काठमाडौँ । नेपालको सबैभन्दा ठूलो रोजगारदाता र निर्यातमूलक कम्पनी रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा आम–सर्वसाधारणतर्फ मागभन्दा ३३ गुणा बढी आवेदन परेको छ । कूल ९ लाख २४ हजार ७६८ कित्ताको लागि खुला गरिएकोमा अन्तिम समय शुक्रबारसम्म ३ करोड ५ लाख ४ हजार ८ सय कित्ताको लागि आवेदन परेको छ । आवेदकबाट २५ अर्ब ३ करोड ८३ लाख ३९ हजार ८४० रुपैयाँ जम्मा भएको छ । नेपालको पूँजी बजारमा यो आवेदन संख्या र संकलित रकम संभवतः हालसम्मकै बढी हो ।
कम्पनीले पुस ७ गते निष्काशित आईपीओको सबैभन्दा ठूलो हिस्सा (आम–सर्वसाधारणतर्फ) को आवेदन खुला गरेको थियो । पुस ११ सम्म पूर्ण आवेदन नपरेमा पुस २१ सम्म अवधि लम्बिने भए पनि मागभन्दा अत्यधिक धेरै आवेदन परेपछि आवेदन अवधि लम्ब्याइएन । ग्लोबल आइएमई क्यापिटल लिमिटेडको प्रवन्धकत्वमा खुलेको आईपीओमा पहिलो दिनको ४० मिनेटमै ‘ओभर सब्सक्राइभ’ भएको थियो । त्यसपछि पनि लगानीकर्ताको आकर्षणमा कुनै कमी आएन । अन्ततः यसले नेपाली पूँजी बजारमा नयाँ इतिहास रच्यो ।
कम्पनीले जारी पूँजी १ अर्ब ९० लाखको १०.१४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको १९ लाख २६ हजार ६०० कित्ता शेयर निष्काशन गरेको छ । बुक विल्डिङ विधिबाट प्रथम चरणमा ४० प्रतिशत अर्थात् ७ लाख ७० हजार ६४० कित्ता शेयर योग्य संस्थागत लगानीकर्ताको लागि बाँडफाँट भइसकेको छ । सर्वसाधारण समूहमा निष्काशन हुने ६० प्रतिशत अर्थात् ११ लाख ५५ हजार ९६० कित्तामध्ये वैदेशिक रोजगारमा रहेका नेपाली नागरिक, सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्याएर बाँकी रहेको ९ लाख २४ हजार ७६८ कित्ता आम–सर्वसाधारणका लागि खुलेको हो ।
वैदेशिक रोजगार र सामूहिक लगानी कोषतर्फ यसअघि नै करिब १७ गुणा बढी आवेदन परेकोमा शेयर बाँडफाँट भइसकेको छ । यसले तीन दशक लामो इतिहास बोकेको रिलायन्स स्पिनिङ मिल्सको शेयरधनी हुन लगानीकर्ताहरु निकै लालायित र उत्साही रहेको देखाएको छ ।
रिलायन्सप्रति आकर्षण किन ?
तीन दसकअघि स्थापित रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा लगानीकर्ताको अभूतपूर्व आकर्षण देखिनुमा उसको विश्वासिलो बिरासत र भरासिलो भविष्य, बलियो वित्तीय अवस्था र निरन्तर लाभदायी यात्रा प्रमुख कारक रहेका छन् ।
यो नेपालको सबैभन्दा ठूलो धागो उत्पादक र रोजगारदाता उद्योग हो । कम्पनीले आफ्नो उत्पादनको ७० देखि ७५ प्रतिशतभन्दा बढी उत्पादनहरु भारत, टर्की, भियतनाम, बेलायत लगायत मुलुकहरुमा निर्यात गर्दै आएको छ । वार्षिक ५ करोड अमेरिकी डलरको निर्यात हुन्छ । कम्पनीको मूल–उद्योग सुनसरीको खनार र शाखा उद्योग दुहबीमा रहेको छ । नेपालका प्रतिष्ठित र सफल उद्योपतिहरु पवनकुमार गोल्याण, अक्षय गोल्याण र शशिकान्त अग्रवाल कम्पनीका संस्थापक लगानीकर्ता हुन् ।
रिलायन्सको नेतृत्व हाल अक्षयले गरिरहेका छन् । अन्तर्राष्ट्रिय बजारमा समेत विशिष्ट पहिचान स्थापित गर्न सफल रिलायन्सलाई उद्योग तथा वाणिज्य क्षेत्रबाट राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान गरेको भन्दै नेपाल सरकारले गत असारमा अक्षयलाई ‘महत्वपूर्ण वर्ष व्यक्ति’ (सीआईपी) बाट सम्मान गरेको थियो ।
नेपालमा कम्पनी स्थापना गर्ने र छोटो समयमै आईपीओ निष्काशन गरी सर्वसाधारणको लगानी भित्र्याएर नाफा असुल्ने प्रवृत्ति मौलाएको टिकाटिप्पणी हुने गरेको छ । रिलायन्सको हकमा भने त्यस्तो देखिँदैन । कम्पनीले जारी पूँजी १ अर्ब ९० करोडको १० प्रतिशत शेयरमात्र निष्काशन गरेको छ । यसबाट तीनजना संस्थापक लगानीकर्ताहरुले कम्पनीबाट हात झिक्न खोजेको नभई आम–लगानीकर्तासँग सहकार्य गर्न खोजेको स्पष्ट हुन्छ । यसबाट रिलायन्स स्पिनिङ मिल्सले आफ्नो विश्वासिलो विरासतको जगमा सर्वसाधारण लगानीकर्ताका लागि भरासिलो भविष्य देखाएको छ ।
कम्पनीको पछिल्लो ५ वर्षको प्रतिशेयर आम्दानी (ईपीएस) को अनुपात हेर्दा वार्षिक ४० रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७७/७८ मा ५३.९१ रुपैयाँ, २०७८/७९ मा ६१.१२ रुपैयाँ, २०७९/८० मा ५४.३४ रुपैयाँ, २०८०/८१ मा २.९५ रुपैयाँ र २०८१/८२ मा २७.८७ रुपैयाँ छ । गत आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा ९ ईपीएस ९ गुणा बढेको छ । २०८१/८२ को लेखापरीक्षण गरिएको वार्षिक वित्तीय विवरणमा कम्पनीको वित्तीय अवस्था निकै मजबुत देखिन्छ ।
मंसिर पहिलो साता सार्वजनिक गरिएको लेखापरीक्षण प्रतिवेदनअनुसार कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब ४८ करोड ९३ लाख ८४ हजार ५४७ रुपैयाँ कूल नाफा गरेको छ, जब कि अघिल्लो आर्थिक वर्षमा यो अंक ८६ करोड ५० लाख ६० हजार ३२५ रुपैयाँ मात्र थियो । गत आर्थिक वर्षमा कम्पनीको खुद नाफा ४७ करोड ५८ लाख ११ हजार ९७९ रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षमा खुद नाफा ५ करोड ३ लाख ८३ हजार ७९३ रुपैयाँ थियो । खुद नाफामा साढे ९ गुणा बढी बृद्धि भएको छ ।
रिलायन्सको आईपीओले नेपाली पूँजीबजारमा उत्साहपूर्ण तरंग ल्याउने अर्को कारण हो, यसको आईपीओ मूल्य । कम्पनीले तीब्र आर्थिक बृद्धि गर्दासमेत दुई वर्षअघिको नाफालाई आधार मानेर तय गरिएको मूल्यमै आईपीओ निष्काशन गरेको छ । रिलायन्सले एक वर्षअघि आईपीओको मूल्य ८२० रुपैयाँ ८० पैसा तय गरेको थियो । आर्थिक वर्ष २०८०/८१ को नाफाको आधारमा उक्त मूल्य निर्धारण गरिएको थियो । उक्त आवमा कम्पनीले ५ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो भने प्रतिशेयर आम्दानी २ रुपैयाँ ९५ पैसा थियो । गत आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले खुद नाफा ४७ करोड ५८ लाख रुपैयाँ पुर्याउँदै ८४४ प्रतिशतको छलाङ हानेको छ । प्रतिशेयर आम्दानी पनि ८४४ प्रतिशतको दरले बढेको छ । यस हिसाबले आज सहभागी हुने लगानीकर्ताहरुले पनि ८४४ प्रतिशत नाफा वृद्धि भएको कम्पनीलाई रिकभरी मूल्यमा जोड्नुअघिको सस्तो मूल्यमै शेयर पाउनेछन् ।
कम्पनीको रेटिङ पनि राम्रो रहेको छ । साधारण शेयर निष्काशनको लागि ‘क्रेडिट रेटिङ नियमावली, २०६८’ को नियम ३ बमोजिम नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ संस्था केयर रेटिङ नेपालबाट रेटिङ गराएको छ । केयर रेटिङले कम्पनीलाई ‘केयर एनपी सिंगल ए’ इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले समयमा नै सुरक्षित रुपले वित्तीय दायित्व बहन गर्न पर्याप्त क्षमता रहेको कम्पनी हो भन्ने बुझाउँछ ।












प्रतिक्रिया