काठमाडौँ । चालु आर्थिक वर्ष कात्तिकको मुद्रास्फीति १.११ प्रतिशतमा झरेको छ । जुन पछिल्लो ४८ वर्षयताकै न्यून हो ।
यसअघि सन् १९७६ मा नेपालको मुद्रास्फिति माइनसमा पुगेको थियो । त्यसयता कुनै पनि वर्ष वार्षिक मूल्यवृद्धि २ प्रतिशतभन्दा भएको छैन । नेपालको मुद्रास्फिति सन् २००७ मा २.३ र सन् २०१७ मा २.८ प्रतिशत रहेको थियो ।
नेपालमा भारतको मूल्यवृद्धिको असर पर्ने गरेको छ । नेपाली र भारतीय मुद्राबीच भएको स्थिर विनिमय दरका कारण भारतको मूल्यवृद्धिको प्रभाव नेपालमा परेको हो । रिजर्भ बैंक अफ इन्डियाका अनुसार सन् २०२५ नोभेम्बरमा भारतको मूल्यवृद्धि ०.७१ प्रतिशत रहेको छ ।

राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार चालु आवको कात्तिकमा नेपालको मुद्रास्फीति १.११ प्रतिशतमा रहँदा गत वर्षको सोही अवधिमा नेपालको मुद्रास्फिति ५.६० प्रतिशत रहेको थियो ।
संयुक्त राज्य अमेरिकाबाट चीनले सोयाबिनको आयात घटाएपछि विश्वव्यापी रूपमा दाल र गेडागुडीको मूल्य घटेका कारण समग्र मुद्रास्फीतिलाई ऐतिहासिक न्यूनतममा झारेको जानकारहरु बताउँछन् । चालू आवमा सरकारले मुद्रास्फीति ५ प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य लिएको थियो ।
तर, पछिल्लो समय मुद्रास्फिति घट्दै गएको संकेत देखिएसँगै अर्थतन्त्रमा आर्थिक मन्दीको जोखिम बढ्न सक्ने भन्दै अर्थविद्हरूले चिन्ता व्यक्त गरेका छन्। मुद्रास्फिति घट्नु उपभोक्ताको खर्च गर्ने क्षमतामा कमी आएको संकेत मानिन्छ, जसले समग्र आर्थिक गतिविधिमा नकारात्मक असर पार्ने अर्थविद् डिल्लीराज खनाल बताउँछन् ।
माग घट्दा उद्योग–व्यवसायको उत्पादन कम हुन्छ र कम्पनीहरूको नाफा घट्न थाल्छ। नाफा घटेपछि निजी क्षेत्रले नयाँ लगानी गर्न हिच्किचाउँछ, जसको प्रत्यक्ष असर रोजगारीमा पर्छ। उत्पादन घट्दा बेरोजगारी बढ्ने र आम्दानी कम हुँदा उपभोक्ता खर्च अझै संकुचित हुने अवस्था सिर्जना हुने जानकारहरु बताउँछन्।
त्यस्तै, मुद्रास्फिति अत्यधिक घट्दा पैसाको मूल्य बढ्ने भएकाले ऋण लिएका व्यक्ति तथा व्यवसायलाई ऋण तिर्न थप बोझ पर्न जान्छ। त्यसैले नेपालको मुद्रास्फिति ३ देखि ४ प्रतिशत हुनु राम्रो भएको उनी बताउँछन् ।
मुद्रास्फिति धेरै घट्यो भने वित्तीय क्षेत्रमा समेत दबाब सिर्जना गर्दै आर्थिक गतिविधि थप सुस्त बनाउने खतरा रहने उनी बताउँछन् ।
अर्थविद् खनाल भन्छन्, “मुद्रास्फिति नियन्त्रणमा हुनु सकारात्मक भए पनि अत्यधिले अर्थतन्त्रलाई डिफ्लेसनतर्फ धकेल्न सक्छ, जुन दीर्घकालीन रूपमा आर्थिक मन्दीको कारण बन्न सक्छ।” निजि क्षेत्रमा लगानी नबढ्नु, बैंकमा तरलता थुप्रिनु जस्ता कारणले देशको अर्थतन्त्रलाई प्रभाव पारिरहेको उनी बताउँछन् ।
चालु आव कात्तिकसम्म विदेशी विनिमय सञ्चिति ३० खर्ब ५५ अर्ब पुगेको छ । आयात व्यवस्थापनमा सुधार, रेमिट्यान्स प्रवाहमा वृद्धि तथा पर्यटन क्षेत्रको क्रमिक पुनरुत्थानका कारण विदेशी मुद्राको सञ्चिति बलियो बनेको हो। जसले मुद्रास्फिति घटेको हो । विदेशी विनिमय सञ्चिति सुदृढ रहँदा भविष्यमा बाह्य क्षेत्रको जोखिम घट्ने र आर्थिक स्थायित्व बलियो हुने अपेक्षा गरिएको छ।
त्यसैगरी रेमिट्यान्स आप्रवाह ३१.४, निर्यात ७७.५ र आयात १८.७ प्रतिशतले बढेको छ ।सरकारको खर्च ४ खर्ब ६८ अर्ब ८८ करोड र राजस्व परिचालन ३ खर्ब २६ अर्ब ५५ करोड छ । त्यसैगरी यो अवधिमा बैंकिङ क्षेत्रबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १.२ प्रतिशतले मात्रै बढेको छ । अर्थतन्त्रका यस्ता सूचकहरुले गर्दा मुद्रास्फिति घटेको हो ।
मुद्रास्फिति घट्नु सकारात्मक
केन्द्रीय बैंकको प्रतिवेदनले समीक्षा महिनामा खाद्य तथा पेय पदार्थको मुद्रास्फीति ३.३२ प्रतिशतले घटेको देखाएको छ भने गैर–खाद्य तथा सेवा मुद्रास्फीति ३.६९ प्रतिशत रहेको छ। गत वर्षको सोही अवधिमा यी वर्गहरूको मूल्य क्रमशः ९.१० प्रतिशत र ३.६५ प्रतिशतले बढेको थियो।
खाद्य तथा पेय पदार्थ समूह भित्र, घिउ र तेलको मूल्य सूचकाङ्क ५.२५ प्रतिशत, गैर–मादक पेय पदार्थ ३.६१ प्रतिशत र दुग्धजन्य पदार्थ र अण्डाको मूल्य १.९७ प्रतिशतले बढेको छ। यसको विपरीत, तरकारीको मूल्य १४.४३ प्रतिशत, मसलाको मूल्य ७.८५ प्रतिशत र दाल र गेडागुडीको मूल्य ५.३६ प्रतिशतले घटेको छ।
जुन एकदमै सकरात्मक भएको अर्थविद् कृष्णहरी बास्कोटा बताउँछनु । सरकारबाट असन्तुष्ट पक्षले मूल्यस्फितिलाई गलत प्रचार गरिरहेको बताउँदै उनले बजारमा साग, तेल, दाल लगायतको भाउमा कमी आइरहेको बताए ।
मूल्यवृद्धि घट्दा मध्यम तथा तल्लो वर्गका जनताको दैनिकी सहज भएको उनको तर्क छ । राजनितिक रुपमा देश स्टेबल नभएतापनि बजार स्टेबल रहेको बताउँदै उनले मुद्रास्फितिले घट्नुले नराम्रो संकेत नगर्ने बताए ।
मुल्यवृद्धि घट्नुले आर्थिक मन्दी निम्त्याउँछ भन्नु गलत भएको उनको बुझाइ छ । जसरीपनि सरकारको विरोध गर्न खोज्नेहरुले यस्तो अनावश्यक तर्क गरेको उनी बताउँछन् । विश्वव्यापी रूपमा दाल र गेडागुडीको मूल्य घटेको मुद्रास्फितिमा कमी आएको हो । बास्कोटा भन्छन्, “मुद्रास्फिति घट्दा आर्थिक मन्दी घट्छ भने जनता भ्रमित भएका मात्र हुन् । देशको विकासको लागि यो राम्रो संकेत हो । ”












प्रतिक्रिया