बरले बढेको हो ।
उद्योग विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा ३८ अर्ब ५९ करोड ६६ लाख ४४ हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । गत आर्थिक वर्षको सोही अवधिमा २० अर्ब ७७ करोड ७३ लाख ६३ हजार रुपैयाँको मात्र प्रतिबद्धता प्राप्त भएको थियो । गत वर्षको तुलनामा यस वर्ष ४६.१६ प्रतिशत अर्थात् १७ अर्ब ८१ करोड ९२ लाख रुपैयाँ बढी लगानी प्रतिबद्धता आएको छ ।
विभागका अनुसार पाँच महिनामा कुल ४३८ उद्योग दर्ता भएका छन् । जसमध्ये २५१ अटोमेटिक रुट मार्फत स्वीकृत भएका छन् भने १५२ उद्योग अप्रुभल रुट मार्फत स्वीकृत भएको तथ्यांकमा उल्लेख गरिएको छ ।
यस वर्ष अटोमेटिक रुटबाट २ अर्ब ५९ करोड ४ लाख ८६ हजार रुपैयाँ र अप्रुभल रुटबाट ३६ अर्ब ६१ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता भएको तथ्यांक उल्लेख गरिएको छ ।
सरकारले नीतिगत रूपमा सहजीकरण गर्दै विदेशी लगानी आकर्षित गर्ने रणनीति लिएपछि लगानी प्रतिबद्धतामा सुधार आएको अर्थविद्हरूको भनाइ छ । अर्थविद् डिल्लीराज खनालका अनुसार पछिल्लो समय विदेशी लगानी प्रतिबद्धता बर्सेनी वृद्धि हुँदै गएको छ ।
तर, प्रतिबद्धता अनुसारको रकम भित्र्याउन भने अझै चुनौती रहेको खनाल औैल्याउँछन् । उनले भने, ‘लगानीकर्ताले प्रतिबद्धता जनाए पनि स्वीकृती लिए अनुसारको वास्तविक लगानी भने आउने गरेको छैन ।’ जबकी, सरकारी अधिकारीहरूले भने स्वदेशी तथा विदेशी लगानीको वातावरण क्रमशः सुधार हुँदै गएको दाबी गरेका छन् । अर्थविद् खनालका अनुसार सरकारले विदेशी लगानी नीतिमा दिगो र फराकिलो आर्थिक वृद्धि तथा रोजगारी सिर्जनाका लागि निजी क्षेत्रको अग्रणी भूमिकालाई आत्मसात गर्नुपर्छ । प्राथमिकता प्राप्त क्षेत्रमा विदेशी पुँजी, प्रविधि, सीप र ज्ञान परिचालन गर्ने उद्देश्य राखेर कार्य गरेमा लगानी प्रतिबद्धता अझै बढ्ने उनको भनाइ छ ।
ठूला उद्योगमा लगानी भित्र्याउनका लागि लगानीको सीमा बढाउने र प्रक्रियागत झन्झट हटाई सहज तरिकाले लगानी गर्ने प्रावधान ल्याउनुपर्नेमा खनालले जोड दिए ।
साना उद्योगमा आकर्षण
नेपालमा साना, मझौला र ठूला उद्योगहरुमा लगानी प्रतिवद्धता आउने गरेको छ । जसमा यस वर्षको पाँच महिनाको अवधीमा आएको लगानी प्रतिबद्धताको तथ्यांक हेर्दा साना उद्योगमा आकर्षण बढी देखिएको छ ।
तथ्यांक अनुसार पाँच महिनामा ४२३ वटा साना उद्योग दर्ता भएका छन् भने ८ मझौला र ७ ठूला उद्योग दर्ता भएका छन् । मंसिरमा मात्र ५४ साना उद्योग, २ मझौला उद्योग दर्ता भएका छन् भने ठूला उद्योग भने दर्ता नभएको तथ्यांक छ ।
विदेशी लगानी प्रतिबद्धता सबैभन्दा धेरै साना उद्योगमा आएको छ । सरकारले विदेशी लगानीको सीमा घटाएका कारण साना उद्योगमा आकर्षण बढेको विज्ञहरु बताउँछन् । ठूला उद्योगमा लगानी प्रतिबद्धताका लागि लगानी सीमा बढाउने, सहज तरिकाले लगानी गर्ने प्रावधान ल्याउनुपर्ने अर्थविद् खनाल बताउँछन् ।
कृषिमूलक क्षेत्रमा अधिक लगानी
रकमका आधारमा हेर्दा चालु आर्थिक वर्षको पाँच महिनामा कृषि तथा वन पैदावारजन्य क्षेत्रमा सबैभन्दा धेरै लगानी प्रतिबद्धता आएको छ । पाँच महिनामा कृषि क्षेत्रका १३ वटा उद्योगहरू दर्ता भएका छन् । संख्यामा कम भए पनि यी उद्योगहरूमा २१ अर्ब ८८ करोड ८० लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत भएको छ । यो कुल लगानी प्रतिबद्धताको ठूलो हिस्सा हो ।
नेपालमा कृषि उत्पादनको उच्च सम्भावना रहेकाले लगानीकर्ताहरू यसतर्फ आकर्षित भएको कृषि अर्थविज्ञ देवेन्द्र गौचन बताउँछन् । उनले भने, ‘नेपालमा कृषिका उत्पादनहरूको सम्भावना राम्रो छ । उत्पादनशील क्षेत्रमा नै लगानी गर्ने प्रवृत्ति बढ्दै जाँदा यस क्षेत्रमा वैदेशिक लगानी प्रतिबद्धता आकर्षित भएको हो ।’
लगानीकर्ताको पुँजी, प्रविधि, व्यवस्थापकीय एवं बजारीकरण दक्षता तथा स्थानीय किसानको श्रम, जमिन र रैथाने ज्ञानको समीकरण गरिदिने लगानीले नेपालको कृषिलाई दिर्घायु प्रदान गर्ने उनले बताएका छन् ।
‘कृषि मुलक उद्यम सञ्चालन गर्ने, जमिन व्यवस्थापन लगायतका कार्यक्रम ल्याए अझै राम्रो हुनेछ ।’ उनले भने । ‘नेपालमा उत्पादन भएका विभिन्न वस्तुहरु विश्वका भर नै जाने गर्छन् । सो कारण पनि कृषि क्षेत्रमा लगानी प्रतिबद्धता बढेको हो । तर, प्रतिवद्धता अनुरुप लगानी भने आउने गरेको छैन ।’
त्यस्तै, दोस्रोमा पर्यटनमुलक क्षेत्रमा १३५ उद्योग दर्ता भएका छन् । उक्त उद्योगहरुमा १० अर्ब १२ करोड २० लाख ५० हजार रुपैयाँ लगानी प्रतिबद्धता भएको आएको छ । साउनदेखि मंसिरसम्ममा २४ वटा उत्पादन मुलक उद्योगमा १ अर्ब ९७ करोड २३ लाख ५८ हजार रुपैयाँ, उर्जामुलक क्षेत्रमा १८ करोड ४२ लाख ५० हजार रुपैयाँ, खनिज क्षेत्रमा ४ करोड ५० लाख रुपैयाँ, सेवामूलक क्षेत्रमा ३ अर्ब ३८ करोड ६० हजार रुपैयाँ र सूचना प्रविधिमूलक क्षेत्रका २३६ उद्योगमा ९९ करोड ८९ लाख ८६ हजार रुपैयाँ लगानी प्रतिवद्धता भएको विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।












प्रतिक्रिया