एपीगा नेपाल २०२५: विश्वस्तरीय आइक्यान नीतिलाई स्थानीय युवाको नेतृत्वसँग जोड्दै


काठमाडौँ। एशिया प्रशान्त इन्टरनेट शासन अकादेमी (एपीगा) नेपाल सन् २०२५ को दुईदिने क्षमता विकास कार्यशाला सफलबन्रुपमा सम्पन्न भएको छ। कम्प्युटर एसोसिएशन नेपाल महासंघ (क्यान फेडरेसन) ले कोरियन इन्टरनेट एण्ड सेक्युरिटी एजेन्सी (किसा) र इन्टरनेट कर्पोरेशन फर असाइन्ड नेम्स एण्ड नम्बरस् (आइक्यान) सँगको सहकार्यमा आयोजना गरेको यो कार्यशाला नेपालका युवालाई अन्तर्राष्ट्रिय इन्टरनेट नीतिगत प्रक्रियामा नेतृत्व गर्न सक्षम बनाउने लक्ष्यसहित सञ्चालन गरिएको हो। कार्यक्रममा आइक्यान नीतिहरु, डीएनएस व्यवस्थापन, डाटा गोपनीयता, साइबर सुरक्षा, बहुपक्षीय सहभागिता, नीति निर्माण र अन्तर्राष्ट्रिय मञ्चमा युवाको प्रतिनिधित्व जस्ता विषयमा सहभागीहरुलाई व्यावहारिक सिकाइ प्रदान गरियो।

उद्घाटन सत्रमा क्यान महासंघका वरिष्ठ उपाध्यक्ष तथा साइबर सुरक्षा विज्ञ चिरञ्जीबी अधिकारीले नेपालमा डिजिटल नीतिगत सुधारलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याए। “नेपालले विश्वस्तरीय डिजिटल मापदण्डसँग कदम मिलाउन अब नीतिगत सुधार र साइबर सुरक्षालाई समानरुपमा अगाडि बढाउनु आवश्यक छ,” अधिकारीले भने। “इन्टरनेट प्रविधि, सेवा र संरचनाको मजबुती नै राष्ट्रिय डिजिटल स्वाधीनताको आधार हो,” उनले जोड दिए। अधिकारी हाल वन कभर प्रा।लि। का प्रमुख कार्यकारी अधिकृतसमेत हुन् र उनीका अनुसार नीतिगत संरचना तयार गर्दा नवप्रवर्तन, प्रविधिको विकास र जोखिम व्यवस्थापन समानान्तर रूपमा अगाडि बढाउनुपर्छ।

कार्यक्रममा सहभागी विद्यार्थी तथा युवा पेशेवरले समूह कार्य, सिमुलेसन अभ्यास र छलफलमार्फत व्यावहारिक नीति निर्माणको अनुभव पाए। कार्यक्रम पश्चात् सहभागीहरु एपीगा पूर्वविद्यार्थी सञ्जालमार्फत निरन्तर अन्तर्राष्ट्रिय सम्पर्क र सहयोगमा आवद्ध रहने प्रतिबद्धता जनाइएको छ।

प्रकाशित मिति: १४ पुस २०८२, सोमबार  १० : ०० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।