नेपाल क्लियरिङ्ग हाउसको १४औँ साधारण सभा सम्पन्न


काठमाडौँ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आव २०८१/८२ को आफ्नो १४औँ वार्षिक साधारण सभा पुस ३ गते काठमाडौँमा सम्पन्न गरेको छ । बैठकले लेखापरीक्षण प्रतिवेदन सहितको २०८२ आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद–प्रवाह विवरण स्वीकृत गर्नुका साथै १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

यस पश्चात एनसीएचएलको चुत्ता पुँजी १ अरब ४५ करोड ८५ लाख ११ हजार ५ सय रुपैयाँ बराबरको हनेछ । कम्पनीले पूँजी वृद्धी मार्फत नेशनल पेमेन्ट स्वीच, नेशनल तथा क्रस बोर्डर कारोबारका लागि थप भुक्तानी प्रणाली विकास गर्ने, जोखिम व्यवस्थापनलाई सुढृढ बनाउने र सञ्चालनमा रहेका पूर्वाधारहरुको स्तरोन्नतीका लागि प्रयोग गर्नेछ ।

आ।व। २०८१/८२ मा एनसीएचएलको भुक्तानी प्रणालीहरु मार्फत कुल १ सय ८६ खर्ब बराबरको २१.१२ करोड भुक्तानी कारोबारहरु राफसाफ भएको थियो । उक्त आर्थिक वर्षमा कम्पनीबाट फछ्र्यौट भएका कारोबारहरुको संख्या ६७ प्रतिशत ले बृद्धि भएसँगै कम्पनीको खुद नाफा ४ प्रतिशतले वृद्धी भएको छ ।

बैठकले कम्पनीको सञ्चालक समितिमा २ जना सञ्चालकहरु निर्विरोध रुपमा निर्वाचित गरेको छ । विकास बैंकहरुबाट प्रतिनिधित्व गर्दै एनसीएचएलको सञ्चालक समितिमा सांग्रिला डेभलपमेन्ट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत उमेश सिंह भण्डारी तथा फाइनान्स कम्पनीहरुबाट प्रतिनिधित्व गर्दै आईसिएफसि फाइनान्सका नायव महाप्रबन्धक लक्ष्मण प्रसाद जैसी निर्वाचित भएका छन् । एनसीएचएलको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकको १ जना, वाणिज्य बैंकहरुबाट ३ जना, विकास बैंकहरु, फाइनान्स कम्पनीबाट र स्वतन्त्र गरी क्रमशः १–१ जना रहेका छन् । एनसीएचएलमा नेपाल राष्ट्र बैंकको ९.४५ प्रतिशत र बैंक तथा वित्तीय संस्थाहरुको ९०.५५ प्रतिशत स्वामित्व रहेको छ ।

प्रकाशित मिति: ४ पुस २०८२, शुक्रबार  ११ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।